+
+

दशैंमा दैनिक करिब ५०० मेगावाट बिजुली खेर, भारतले दिएन थप निर्यात अनुमति

फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ८ गते २०:१९

८ कात्तिक, काठमाडौं । दशैंमा देश भित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द हुँदा र काठमाडौंमा अत्यधिक चिसो पनि सुरु नभइसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरुमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरुबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ ।

प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट हाल दैनिक करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करिब साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा अहिले दैनिक ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।

‘दशैंका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट दैनिक करोडौं रुपैयाँ गुमाइरहेका छौं ।’ प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि भारतबाट स्वीकृति पाउनेमा विश्वस्त रहेको उनले बताए । तर स्वीकृति नपाएमा अझै विद्युत् खेर फाल्नुपर्ने उनको भनाइ  छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौता बमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन) लाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाट मध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब  ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१को  साउन, भदौ र असोज ३ महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ । असोज महिनामामात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

दशैंमा विनाअवरोध विद्युत् आपूर्ति

यसैबीच नेपाल विद्युत प्राधिकरणले यस वर्षको दशैंमा विनाअवरोध विद्युत् आपूर्ति गरेको जनाएको छ । यस वर्ष पनि पहाडी भेगका केही स्थानमा फाट्फुट्टबाहेक दशैंमा विगत वर्षमाझैं विनाअवरोध विद्युत् आपूर्ति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘दशैंमा विद्युत् प्रणाली स्मुथ (नियमित) रुपमा चल्यो, कहीँ कतै अवरोध भई विद्युत् आपूर्ति बन्द भएको जानकारीमा आएन’, घिसिङले भने ।

प्राधिकरणले दशैंमा विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीहरुलाई तयारी अवस्थामा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?