+
+

युनिभर्सल मेडिकल कलेजमा १५औं दिनदेखि विद्यार्थीको अनशन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १०:५९

१२ कात्तिक, बुटवल । भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलमा विद्यार्थी अनशन बसेको आज १५औं दिन पुगेको छ ।

विद्यार्थी आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका सबै माग सम्बोधन गर्न तयार रहेपनि प्रिन्सिपलको राजीनामाको विषयले सहमति जुट्न सकेको छैन ।

विद्यार्थीहरुले प्रिन्सिपल प्रा.डा लक्ष्मी पाठकको राजीनामालाई पहिलो सर्त बनाएपछि सहमति जुट्न नसेकेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए ।

‘विद्यार्थीले उठाएका सबै माग सम्बोधन गर्न कलेज तयार भएको छ तर प्रिन्सिपलको राजीनामाको निर्णय हामीले गर्न मिल्दैन,’ गुरुङले भने ।

आवासीय चिकित्सकहरुले समेत विद्यार्थीको आन्दोलनमा समर्थन जनाउँदै बिरामीको उपचारनगर्दा बिरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा. पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौं वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् ।

विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको आरोप छ ।

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र एक वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । सुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका थिए ।

उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागू नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै विद्यार्थी आन्दोलनरत छन् ।

तर पछिल्लो समय प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाएका छन् । एमबीबीएस र बीडीएस अन्ययनरत करिब ६०० विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?