+
+

सार्कका नवनियुक्त महासचिव सरवरले गरे पदभार ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १३:३५

१२ कात्तिक, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव गोलम सरवरले कार्यभार सम्हालेका छन् ।

काठमाडौँस्थित सार्क सचिवालयका अनुसार बंगलादेशी कूटनीतिज्ञ सरवरले सार्कको १५ औँ महासचिवका रूपमा मंगलबार कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहण समारोहमा नवनियुक्त महासचिव सरवरले सचिवालयका कर्मचारीहरुलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले सार्कको सेवा गर्ने अवसर दिएकोमा सदस्य राष्ट्रहरुप्रति आभार व्यक्त गरे ।

उनले क्षेत्रीय संगठनको स्तरोन्नतिमा जोड दिँदै सचिवालयलाई सुम्पिएका महत्वपूर्ण कार्याभारहरू पूरा गर्न सदस्य राष्ट्रहरूलाई सक्रिय र प्रभावकारी रूपमा सेवा दिनुपर्ने बताए ।

नवनियुक्त महासचिव सरवर सार्कमा बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिज्ञ हुन् ।

महासचिव सरवरले सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका हुन् । उनले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा र क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वासिङ्टन डिसीमा पनि बङ्गलादेशी कूटनीतिज्ञका रूपमा काम गरिसकेका छन् ।

सार्क सचिवलायमा वर्णानुक्रमका आधारमा नेतृत्व गर्ने परम्पराअनुसार नयाँ महासचिव सिफारिस गर्ने पालो अफगानिस्तानको थियो । तर अफगानिस्तानमा आएको तालिबानी सरकारलाई सार्क सदस्य राष्ट्रहरूले अझै मान्यता दिइनसकेकाले अङ्ग्रेजी वर्णमालाअनुसार अफगानिस्तानपछि रहेको बंगलादेशले अवसर पाएको हो ।

यसअघि श्रीलंकाका कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यकाल पूरा गरेर गत मार्चमा फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?