+
+

छानबिन गर्नुपर्ने उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा ल्याउँदै जंगीअड्डा

जन्ममितिमा कैफियत मात्र नभई, कुटनीतिक मर्यादा उल्लंघनको आरोपमा ‘कोर्टमार्सल’को माग गरिएका उपरथी ताराध्वज पाण्डेलाई भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी बढुवा सिफारिस गर्न जंगीअड्डाले सूचना जारी गरेको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० कात्तिक १३ गते १९:०२
उपरथीमा बढुवा भएका बेला दर्ज्यानी चिह्न लगाइदिँदै तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापा । फाइल फोटो ।

१३ कात्तिक, काठमाडौं । जंगीअड्डाले विवादास्पद उपरथीलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाको सिफारिस गर्न सूचना प्रकाशित गरेको छ ।

सैनिक सेवा नियमावली, २०६९ मा भएको व्यवस्था अनुसार, जंगीअड्डाले उपरथी ताराध्वज पाण्डेलाई नेपाली सेनाको रथीमा बढुवा सिफारिसका लागि सूचना प्रकाशित गरेको हो ।

जंगीअड्डा स्रोतका अनुसार, युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई ७ भित्र बढुवा सिफारिस गर्ने गरी २९ असोजमा सूचना प्रकाशित भएपनि हालसम्म फाइल अघि बढेको छैन ।

दशैं बिदा, अनि लगत्तै १० कात्तिकमा प्रधासेनापति प्रभुराम शर्मा चीन भ्रमणमा गएका कारण सिफारिस जंगीअड्डाबाट रक्षा मन्त्रालय पुगेको छैन ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, जंगीअड्डाबाट सूचना प्रकाशित भएको समयसीमा सकिएपछि मन्त्रिपरिषद्मा पठाइने प्रस्तावका आधारमा बढुवा सम्बन्धी निर्णय हुन्छ । रथी बढुवाको सिफारिस मन्त्रिपरिषद् गए नगएको आफूलाई थाहा नभएको भण्डारीले बताए ।

आइतबार (१२ कात्तिक) बाट रथी सरोजप्रताप राणाले अवकाश पाउँदै थिए । त्यसपछि हुने रिक्त हुने दरबन्दीका लागि जंगीअड्डाले यसपालि दुई साताअगावै बढुवा सिफारिस सूचना प्रकाशित गरेको थियो ।

सामान्यतः उमेर हदले नभट्ने भए पदावधि थप गर्ने चलन थियो । तर, यो पटक पाण्डेलाई अगाडि ल्याउन जंगीअड्डाले राणाको म्याद थप नगरेको अधिकृतहरु बताउँछन् ।

राजनीतिक दबाबमा माओवादी पूर्वलडाकु यमबहादुर अधिकारीको सहायक रथीमा पदावधि थप गरेर सैनिक प्रणाली विपरित काम गरेको भन्दै आलोचना भइरहेका बेला सेनापति शर्माले सुटुक्क पाण्डेलाई रथी बढुवाका लागि सिफारिस गर्ने सूचना प्रकाशित गरेका थिए ।

एक उच्च सैनिक अधिकृतका अनुसार, अधिकारीलाई परिस्थिति सहज भए प्रधानसेनापतिसम्म बनाउने योजना अनुरुप म्याद थप गरिएको भन्दै आलोचना भइरहेका बेला सेनापति शर्माले त्यसलाई रोक्न दुई साताअगावै बढुवा सिफारिसको सूचना प्रकाशित गरेका थिए ।

‘आलोचनालाई मत्थर पार्दै गुपचुप पाण्डेलाई अघि बढाउन प्रधानसेनापति शर्माले निकै अगाडि बढुवा सिफारिसको सूचना प्रकाशित गरेका थिए’, सैनिक स्रोतले भन्यो, ‘नभए दशैं विदाको मुखमा बढुवा सिफारिसको सूचना प्रकाशित गर्नु जरुरी थिएन ।’

अहिले शर्माले विवादास्पद पृष्ठभूमिका पाण्डेलाई अघि सार्दा त्यसले जंगीअड्डालाई फेरि विवादमा तानेको छ । रथी बढुवाका लागि पाण्डेसँगै उपरथी अशोक सिग्देल प्रतिष्पर्धामा थिए ।

जन्ममितिमा ‘कैफियत’

रथीमा बढुवा सिफारिस गर्न सूचना प्रकाशित भएसँगै १ कात्तिकमा प्रधानसेनापति प्रभुराम शर्मासमक्ष पाण्डेविरुद्ध उजुरी समेत परेको छ । यो उजुरी संसदको राज्य व्यवस्था तथा सुशासन समिति, प्रधानमन्त्री र रक्षामन्त्रीको कार्यालयसम्म पनि पुगेको छ ।

उजुरीमा उपरथी पाण्डेले जन्ममिति कीर्ते गरेर जागिर खाएको भन्दै नागरिकता र शैक्षिक प्रमाण पत्रमा भएको फरकफरक जन्ममितिको छानबिन गर्न माग गरिएको छ ।

अनलाइनखबरलाई प्राप्त पाण्डेको नागरिकता र शैक्षिक प्रमाण पत्रको प्रतिलिपिमा पनि फरकफरक जन्ममिति रहेको देखिन्छ । २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनले २३ मंसिर २०२३ को जन्ममिति उल्लेख गरेका छन् । तर, उनको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १२ माघ २०२१ उल्लेख छ ।

सैनिक अधिकृतहरुका अनुसार, सेनामा विगतमा यस्तो विवादमा जुन मितिले पहिले अवकाशमा जान्छन्, त्यो कायम गरेर अवकाशमा पठाउने गरिएको थियो । गौरवशमशेर राणादेखि पूर्णचन्द्र थापा सेना प्रमुख भएका बेलामा जगदिशचन्द्र पोखरेल, देवकुमार सुवेदीदेखि ज्ञानेन्द्र रायमाझीसम्मलाई यही अनुसार अवकाश दिइएको थियो ।

त्यसअनुसार पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघि १२ माघ २०७८ मै अवकाश पाउनुपथ्र्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्ष छ ।

‘वास्तवमा डेढ वर्षअघि अवकाश पाउने भन्ने कुरा पनि सेफ ल्याण्डिङ गराउने कुरा मात्र हो’, एक सैनिक अधिकृतले भने, ‘१२ माघ २०२१ जन्ममिति कायम हुँदा उनले अधिकृत क्याडेटमै भर्ना हुन पाउँथेनन् ।’

यस्तै विवादमा मुछिएपछि नेपाल प्रहरीमा महानिरीक्षक बन्ने प्रतिष्पर्धामा रहेका अशोक सिंहले डीआईजीबाटै राजीनामा दिएका थिए ।

नागरिकता र शैक्षिक रेकर्डमा फरकफरक जन्ममिति ।

उपरथी पाण्डेले भर्ना हुँदै जन्ममितिमा कीर्ते गरेर जागिर खाएको हुनसक्ने अधिकृतहरुको आशंका छ । त्यसमाथि छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

‘सैनिक अभिलेखालयमा भएको नागरिकतामा जन्ममिति २३ मंसिर २०२३ छ, तर शैक्षिक प्रमाण पत्रहरुमा फरक छ’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘शैक्षिक प्रमाण पत्रको जन्ममिति हेर्दा उनी २०४३ सालमा भर्ना हुन नै योग्य देखिँदैनन् ।’ किनकि, सेनामा अधिकृत क्याडेटमा १८ देखि २१ वर्षभित्र भर्ना भइसक्नुपर्ने प्रावधान छ ।

स्रोतका अनुसार, उनको जन्ममितिका विषयमा पूर्णचन्द्र थापाका प्रधानसेनापति भएका बेला पनि प्रश्न उठेको थियो । तर, थापाको साथ पाएपछि उनीमाथि छानबिन भएन ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले पाण्डेको जन्ममितिको विषयमा पहिल्यै निक्र्यौल गरेर मात्र बढुवा सिफारिसको सूचना प्रकाशित भएको दाबी गरे ।

‘यो विषय पहिल्यै सम्बन्धित शिक्षण संस्थाबाट यकिन गरिसकेको कुरा हो, अहिले आएर निस्किएको कुरा होइन’, भण्डारीले अनलाइनखबरसँग भने, ‘फेरि हरेक तहको बढुवामा सैनिक सचिव विभागबाट कागजातको सक्कल प्रमाण–पत्र जाँचपछि मात्र बढुवाको निर्णय हुन्छ, त्यो सबै जाँचेरै उहाँ यो दर्जासम्म आइपुग्नुभएको हो ।’

तर, अनलाइनखबरलाई प्राप्त त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन कार्डमा उनको जन्ममिति १२ माघ २०२१ उल्लेख रहेको देखिन्छ । २२ साउन २०७६ मा परीक्षा नियन्त्रण कार्यालय, बल्खुले दिएको रजिष्ट्रेसन कार्डको सक्कल प्रतिको प्रतिलिपिमा उनको जन्ममिति १२ माघ २०२१ देखिएको हो ।

सैनिक प्रवक्ता भण्डारीले भनेअनुसार कसरी जंगीअड्डाले उपरथी पाण्डेको उमेर विवाद निर्क्याैल गर्‍यो भन्ने खुल्दैन । भक्तपुरस्थित सुपिङ बहुमुखी क्याम्पसमा प्रविणता तहको सेसन २०३९/०४१ को दर्ता किताबमा पनि पाण्डेको जन्ममिति १२ माघ २०२१ देखिन्छ । त्यसबेला उनको ठेगाना काठमाडौं–४, महाराजगञ्ज उल्लेख छ ।

यद्यपि, पाण्डेले २६ वैशाख २०४३ सालमा आफ्नो ‘चारित्रिक प्रमाण पत्रमा ठेगाना फरक पर्न गएको’ भन्दै नागरिकता अनुसार स्थायी ठेगाना सच्याइ दिन भन्दै निवेदन दिएको देखिन्छ । त्यसबेला ‘चारित्रिक प्रमाण–पत्र साथै अफिसको रेकर्ड नागरिकताको प्रमाण–पत्र अनुसार मिलाइदिने’ भन्दै तोक आदेश भएको देखिन्छ ।

यस्तो कमजोरी भएका व्यक्ति सेना प्रमुख बन्दा भोलि कसरी संस्था बलियो होला भन्ने पनि हो । त्यसैले सेनाकै राम्रोका लागि पनि छानबिन गरेर स्पष्ट पारेर मात्र जंगीअड्डाले बढुवाका लागि सिफारिस गर्नुपर्छ – पूर्वसैनिक उच्च अधिकृतहरु

जंगीअड्डा स्रोतका अनुसार, पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापानिकट जर्नेल पवनबहादुर पाँडे लगायतसँग निकट सम्बन्ध भएका कारण उनी त्यसबेला छानबिनबाट जोगिएका थिए ।

‘तत्कालीन चिफ सा’बलाई पाण्डे सा’बको शैक्षिक प्रमाण पत्रमा भएको कैफियतबारे थाहा थियो’, स्रोतले भन्यो, ‘तर, निकटस्थहरुको जोडबलमा पछि चिफ हुने बेला जेसुकै होस् भन्दै बढुवा गरिएको थियो ।’ तनहुँका पाण्डेले थापासँग भेगीय नाता समेत लगाएर निकट भएको अधिकृतहरु बताउँछन् ।

राजेन्द्र क्षेत्रीका पालामा पनि सैनिक नेतृत्व उनको लागि दाहिना भएको स्रोत बताउँछ । क्षेत्रीको पनि गृहजिल्ला तनहुँ हो ।

यसपटक प्रधानसेनापति प्रभुराम शर्माले पनि उमेर विवादलाई ‘आँखा चिम्लिएर’ पाण्डेलाई उपरथी बढुवाका लागि सिफारिस गर्नु ‘रहस्यमय’ भएको अधिकृतहरु बताउँछन् । यसपछाडि ‘केही स्वार्थ समूह’को दबाबले काम गरेको असन्तुष्टहरुको दाबी छ ।

प्रधानसेनापति शर्मानिकट अधिकृतहरु भने प्रारम्भिक चरणमै रहेको प्रक्रियामा विभिन्न व्यक्तिसँग जोडेर प्रचार गर्नु गलत भएको दाबी गर्छन् ।

भारतका सैनिक सहचारीसँग लफडा

जेठ अन्तिम साता काठमाडौंको होटल सोल्टीमा भएको एउटा घटनालाई लिएर पाण्डेविरुद्ध ‘कोर्ट मार्सल’ गर्नुपर्ने माग समेत उठेको सैनिक स्रोत बताउँछ ।

स्रोतका अनुसार, संयुक्त राष्ट्र संघको एउटा कार्यक्रमपछि भएको रात्रिभोजमा उपरथी पाण्डे नेपालस्थित भारतीय दूतावासमा कार्यरत सैनिक सहचारी अमित शर्मासँग अशिष्ट रुपमा प्रस्तुत भएका थिए । नेपालस्थित भारतीय दूतावासका ‘डिफेन्स विङ’का कर्णेल शर्मालाई उनले दुर्व्यवहार गरेका थिए ।

भारतीय सेनाप्रति लक्षित गर्दै उनले अपमानजनक टिप्पणी समेत गरेको सैनिक स्रोत बताउँछ ।

‘कुटनीतिज्ञहरु भएको ठाउँमा उहाँले देखाएको आपत्तिजनक व्यवहार छानबिनका लागि भागेदार हुने किसिमको थियो’, स्रोतले भन्यो, ‘तर, देशकै प्रतिष्ठामाथि प्रश्न उठ्ने गरी दुईतारे जर्नेलले विदेशीसामू देखाएको हर्कतमा सैनिक नेतृत्व दाहिना हुँदा उनले जवाफदेही बन्नु परेन ।’

प्रधानसेनापति शर्मा नरम बन्दा पाण्डेमाथि छानबिन नभएको जानकारहरु बताउँछन् । ‘यस्तो व्यक्ति सेना प्रमुख बन्दा भोलि कसरी संस्था बलियो होला भन्ने पनि हो’, एक पूर्वउच्च सैनिक अधिकृतले भने, ‘त्यसैले सेनाकै राम्रोका लागि पनि छानबिन गरेर स्पष्ट पारेर मात्र जंगीअड्डाले बढुवाका लागि सिफारिस गर्नुपर्छ ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?