+
+

‘महानायक’ विवादमा राजेश हमाल भन्छन्- म कलाकार हुँ भन्नेमा स्पष्ट छु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १३ गते १६:४४
फाइल तस्वीर

काठमाडौं । अभिनेता राजेश हमालले ‘महानायक’ विवादमा प्रष्टीकरण दिएका छन् । यसै साता एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफूले आफूलाई कलाकार ठान्ने बताए ।

आफूले क्रिटिकल चीज स्वीकार्ने भन्दै हमालले ‘महानायक’ विवाद निकाल्नेप्रति आफ्नो आपत्ति नरहेको बताए । ‘किनकि यो उहाँहरुको स्वतन्त्रता हो,’ उनले भने, ‘आफू को हो भन्ने कुरामा त व्यक्ति आफू स्पष्ट हुनुपर्छ । म एउटा कुरामा एकदम स्पष्ट छु कि म कलाकार हुँ भनेर ।’

उक्त अन्तर्वार्तामा हमाललाई तपाईंले आफूलाई के ठान्नुहुन्छ भनेर प्रश्न सोधिएको थियो । यो प्रश्नमा उनले आफूले आफूलाई कलाकार ठान्ने बताए । उनले महानायक विवाद झिक्ने व्यक्तिको नाम त लिएनन्, तर ‘समय र सन्दर्भ’को हिसाबले उनको यो अभिव्यक्ति अभिनेत्री उषा रजकतर्फ लक्षित भएको बुझ्न कठिन छैन ।

हरेक व्यक्तिलाई धारणा राख्ने अधिकार हुने भन्दै हमालले अरुको आलोचना स्वीकार्नुपर्ने पनि बताए । ‘मैले उहाँहरुको ओपिनियनलाई स्वीकारेको छु, उहाँले बोलेका कुराहरुको अन्य अरुले गरेका ओपिनियनलाई पनि उहाँले स्वीकार्नुपर्‍यो नि त त्यो हिसाबबाट,’ उनले भने ।

विगत केही वर्षयता पटक–पटक राजेश हमाललाई महानायक मान्ने वा नमान्ने विषयमा पक्ष र विपक्षमा टिप्पणी हुँदै आएका छन् । पछिल्लोपटक अभिनेत्री रजकले एक टेलिभिजन कार्यक्रममा हमाललाई ओभर रेटेड एक्टर भएको बताएकी थिइन् । विरोध चर्किएपछि उनले माफी पनि मागिन् ।

हमालले भनेका कुरा यस्ता छन् :

मैले त आफूलाई जहिले पनि कलाकार नै ठान्छु नि । कलाकारै ठान्ने त हो नि । पदवी, विभिन्न किसिमको स्याबासी, अरु त आफूले मेहनत गर्दै गइसकेपछि पाउने कुराहरु हो । जुन पाउँदा व्यक्तिलाई खुसी लाग्छ । व्यक्ति कृतज्ञ पनि हुन्छ, जसले दिनुहुन्छ ।

तर आफू को हो भन्ने कुरामा त व्यक्ति आफू स्पष्ट हुनुपर्छ । म एउटा कुरामा एकदम स्पष्ट छु कि म कलाकार हुँ भनेर । तर मैले जतिसुकै सफलता हासिल गरेपनि, जतिसुकै पदवी मैले पाएता पनि, जतिसुकै यहाँसम्म ल्या भनेर मैले लोकले भनेता पनि, शतप्रतिशत लोकले त सपोर्ट गर्दैन भन्ने कुरा त छर्लंग छ नि । त्यो त सम्भव नै हुँदैन नि ।

कुनै पनि क्षेत्रमा कुनै पनि सामग्री, कुनै पनि वस्तु, संसारका कुनै पनि चीजहरु, शतप्रतिशत व्यक्तिहरुको रुचिमा परोस् भन्न त्यो सम्भव नै हुँदैन । त्यसकारण त्यसलाई स्वीकार्छु म । क्रिटिकल चीजहरु म स्वीकार्छु । त्यसकारण तपाईंले देख्नुभएको होला कि मैले यस्ता कुरामा भयंकर ठूलो आपत्ति कहिल्यै गर्दिन । किनकि यो उहाँहरुको स्वतन्त्रता हो ।

विवाद सिर्जना गर्नुपर्ने कुरा नहुनुपर्ने हो । व्यक्ति जसले गर्नुभयो, त्यो उहाँले बुझ्नुपर्ने कुरा हो नि । उहाँले बुझ्नुभएन र गर्नुभयो भने मेरो तर्फबाट मलाई केही छैन, त्यो उहाँको अधिकार हो । त्यो उहाँले गर्न सक्नुहुन्छ, जुन उहाँले चाहनुहुन्छ । यसकारण अहिलेको जुन प्लेटफर्ममा गएर उहाँहरु बोल्नुहुन्छ, जहाँ विभिन्न किसिमको कमेन्ट गर्ने, लाइक गर्ने सिस्टम छ । त्यहाँ त फेरि जसरी मैले उहाँहरुको ओपिनियनलाई स्वीकारेको छु, उहाँले बोलेका कुराहरुको, अन्य अरुले गरेका ओपिनियनलाई पनि त उहाँले स्वीकार्नुपर्‍यो नि अन्य हिसाबबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?