+
+

मधेशमा बढ्दैछ अपराध ग्राफ, मसिना विवादमा समेत जघन्य हत्या 

सोमबार कलैयामा स्कुलका प्रिन्सिपलमाथि भएको हत्याले मधेशमा भइरहेका पछिल्ला हत्याहरुको प्रवृत्ति देखाउँछ । ससाना झगडा र मनमुटावमा समेत जघन्य हिंसाहरु भइरहेको तथ्यले देखाउँछ ।  

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० कात्तिक १४ गते १९:२०

१४ कात्तिक, जनकपुरधाम । सोमबार दिनदहाडै बाराको कलैया उपमहानगर ६ स्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३९ वर्षीय रुपेश स्वर्णकारको गोली हानेर हत्या भयो । सोमबार मध्याह्न घर नजिकैको होटेलबाट चाउमिन बोकेर फर्किंदै गर्दा स्कुल नजिकै उनीमाथि चारजनाको समूहमा आएका अज्ञात हतियारधारी समूहले गोली प्रहार गरेका थिए ।

शरीरमा चार राउण्ड गोली लागेर गम्भीर घाइते स्वर्णकारलाई सुरुमा प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्जस्थित वयोधा अस्पताल रेफर गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ ।

उनको टाउको तथा छातीमा गोली लागेको प्रहरीले जनाएको छ । चारजनाको समूहमा दुईवटा मोटरसाइकलमा भएका अपराधीहरु दक्षिणतिर भागेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

हत्यामा संलग्न आरोपमा प्रहरीले सो विद्यालयमा पढाउने पूर्व शिक्षिकासहित ६ जनालाई पक्राउ गरेको छ । जसमा तीनजना भारतीयसमेत रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराज न्यौपाने बताउँछन् ।

बारा जिल्लामा पछिल्लो समय हत्या घटना बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा मात्र मधेश प्रदेशका आठवटा जिल्लामध्ये बारामा सबैभन्दा बढी ८ हत्याका घटना भएका छन् । हत्यामा सम्बन्ध र आर्थिक कारण प्रमुख देखिएको बाराका प्रहरी प्रमुख सुरेश काफ्ले बताउँछन् ।

‘पछिल्ला जति पनि हत्याको घटना भएको छ । प्रायमा सम्बन्ध र आर्थिक कारण प्रमुख देखिएको छ’ एसपी काफ्लेले अनलाइनखबरसँग भने ।

सामान्य विवादमा पनि हत्या

यही कार्तिक ९ गते साँझ महोत्तरीको पिपरा गाउँपालिका ५ का स्थानीय जगदिश साहको खेतमा रक्ताम्य अवस्थामा एक १९ वर्षे युवक मृत भेटिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरे । अनुसन्धान थालेपछि सो शव पिपरा गाउँपालिका–५ हर्दिया टोलका आशिक भनिने १९ वर्षीय वसन्त पासवानको भएको सनाखत भयो ।

उनको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी प्रहरीले त्यसैदिन राति भारतको बिहार राज्यको मधुवनी जिल्लास्थित जयनगर घर भएका १९ वर्षीय दीपक मलिक र मधुवनी साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिकलाई पक्राउ गर्यो ।

महोत्तरी प्रहरीले १० गते पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको थियो । महोत्तरी प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीका अनुसार प्रहरीको अनुसन्धानमा वसन्तकै छिमेकमा मावली घर आएका दीपक र अमित गाउँमा लागेको दुर्गा मेला हेर्न सँगै निस्केका थिए ।

मेलामा सुनजस्तै टल्किने करिब सय रुपैयाँको सिक्री (माला) अमित र दीपकले किने । त्यही सिक्री मागेर वसन्तले फोटो खिचाए । तर अन्तिममा वसन्तले फिर्ता नगर्दा विवाद भएको थियो । ‘वसन्तले सिक्री फिर्ता गर्न नमान्दा विवाद भएछ । त्यसै क्रममा मेलाबाट थोरै पर चउरमा लगेर दुवै जनाले वसन्तको पेटमा छुरा प्रहार गरेर भागेका थिए,’ डिएसपी गिरीले भने । सिक्रीको सामान्य विवादमा दुबैजनाले वसन्तको हत्या गरेको महोत्तरी प्रहरीको निष्कर्ष छ ।

चालु आर्थिक वर्षको तीन महिनामा मात्र मधेश प्रदेशको आठ वटा जिल्लामा ३८ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा देखिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बेलास्थित धान खेतमा कार्तिक ९ गते बिहान अन्दाजी २४ वर्षीय युवक मृत भेटिए । उनको टाउकोमा घाउचोट थियो । हत्या हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थाले । घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोलीबाट समेत प्रहरीले अनुसन्धान थालेको थियो । मृतक युवकको सनाखत भयो, उनी थिए जनकपुरधाम उपमहानगरपालिका २० सोनापाडा बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महरा ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा साथीबाटै रुपेशको हत्या भएको पुष्टि भयो । उनको हत्या कुनै ठूलो विवाद वा योजनाबद्ध नभइ लागूऔषध सेवनपछि मोबाइलको विवादमा भएको धनुषा प्रहरीको निष्कर्ष छ । हत्या अभियोगमा धनुषा प्रहरीले जनकपुरधाम–२४ सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको थियो ।

धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काका अनुसार तीनैजना साथी एकदिन अघि टेम्पोमा चढेर जटही हुँदै सीमा पारी भारतीय बजारमा गएर लागु औषध नाइट्राभेट ट्याब्लेट किनेर सेवन गरी जनकपुर फर्केका थिए । जानकी मन्दिर अगाडि हंसराज मिठाइ पसलमा पुगेर मिठाइ खानेबेला हरिचन र रुपेशबीच मोबाइलमा गीत सुन्ने विषयमा सामान्य विवाद सुरु भएको थियो । राति करिब ९ बजेतिर घर फर्किने बेला विवाद बढ्दै जाँदा बाटोमा भेटिएको बाँसको भाटाले हरिचनले रुपेशको टाउकोमा हिर्काएका थिए । त्यसपछि रुपेश धान खेतमा ढले । हरिचन र पवन घरतिर हिँडे ।

‘हरिचन र पवनले चार–चारवटा र रुपेशले दश वटा प्रतिवन्धित नाइट्रोभ्याट ट्याबलेट खाएका थिए । मोबाइलको सामान्य विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको छ,’ एसपी खड्काले भने ।

हत्याको बढ्दो तथ्यांक

माथिका यी तीन घटना केही उदाहरण मात्र हुन् । पछिल्लो समय मधेश प्रदेशमा हत्या घटनाको ग्राफ उकालो लाग्दो छ । समान्य विवाददेखि योजनावद्ध रुपमा समेत हत्या घटना भइरहेको छ ।

चालु आर्थिक वर्षको तीन महिनामा मात्र मधेश प्रदेशको आठ वटा जिल्लामा ३८ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा देखिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले उपलब्ध गराएको तथ्यांकमा ३८ जनाको हत्या गत साउनदेखि असोज मसान्तसम्मको अवधिमा भएको हो ।

जसमा सबभन्दा बारामा ८ जना, सप्तरीमा ७ जना, पर्सा र सर्लाहीमा ५–५ जना, धनुषा र रौतहटमा ४–४ जना तथा महोत्तरी र सिरहामा २–२ जनाको हत्या भएको छ ।

पछिल्ला तीन आर्थिक वर्षसहित गत असोजसम्मको तथ्यांक हेर्ने हो भने ३३२ जनाको हत्या भएको छ । क्रमिक रुपमा दिनानु दिन हत्या घटना बढिरहेको तथ्यांकले देखाउँछ ।

अर्थिक वर्ष २०७७/७८ मा ९३ जनाको हत्या भएको थियो भने त्यो संख्या बढेर आर्थिक वर्ष २०७८/७९ मा ९६ जनाको हत्या भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा १०६ जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्याम महतोले जानकारी दिए । ्

चालु आर्थिक वर्षमा सप्तरीमा ७ वटा हत्याका घटनामध्ये तीनवटामा प्रेम सम्बन्ध, पारिवारिक र आर्थिक सम्बन्ध कारण देखिएको डिएसपी ढुण्डीराज न्यौपाने बताउँछन् । ‘म आएदेखि तीनवटा हत्याको घटना भएको छ । जसमा प्रेम, पारिवारिक र आर्थिक सम्बन्ध कारण देखिएको छ,’ उनी भन्छन् ।

समाजमा त्रास

सामान्य विवादमा समेत हत्या हुन थालेपछि नागरिक असुरक्षित महसुस गर्न थालेका छन् । यसले समाजमा संत्रास फैलिएको छ ।

नेपाल प्रहरीका पूर्व एसएसपी गोविन्द साह हत्या गर्नेसम्म अपराधको मनोवृत्ति बढुनुमा राजनीतिक संरक्षण प्रमुख कारण रहेको बताउँछन् ।

‘अपराधमा संलग्नलाई राजनीतिक संरक्षण भइरहेको देखिन्छ । जसले अपराधीले उन्मुक्ति पाउँछन् र यसले, उसलाई केही भएन मैले गर्दा के हुन्छ भन्ने मनोविज्ञानले हत्यासम्म गर्ने जस्तो प्रवृति बढेको छ,’ पूर्व एसएसपी साह भन्छन्, ‘त्यसैले राजनीतिक संरक्षणले नै हत्या जस्ता जघन्य अपराध बढ्नु प्रमुख कारण हो जस्तो मलाई लाग्छ ।’

अर्को कानुनी कानुनको जानकारीको अभाव तथा अभिभावकको कमजोरीले पनि ससाना विवादमा पनि हत्या गर्ने प्रवृति बढेको उनको बुझाइ छ ।

‘अपराध गरेपछि के सजाय हुन्छ भन्ने चेतनाको अभाव त छ नै । पहिला सन्तानले गल्ती गर्दा अरुले भनेपछि अभिभावकले चेताउँथे । गाउँसमाजमा दण्ड दिइन्थ्यो । जसको कारण अपराध गर्न मान्छे डराउँथे । अहिले कसैले कसैको अभिभावकले तपाईंको छोरो गलत गरिरहेको छ भन्दा पनि उल्टै अभिभावक असन्तानको बचाउमा उत्रिन्छन् । यसले पनि अपराधलाई निमन्त्रण दिइरहेको छ,’ उनी भन्छन् ।

अपराध न्यूनीकरण गर्न प्रदेश तथा स्थानीय सरकारलाई अधिकारसम्मको साथै जिम्मेबारीबोध पनि हुनुपर्ने उनको धारणा छ । देशमा बढेको कानुन हिनता, राजनितक स्वच्छन्दता, दण्डहीनताले अपराधको घटनामा वृद्धि भएको राजनीतिक विश्लेषक डा. भोगेन्द्र झाको तर्क छ । अर्को समाजमा अर्काको प्रगतिमा हुने इर्ष्याले पनि आपराधिक घटना बढिरहेको उनको बुझाइ छ ।

‘जघन्य अपराधमा संलग्नले राष्ट्रपतिबाट आममाफी पाउँछन् । राजनीतिमा अपराधीकरण त छँदै थियो । अब अपराधको राजनीतिकरण भइरहेको छ । प्रायः अपराधको घटनामा राजनीतिक संलग्नता देखिएको छ । जसले अपराध र अराजकता बढेको हो,’ विश्लेषक झा भन्छन् ।

हत्या जस्ता आपराधिक घटनामा वृद्धि हुनुले प्रहरीको भूमिका र शान्ति सुरक्षामाथि प्रश्न उठेको छ । प्रहरी अधिकृतहरु कमाउने उद्देश्यले मधेशमा आउने, अपराधीलाई खोज्नुभन्दा पहुँचवाला र पैसाको पछाडि लाग्ने गर्दा पनि अपराध बढेको जनगुनासो छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?