+
+
टी-२० विश्वकप छनोट :

सर्वाधिक रन लिने सूचीमा कुशल भुर्तेल, बढी विकेट लिनेमा अविनाश बोहरा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १९:५०
नेपाली बलर अविनाश बोहरा (बायाँ) र ब्याटर कुशल भुर्तेल ।

१४ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकप छनोट खेलमा समूह चरणको अन्तिम खेल बिहीबार हुनेछ ।

अन्तिम खेल बाँकी रहँदै समूह एबाट लगातार दुई/दुई वटा खेल जित्दै समान चार अंकसहित ओमान र नेपालले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

बिहीबार समूह बिजेता तय गर्न यी दुई देशबीच खेल हुनेछ । लगातार दुबै खेल हारेर मलेसिया र सिंगापुर भने एक बाँकी रहँदै विश्वकप यात्राबाट बाहिरिएका छन् ।

समूह बीतर्फ एक/एक खेल बाँकी रहँदा युएई ४ अंकसहित शीर्ष स्थानमा छ भने दुई/दुई अंकसहित बहराइन दोस्रो र हङकङ तेस्रो स्थानमा छन् । यो समूहको अन्तिममा रहेको कुवेतले अंक जोड्न सकेको छैन । तर कुवेतसँग पनि अझै विश्वकप छनोट हुने सम्भावना बाँकी छ ।

मंगलबारसम्म छनोट खेलमा सहभागी सबै टीमले दुई/दुई खेल खेल्दा सर्वाधिक रन बनाउने र विकेट लिनेमा दुबै नेपाली क्रिकेटर छन् ।

११७ रन जोडेर नेपालका ओपनर कुशल भुर्तेल सर्वाधिक रन लिने सूचीको अग्रस्थानमा छन् । उनले सोमबार सिंगापुरविरुद्ध ७४ रन जोडेका थिए । नेपालले जितेको उक्त खेलमा भुर्तेल प्लेअर अफ दि म्याच बनेका थिए ।

शनिबार युएईविरुद्ध समेत अर्धशतक बनाएका भुर्तेलले मंगलबार मलेसियाविरुद्ध पनि आक्रामक ब्याटिङ गरे । ४३ रन जोडेर आउट हुँदा भुर्तेलले २५ बलमै ४ छक्का र ४ चौका प्रहार गरेका थिए ।

सर्वाधिक रन लिने सूचीको दोस्रो स्थानमा हङकङका मार्टिन कोजी छन् । उनले ८३ रन र तेस्रो स्थानमा रहेका ओमानका जिसान क्याकसुदले ८२ रन जोडेका छन् ।

प्रतियोगितामा धेरै विकेट लिने सूचीमा पनि नेपालका अबिनाश बोहरा छन् । टी–२० क्रिकेटतर्फ नेपाली टिममा रोजाइको बलर बन्दै आएका बोहराले दुई खेलमै सात विकेट लिएका छन् ।

बोहराले मंगलबार मलेसियाको चार र सोमबार सिंगापुरको तीन विकेट लिए । धेरै विकेट लिने दोस्रो स्थानमा हङकङका आइजज् खानले ५ र बहराइनका अब्दुल मजिदले ४ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?