+
+
Shares

कोही किन फर्किंदैन विदेश गएर ?

वसन्त आचार्य वसन्त आचार्य
२०८० कात्तिक १६ गते ९:५२

मान्छे किन विदेश जान्छ भनेर एआइलाई प्रश्न राख्यो भने त्यहाँ विभिन्न १२ वटा कारणहरु देखाउँछ । जसको सुरुवाती बुँदामा घुम्न र नयाँ-नयाँ ठाउँमा रमाउन भन्ने उल्लेख छ । अनि त्यही एआईलाई मान्छे किन नेपालबाट विदेश जान्छ भन्ने प्रश्न राख्यो भने पहिलो बुँदामै लेखेको छ जागिरको अवसर खोज्नका लागि ।

यो एआईले संश्लेषण गरेको उत्तर मात्रै होइन, नेपालको यथार्थ हो । अर्थात गत वर्ष करिब ९ लाख जति नेपाली कमाउन र दुई लाख जति नेपाली पढ्ने बहानामा विदेश पुगेका थिए ।

गैरकानुनी र कानुनी दुवै माध्यमबाट नेपालीहरुले देश छाडिरहेका छन् । सामाजिक सञ्जालमा यसलाई देशले लखेटिरहेको भन्ने बहस पनि चलिरहेको छ ।

यो कुरा सत्य पनि हो । आफ्नै देशमा केही गर्छु भनेर अनेकानेक प्रयत्न गर्दा पनि राज्यले अभिभावकीय भूमिका बहन गर्न नसकेर युवाहरुलाई डिप्रेस्ड पारेर विदेश जाने वाध्यताको सृजना गर्नु भनेको राज्यले लखेटेको नै हो युवाले देश छाडेको होइन ।

प्लस टु उत्तीर्ण गरेर आजको युवा स्वदेशमा राम्रा-राम्रा विश्वविद्यालय र क्याम्पसलाई महत्व नै नदिइ किन विदेशका कोठे क्याम्पसहरुमा पढ्नका लागि लालायित भइरहेको छ ? आम मान्छेसँग यसको सटिक जवाफ छ : विदेश पुग्ने बहाना ।

यदि कामदारका रुपमा या अन्य हिसाबले नेपालीहरु विदेश जान पाउने थिए भने के नेपालका एजुकेशनल कन्सल्टेन्सीहरुलाई सदैव दशैं आउथ्यो त ? होइन नागपञ्चमी पनि आउने थिएन । पढ्ने बहानामा जानेहरु पनि अधिकांश विदेशमै सेटल भइरहेका छन् ।

यसले गतिलोसँग पुष्टि गरेको छ- जुन कोही बहानामा जो कोही विदेश जाओस् उसको एउटै लक्ष्य हुन्छ त्यतै बस्ने, त्यतै जीवन गुजार्ने ।

अनलाइनखबरले भर्खरै रुकुमको एक गाउँका युवाहरु गैरकानूनी बाटोबाट अमेरिका गएका कारण सिँगो गाउँ रित्तो भएको समाचार सम्प्रेषण गरेको थियो । कथा रुकुमको एक गाउँको भएपनि अहिले सारा गाउँहरु रित्ता हुँदै गएका छन् ।

गैरकानुनीरुपमा होस् या भाषा पास गरेर या पढ्ने बहानामा स्थायीरुपमा देश छाड्नेहरुको अहिले लर्को नै लागेको छ । हरेक दिन विदेश पुगेकाहरुको बधाईले सामाजिक सञ्जाल पुरै भरिने गरेको छ ।

दिनदुगुना रात चौगुणा देश छाड्नेहरुको संख्या उकालो लागिरहँदा जिम्मेवार निकायमा बसेकाहरु भाषणले मात्रै सम्बोधन गर्न मस्त छन् । केही दिन अगाडि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तो केवल रहरका लागि मात्रै नेपालीहरु विदेश गएका भने छैनन् उनीहरुले राज्यलाई सधैंका लागि बिदा गरेका छन् । के कुनै गाउँमा पनि अमेरिका, युरोप, अष्टे्रलिया गएका युवा घर फर्किएको छ ? हामीले सहजै अनुमान लगाउन सक्छौं ।

नेपालीहरुको विदेश जाने यो डरलाग्दो तथ्य र तथ्यांकको उत्पत्ति कसरी भयो त ? कोही किन सधैंका लागि विदेश जान्छ ? अहिलेको सबैभन्दा जल्दोबल्दो प्रश्नको जवाफ युवा गायक रतन देवकोटाले आफ्नो गीतमा बलियोसँग अभिव्यक्त गरेका छन् । देश छाड्नेको लर्को शीर्षक दिइएको गीतले कोही किन देश छाड्छ भन्ने कुरालाई मिहिन ढंगले सम्बोधन गरिएको छ ।

हाँस्न मन छ, रुन मन छ बाउ-आमाको छेउँ
यही देशमा गरिखाने माहौल बनाइदेऊ ।

आज कयौं युवाहरु प्रयत्न नगरेर होइन जीवनको सबै कुरा सकिदासम्म प्रयत्न गरेर पनि केही हात नलागेपछि विदेश हान्निएका कैयौं उदाहरणहरु छन् । करिअरको अन्तिम अवस्थासम्म पनि प्रयत्न गरेर केही हात नलागेपछि पासपोर्ट बनाउनुको विकल्प बाहेक के नै हुन सक्छ र ?
पछिल्लो समय पढ्दा पढ्दैका विद्यार्थी अनि पढाउँदा पढाउँदैका शिक्षक, व्यवसाय गर्दागर्दैका व्यवसायी, खेल खेल्दा खेल्दैका खेलाडी, अभिनय गर्दागर्दैका कलाकार, विरामी जाँच्दाजाँच्दैका डाक्टर अनि वकालत गर्दागर्दैका वकिलहरुले देश छाडिरहेका छन् । काम नपाउनेहरुले होइन, पाएर पनि राज्यले अभिभावकीय भूमिका बहन गर्न नसकेका कारण उनीहरुले देश छाडेका हुन् ।

यही देशमा केही गर्छु भन्ने सोच नभएको भए कोही किन काम गर्न अग्रसर हुन्थ्यो ? काम गर्दागर्दा आफूलाई असुरक्षित महसुस गरेपछि हरेकले रोज्ने भनेकै विकल्प हो र विकल्पको बलियो भरोसा विदेश भएको छ । फुटबलर विमल घर्तिमगरको पलायन त्यसैको परिणती होइन र ?

विदेश पलायनको अर्को महत्वपूर्ण कारण भनेको अस्थिर र अव्यवस्थित राजनीति नै हो । न त राज्यका लागि गतिलो नीति बनेको छ, न त विकास निर्माणले फड्को मारेको छ, न त केही गरिखाउँ भन्दा अवसर र वातावरण नै सृजना भएको छ ।

केही नहुँदा, कहिल्यै नहुँदा पनि एकै नेताले ४८ देखि ८० सम्म लगातारका निर्वाचन जितिरहेको छ । निर्वाचनको समयमा मात्रै अनुहार देखाउने राजनेतालाई हामीले प्रश्न गर्ने सामर्थ्य राख्नुपर्दछ । हाम्रा दिनचर्याहरुलाई सम्बोधन गर्न नसक्ने नेतालाई हामीले किन हाम्रा भाइ छोराहरु विदेश जान वाध्य छन् भनेर प्रश्न गर्नु जरुरी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
वसन्त आचार्य

आचार्य, तुलसीपुर बहुप्राविधिक शिक्षालयका प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?