+
+
Shares

नेपालमा निर्वाचन सम्पन्नपछि विभिन्न देशले दिए बधाई, कसले के भने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते २३:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपछि भारत, चीन, अमेरिका, स्विजरल्यान्ड, इजरायल लगायतका देशले बधाई दिएका छन्।

नेपालमा आज सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात विभिन्न देशले बधाई दिन थालेको छ । अहिलेसम्म नेपाललाई भारत, चीन, अमेरिका, स्विजरल्यान्ड, इजरालय लगायतका देशले बधाई दिइसकेको छ ।

निर्वाचन सम्पन्न भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाले एक प्रेस नोट जारी गर्दै पछिल्लो असाधारण परिस्थितिबीच पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकामा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता साथै विभिन्न सरोकारवालाहरुलाई बधाई दिए ।

उनले यस निर्वाचनमा नेपाल सरकारको अनुरोधमा लजिस्टिक सामग्रीहरू उपलब्ध समेत गराएको जनाएका छन् । त्यस्तै दुई देश र जनताबीचको मजबुत एवम् बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि अझ सुदृढ तुल्याउन बन्ने नयाँ सरकारसँग काम गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।

त्यस्तै नेपालस्थित अमेरिकन राजदुतावासले नेपाललाई निर्वाचन सम्पन्न गराएकोमा धन्यवाद भनेको छ । आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको राजदूतावासको भनाइ छ ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले सामाजिक सञ्जाल एक्समा एक स्टाटस लेख्दै नेपालमा यति शान्तिपूर्ण, व्यवस्थित र सहज रूपमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएकोमा बधाई दिएका छन् । उनले लोकतान्त्रिक अधिकार प्रयोग गरेकोमा नेपालीहरूलाई हार्दिक शुभकामना समेत दिएका छन् ।

‘यस निर्वाचनका लागि नेपाली अधिकारीहरू र सबै क्षेत्रका व्यक्तिहरूले गरेको ठूलो प्रयासको पूर्ण कदर गरिनुपर्छ,’ उनले लेखेका छन्, ‘म नेपालको स्थिरता, विकास र समृद्धिको साथै नेपाली जनताको सुख, स्वास्थ्य र सफलताको कामना गर्दछु । चीन सधैं नेपालको साथमा छ’

यसैगरी नेपालका लागि स्विजरल्याण्डका राजदूत ड्यानिएल म्युलीले पनि निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन् । उनले यसलाई लोकतान्त्रिक प्रक्रियामार्फत नेपाल र नेपाली जनताका आकाङ्क्षाहरू पूरा गर्ने दिशातर्फको एक महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

इजरायली राजदूत श्मुलिक बासले पनि नेपाललाई बधाई दिएका छन् । लोकतन्त्रलाई सुदृढ गर्न र सबै नेपालीका आकाङ्क्षाहरूलाई अगाडि बढाउन निर्वाचन महत्त्वपूर्ण कदम भएको उनले बताएका छन् । साथै इजरायल नेपालसँगको घनिष्ठ मित्रता र सहयोगलाई निरन्तरता दिन तत्पर रहेको जनाएको छ ।

यसैगरी अहिले अन्य देशका राजदूत अथवा दूतावासबाट नेपाललाई बधाई दिने क्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?