२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ । देशभर ६० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
छिटपुट बाहेक अधिकांश क्षेत्रमा शान्तपूर्वक मतदान भयो । अहिले मतपेटिका मतदानस्थलबाट मतगणना स्थलमा ल्याउने काम भइरहेको छ । यसपटक १६५ क्षेत्रमा निर्वाचन हुँदा केही क्षेत्र चर्चित रहे । तीमध्ये १० चर्चित सिटमा निर्वाचन कस्तो रह्यो भन्नेबारे चर्चा गर्दैछौं ।
झापा–५
सबैभन्दा बढी चर्चा भएको क्षेत्र हो, झापा–५ । भावी प्रधानमन्त्रीको रूपमा अघि सरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार भएका कारण यो क्षेत्र बढी चर्चामा रह्यो ।
झापा–५ मा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भयो । ओली र बालेन दुवै मतदानको क्रममा निर्वाचन क्षेत्र पुग्न सकेनन् । भोट हाल्न काठमाडौं आएका बालेनको टोलीको सुरक्षा चुनौती रहेको भन्दै हेलिकप्टर ल्यान्ड नै नगरी काठमाडौं फर्कियो । ओली भने भक्तपुरको बालकोटमा मतदान गरी यतै बसे ।
१ लाख ६३ हजार ३७९ मतदाता रहेको झापा–५ मा ६५ प्रतिशत बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा ओली र शाहसहित २४ उम्मेदवार छन् ।
सर्लाही–४
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा मधेश झरेपछि चर्चामा छ, सर्लाही–४ । यो क्षेत्रको एक मतदानस्थलमा केही विवाद तत्कालै पुन: मतदान सुरु भयो । श्री प्राथमिक विद्यालयमा रहेको मतदानस्थलमा विवाद हुँदा केही बेर मतदान रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी रामराज कडरियासहितको टोलीले सहजीकरण गरेपछि सहज रूपमा मतदान सम्पन्न भयो ।
यसअघि काठमाडौं–४ बाट लड्दै आएका थापा अहिले सर्लाही–४ बाट चुनाव लडे । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहले टक्कर दिएका छन् ।
अमेरश २०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उक्त क्षेत्रमा एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनिश रायसहित ३८ जना प्रतिस्पर्धामा थिए । सर्लाहीमा कूल १ लाख २१ हजार ९१२ मतदाता छन् ।

रौतहट–१
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल उम्मेदवार रहेको रौटहट–१ मा पनि शान्तपूर्वक मतदान सम्पन्न भयो ।
२०५६ सालमा पहिलो पटक रौतहट–४ बाट सांसद बनेका नेपाल त्यसयता लगातार निर्वाचन लडेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको प्रतिस्पर्धीको रूपमा नेपाल सद्भावना पार्टी पुनर्गठन गर्दै अध्यक्ष बनेका पूर्वमन्त्री अनिलकुमार झा नेपाली कांग्रेस प्रवेश गरी चुनाव लडेका छन् ।
त्यसबाहेक रास्वपाबाट राजेशकुमार चौधरी र एमालेबाट अजयकुमार गुप्तासहित ३९ जना उम्मेदवार बनेका छन् । यो क्षेत्रमा १ लाख ८ हजार ७२६ मतदाता छन् ।
मोरङ–६
कांग्रेस नेता डा. शेखर कोइरालासहित १७ जना उम्मेदवार बनेको मोरङ–६ मा पनि शान्तिपूर्वक रूपमा मतदान सम्पन्न भयो । कूल १ लाख ३७ हजार ८३२ मतदाता रहेको यो क्षेत्रमा ६६ प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।
२०७९ मा भएको निर्वाचनमा कोइराला सोही क्षेत्रबाट १४ हजार बढी मतान्तरले विजयी भएका थिए । शेखरसँग एमालेबाट विनोदप्रसाद ढकाल, नेपाली कम्युनिस्ट पार्टीबाट अपिन्द्रकुमार राय र रास्वपाबाट रुविना आचार्यसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
चितवन–२
कूल १ लाख ३७ हजार १५२ मतदाता रहेको चितवन–२ मा ६३.५९ प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा पनि शान्तिपूर्वक मतदान भयो । दुई पटक ठूलो अन्तर विजयी भएका रास्वपा सभापति रवि लामिछाने यसपटक पनि सोही क्षेत्रबाट चुनावी मैदानमा छन् ।
२०७९ को निर्वाचनमा रविले कांग्रेस र एमालेका उम्मेदवारलाई ३४ हजार बढी मतान्तरले पराजित गरेका थिए । यसपटक जित निकाल्दै ह्याट्रिक गर्ने लक्ष्य उनको छ ।
रविलाई कांग्रेसकी मीनाकुमारी खरेल, एमालेका अस्मिन घिमिरे र नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले टक्कर दिने छन् । उक्त क्षेत्रमा कूल २३ जना उम्मेदवार छन् ।

काठमाडौं–३
चर्चित क्षेत्रमध्येको एक काठमाडौं–३ मा ६८.१ प्रतिशत मत खस्यो । ६४ हजार ४७९ मतदाता रहेको उक्त क्षेत्रमा ६८ प्रतिशत बढी मतदाता सहभागी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
लोडसेडिङ अन्त्य भएपछि चर्चामा आएका कुलमान घिसिङ पार्टी खोलेर चुनावी मैदानमा होमिएको क्षेत्र हो, काठमाडौं–३ । चुनावी सरकारको मन्त्रीबाट कुलमान चुनाव जित्दै संसद् छिर्ने दाउमा छन् ।
उनीसँग काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुखबाट राजीनामा दिएर चुनावमा होमिएका राजुनाथ पाण्डेसहितका उम्मेदवारले उनीसँग प्रतिस्पर्धा गरेका छन् । पाण्डे रास्वपाबाट उम्मेदवार बनेका हुन् । उक्त क्षेत्रमा एमालबोट रामेश्वर फुयाल र कांग्रेसबाट रमेश अर्यालसहित २२ जना प्रतिस्पर्धामा छन् ।
तनहुँ–१
उपनिर्वाचनमार्फत संसद् छिरेका रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले दोस्रो पटक चुनावी मैदानमा उत्रिएको तनहुँ–१ मा पनि शान्तिपूर्वक मतदान भयो । १ लाख २६ हजार ८८२ मतदाता रहेको उक्त क्षेत्रमा ५० प्रतिशतभन्दा बढी मतदान भएको निर्वाचन कार्यालयको प्रारम्भिक तथ्यांक छ ।
उक्त क्षेत्रमा स्वर्णिमसहित यसअघि पराजित भएका कांग्रेसका गोविन्द भट्टराई पनि चुनावी मैदानमा छन् । त्यसबाहेक एमालेकी भगवती न्यौपाने र नेकपाका विद्यानाथ ढकालसहितका १६ उम्मेदवारले पनि स्वर्णिमसँग प्रतिस्पर्धा गरेका छन् ।
२०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित भएका रामचन्द्र पौडेल अहिले राष्ट्रपति छन् ।
रुपन्देही–२
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिस्पर्धा गरेको रुपन्देही–२ मा ५९ प्रतिशतले मतदानमा भाग लिए । १ लाख ३५ हजार ५० मतदाता रहेको रुपन्देही–२ मा ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा पनि कुनै पनि विवाद सिर्जना नभई मतदान सम्पन्न भयो ।
२०५१ सालदेखि निर्वाचन लड्दै आएका पौडेललाई रुपन्देही–२ मा यस पटक रास्वपाले टक्कर दिएको छ । रास्वपाको तर्फबाट सुलभ खरेलले उम्मेदवारी दिएका छन् ।
कांग्रेसबाट चुन्नप्रसाद शर्मा पौडेल र नेकपाबाट सुवास पाण्डेसहित ४० जना प्रतिस्पर्धामा छन् । १ लाख ३५ हजार ५० मतदाता रहेको रुपन्देही–२ मा ५९ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
दाङ–२
दाङ क्षेत्र नम्बर ३ का दुई मतदानस्थलमा मतदाताले चुनाव बहिष्कार गर्दा दाङ–२ मा भने सहज रूपमा मतदान सम्पन्न भयो । उक्त क्षेत्रमा २०७९ को चुनावमा झिनो अन्तरले पराजित भएका एमाले महासचिव शंकर पोखरेल प्रतिस्पर्धामा छन् ।
उनलाई रास्वपा सहमहामन्त्री विपिनकुमार आचार्य, कांग्रेसका किरणकिशोर घिमिरे र नेकपाका निर्मल आचार्यले चुनौती दिएका छन् । उक्त क्षेत्रमा कूल २३ जना उम्मेदवार बनेका छन् । दाङ–२ मा १ लाख ४० हजार ९६५ मतदाता छन् ।
रुकुम पूर्व
निर्वाचन क्षेत्र फेरिरहने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यसपटक रुकुम पूर्व पुगेका छन् । उक्त क्षेत्रमा पनि कुनै झै–झगडा नभई मतदान सम्पन्न भयो । ३४ हजार ७७२ मतदाता रहेको यो क्षेत्रमा ५३ प्रतिशत बढी मतदाता मतदानमा सहभागी भए ।
सुरक्षित क्षेत्र खोज्दै पुगेका प्रचण्डसँग डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का सन्दीप पुनले प्रतिस्पर्धा गरेका छन् । उनीसँगै कांग्रेसकी कुसुमदेवी थापा, एमालेका लिलामणि गौतम र रास्वपाका लखनकुमार थापासहित ११ जना उम्मेदवार छन् ।
प्रतिक्रिया 4