+
+
Shares
सम्पादकीय :

नेपाली जनताको विजय, अतिवादको पराजय

अब आउने निर्वाचित नेतृत्वले ती मतभेदहरुलाई संयोजनकारी अगुवाई गर्नसक्यो भने हामी अगाडि जानेछौं । नत्र संविधान संशोधन, सुशासनको कार्यान्वयन वा कुनै पनि नाममा फेरि तनावहरु रहिराख्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १९:५५

उम्मेदवारी मनोनयनको दिन माघ ६ गते साँझ हामीले सम्पादकीयमार्फत् भनेका थियौं– आजकै जस्तो उल्लास र हार्दिकता कायम रहोस् चुनावसम्म ।

यो शुभेच्छा दिनु निकै अर्थपूर्ण काम थियो, किनभने त्यसको ठीक एक महिनायता कहिले सिमरा विमानस्थलमा झडप, कहिले काठमाडौं त कहिले धनगढीमा तनाव भइरहेका थिए । प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका तीन शीर्ष नेताको मुखै हेर्न नपरे हुन्थ्यो भनेर हामीसँगै भनेकी थिइन् । दलका नेताहरू पनि उनको आगमनलाई आक्रोश, आशंका र आलोचनासाथ हेरिरहेका थिए ।

कार्की नेतृत्वको सरकार नै रहन्छ कि रहँदैन, अर्को सरकार आएरमात्रै चुनाव हुन्छ भन्ने हल्ला उत्तिकै चलिरहेका थिए । कूटनीतिक क्षेत्रका व्यक्तिहरु हामीलाई चुनावी सुनिश्चितताबारे प्रश्न सोधेझैं गरी घुमाउरो राय दिइरहेका हुन्थे ।

भदौरे नवयुवा आन्दोलनको उभार क्रममा चरम हिंसा र २४ भदौको विध्वंशकारी उत्पातपछि एक अर्कालाई निषेध गर्दै अघि बढ्लान् जस्तो देखिएका दल, जेनजी अगुवाहरुले अन्ततः चुनावमार्फत् नयाँ राजनीतिक मार्गचित्र समाउने निर्णयमा पुगेका थिए ।

त्यस पहलले आज निर्णायक निष्कर्ष पाएको छ । नेपाल सबै अतिवादी संशयहरु मेटाउँदै मूल राष्ट्रिय संकल्प गर्न पूरा प्रतिबद्ध रह्यो ।

यस पहलको प्राथमिक जस प्रधानमन्त्री सुशीला कार्की र उनले नेतृत्व गरेको नागरिक सरकारलाई जान्छ । राजनीतिक पार्टीहरु समेत बधाईका भागिदार छन् । मतगणनाको अन्तिम परिणाममा जसले जिते पनि या हारे पनि नेपालको राजनीतिक वर्ग सुझबुझपूर्ण सोच र गहिरो राष्ट्रिय एकता निर्माणको अगुवाईका लागि जस पाउन लायक छ ।

यो एकता फेरि पनि कुनै न कुनै रुपमा कायम रहिरहोस् । अनलाइनखबरले भन्दै आएको छ– चुनावले मूल संकटमात्रै टारेको हो । घाइते संविधानलाई जनप्रतिनिधिमूलक निकायको लिकमा राखिदिएको हो । राष्ट्रिय राजनीतिका मतभेदहरु अझै बाँकी छन् ।

अब आउने निर्वाचित नेतृत्वले ती मतभेदहरुलाई संयोजनकारी अगुवाई गर्नसक्यो भने हामी अगाडि जानेछौं । नत्र संविधान संशोधन, सुशासनको कार्यान्वयन वा कुनै पनि नाममा फेरि तनावहरु रहिराख्नेछन् ।

यो चुनाव आयोजनामा कर्मचारी प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, कुटनीतिक अंगहरु सबैले आआफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको देखिएको छ । नेपालको पत्रकारिता क्षेत्रले तत्कालीन संकटलाई रचनात्मक बैठान गर्दै शान्तिपूर्ण निकासका लागि चुनावको बाटो देखाइरह्यो । अपवादजन्य अवस्था छाड्ने हो भने, नेपाली प्रेस जगतले आफ्नो दायित्व कस्तै संकटमा पनि बिर्सेन, पछि पनि बिर्सने छैन ।

यति बेला देशमा नयाँ शक्तिको सम्भावित आगमन वा पुरानै पार्टीहरुको बर्चस्व भन्ने बहस तथा आकलन चलिरहेका छन् । साढे तीन वर्षअघि खुलेको रास्वपामा काठमाडौंका पूर्वमेयर बालेन शाहको प्रवेशले यो बहस थप तीव्र भएको छ । उनीहरु नेपालमा जमेर रहेको राजनीतिक पुस्ता तथा सोचलाई नयाँ लहरले विस्थापित गर्न चाहन्छन् ।

अर्कातिर कांग्रेस, एमाले, नेकपा लगायत दलमा छरिएका शक्तिहरु नेपाल राष्ट्रको जीवन अर्थात् सम्प्रभुता नै दाउमा पर्न लागेको त होइन भन्ने चिन्ता गरिरहेका छन् । भूराजनीतिक दाउपेच बढ्दै गएका बेला युवा पंक्तिले पर्याप्त सुझबुझ नअपनाइदेला भन्ने आशंका गर्ने पंक्ति नेपालमा ठूलै छ, जो दलविशेषभन्दा बाहिर पनि छ ।

मतगणना सकिएपछि फेरि पनि राजनीतिक पार्टीहरुले जेसुकै कदम चाल्दा संविधानलाई सर्वोपरि मान्नु अनिवार्य दायित्व हुनेछ । संविधान निर्माणको १० वर्ष पुरा भएकाले आवश्यक संशोधन र परिमार्जनको बहस स्वाभाविक अनि स्वागतयोग्य नै छ ।

विगतका ठूला आन्दोलनहरुमार्फत् नेपाली जनताका विभिन्न वर्ग, लिंग, भाषा, क्षेत्र, समुदायसमेतले व्यक्त गरेका आकांक्षालाई अझै विस्तार गर्ने शर्तमा मात्रै अब निर्वाचित भएर आउने सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरुले अघि बढ्नुपर्ने हुन्छ ।

नत्र तत्कालको मतादेशमा मात्रै बढ्ता भर परियो भने इतिहासदेखि हामीलाई प्राप्त जनादेशको उपेक्षा हुनेछ । त्यसले फेरि पनि सामाजिक तनावलाई निम्तो दिनेछ ।

यो चुनावको सफल आयोजना हुँदैगर्दा हामी अब आउने नयाँ जनादेशलाई अग्रीम स्वागत गर्न चाहन्छौं । हामी संविधानमार्फत् नेपाली नागरिकको सर्वोच्चतालाई सम्झन्छौं र सम्झाउँछौं । संसारका धेरै देशमा प्रियतावादको क्षणिक उत्तेजना चलिरहेको छ । नेपाल त्यस हावाको लहरभन्दा बाहिर आएर परिपक्व, दूरदर्शी र सुझबुझपूर्ण बाटोमा लाग्ने नै छ । त्यस मार्गचित्रको केन्द्रमा नेपाली नागरिक रहने छन् । आखिर जनताले पनि भोक, रोग, शोकविरुद्धका आकांक्षाको अभिव्यक्ति चुनावमार्फत् गरेका हुन् ।

बधाई नेपाली जनता । बधाई प्रधानमन्त्री कार्की, सांसदको दौडमा नलागी चुनावसम्म उनलाई अविच्छिन्न साथ दिनेमध्येका मन्त्रीहरु र समस्त टिमलाई । शान्ति, सुशासन र परिवर्तनको आकांक्षा यो चुनावमार्फत् आउने सरकारले साकार पार्न सकोस् । जनप्रतिनिधिहरु त्यसै मार्गचित्रलाई संवैधानिक दायराभित्र बसेर मूलमन्त्र बनाउँदै अघि बढ्न सकून् । जनताले विवेकसम्मत् निर्णय दिँदा यहाँ सधैं अतिवादले हारेको छ । यसपछि पनि हारोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?