२१ फागुन, काठमाडौं । जेनजी विद्रोहपछिको प्रतिनिधिसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण रह्यो । तर केही दृश्य यस्ता पनि थिए, जसले औपचारिक प्रक्रियाभन्दा बाहिर गएर मानवीय कथा बोले ।
बाँकेको नेपालगञ्जमा देखिएको एक दृश्य त्यस्तै थियो काखमा ६ महिनाकी छोरी र अगाडि मतदान अधिकृतको जिम्मेवारी ।
नेपालगञ्ज उपमहानगरपालिका–६ स्थित हडिया बाबा मतदान केन्द्र (क), रामनगरमा अमृता केसी बिहानैदेखि खटिएकी थिइन् । अन्य कर्मचारीझैँ उनी पनि आफ्नो काममा व्यस्त थिइन् । अगाडि कागजपत्रका चाङ थियो । तर फरक यति थियो कि उनको काखमा छ महिने छोरी पनि थिइन् ।
‘निर्वाचन नसकिएसम्म घर जान पाइँदैन । घर नजाँदा छोरीको स्तनपानको अधिकार हनन हुन्छ । त्यसैले कार्यस्थलमै ल्याएँ,’ उनले अनलाइनखबरसँग भनिन् ।
घरमा श्रीमान्, सासू–ससुरा भए पनि दुधे बच्चालाई छोडेर आउन उनको मनले मानेन । बिहान चार बजे नै छोरी बोकेर उनी मतदान केन्द्र पुगेकी थिइन् । ‘घरमा छोडेँ भने ज्यान यता हुन्थ्यो, ध्यान उतै । मातृत्वले जितेपछि काममा असर गर्नसक्थ्यो, त्यसैले आफैंसँग ल्याएँ,’ उनले भनिन् ।
उनका लागि मतदान केन्द्रमा स्तनपान कक्षको व्यवस्था गरिएको थियो । समय मिलाएर उनी काम पनि गरिरहन्थिन् र छोरीलाई स्तनपान पनि गराइरहन्थिन् । ‘मेरो श्रीमान्ले पनि सघाउनुभयो । त्यसैले दुवै जिम्मेवारी सँगसँगै पूरा गर्न सजिलो भयो,’ उनले सुनाइन् ।
पत्रकारिताबाट सरकारी सेवामा
नेपालगञ्ज निवासी अमृताको पेशागत यात्रा पनि कम रोचक छैन । १३ वर्ष सक्रिय पत्रकारिता गरेकी उनी रेडियो कोहलपुर, कृष्णसार एफएम, रेडियो २४ टेलिभिजन, राष्ट्रिय समाचार समिति जस्ता सञ्चारमाध्यममा आबद्ध रहिन् । दुई वर्षजति नेपाल वातावरण पत्रकार समूहमा र केही समय नेपाल टेलिभिजनमा पनि सक्रिय रहिन् ।
२०७८ साल साउन ३१ गते न्याय सेवातर्फ शाखा अधिकृतमा नाम निकाल्दै उनी सरकारी सेवामा प्रवेश गरिन् । पाटन उच्च अदालत, बर्दिया जिल्ला अदालत हुँदै हाल उनी उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा अधिकृतको जिम्मेवारी सम्हालिरहेकी छिन् ।
गर्वको क्षण
मतदान अधिकृतका रूपमा काम गर्दा उनीभित्र एक किसिमको गर्व र सन्तोष मिसिएको अनुभव थियो ।
‘अरूलाई दोहोरो जिम्मेवारी गाह्रो लाग्ला । तर म खुसी छु,’ उनी भन्छिन्, ‘ऐतिहासिक निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि पाएँ र छोरीको स्तनपानको अधिकार पनि हनन हुन दिइनँ ।’
काखमा छोरी राखेर मतदान अधिकृतको जिम्मेवारी निर्वाह गरेकी अमृता केसीको यो दृश्य धेरैका लागि लामो समय सम्झनामा रहिरहनेछ जहाँ कर्तव्य र मातृत्व आमनेसामने होइन, सँगसँगै थिए ।
प्रतिक्रिया 4