+
+
Shares
शान्तिपूर्ण निर्वाचन :

चुस्त सुरक्षा, ढुक्क मतदान

जेनजी आन्दोलन, त्यसपछिको परिस्थिति, सुरक्षा निकायमा पुगेको क्षति, खस्केको मनोबल, स्रोतसाधन अभाव, फरार कैदीबन्दी, लुटिएका हतियार जस्ता विषयले अहिलेको चुनाव निकै संवेदनशील मानिएको थियो । तर, सुरक्षाका हिसाबले निकै शान्तिपूर्ण र ऐतिहासिक रह्यो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ फागुन २१ गते २१:१२

२१ फागुन, काठमाडौं । ‘एक थोपा रगत नबग्ने गरी र एक जना पनि घाइते नहुने गरी निर्वाचन सम्पन्न गराउनुपर्छ ।’

१२ मंसिरमा सैनिक मुख्यालय जंगीअड्डा निरीक्षण गर्दै प्रधानमन्त्री सुशीला कार्कीले प्रधानसेनापति अशोकराज सिग्देललाई निर्देशन दिएकी थिइन् । त्यसपछि प्रधानमन्त्री कार्कीले रगत नबगाइ निर्वाचन सम्पन्न गराउने विषय पटक–पटक दोहोर्‍याइरहिन् ।

कार्कीले भनेजस्तै अहिले एक थोपा पनि रगत नबगी प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ । देशभरिका १ सय ६५ निर्वाचन क्षेत्रका १० हजार ९ सय ६७ मतदानस्थलमा उत्साहपूर्वक मतदान भयो । केहीमा सामान्य छिटपुट घटना बाहेक शान्तिपूर्ण रूपमा मतदान सकिएको छ ।

८० हजार नेपाली सेना, ७० हजार नेपाल प्रहरी, ३४ हजार सशस्त्र प्रहरी र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी गरी करिब साढे ३ लाख सुरक्षाकर्मी निर्वाचनमा खटिएका थिए ।

निर्वाचनकै लागि प्रहरी प्रधान कार्यालयमा केन्द्रीय निर्वाचन सेल र कमान्ड सेन्टर स्थापना गरिएको थियो । केन्द्रीय निर्वाचन सेलबाट सबै जिल्लास्थित निर्वाचन सेलबाट भइरहेको काम कारबाही एवं गतिविधि जानकारी लिने काम भयो ।

एसएसपी दयानिधि ज्ञवालीको कमान्डमा निर्वाचन विश्लेषण महाशाखा पनि खडा गरेर काम भएको थियो । प्रहरीका यी प्रयासबाट पनि निर्वाचन शान्तिपूर्ण बनाउन सम्भव भएको छ ।

शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन नेपाली सेना एक महिनाअघि २१ माघदेखि फिल्डमा निस्केको थियो । संयुक्त गस्तीदेखि सेनाले बख्तरबन्द गाडीमार्फत पनि गस्ती बढायो । जसले एरिया डोमिनेट गर्ने काम गर्‍यो । मनावैज्ञानिक रूपमा नागरिकमा यसले शान्ति सुरक्षा मजबुत छ भन्ने प्रभाव पार्न ठूलो भूमिका खेलेको सेनाको बुझाइ छ ।

‘बर्दी शो अफ थ्योरी अनुसार सेनाले आफ्नो उपस्थिति गाउँगाउँ पुर्‍याएको थियो, यसले निर्वाचन बिथोल्न खोज्ने र झडप गर्न खोज्नेलाई डोमिनट गर्न सहज भयो, एक महिना अघिको यो गस्ती शान्तिपूर्ण रूपमा निर्वाचन गराउन सफल भयो,’ एक सैनिक अधिकृतको बुझाइ छ ।

निर्वाचनमा ८० हजार सेना परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत बताउँछन् ।

सशस्त्र प्रहरीको भूमिका पनि उल्लेख्य रह्यो । संवेदनशील क्षेत्रमा पर्याप्त मात्रामा जनशक्ति परिचालन गरेर काम भयो ।

नेपाल प्रहरीका पूर्वएआईजी उत्तमराज सुवेदी अहिलेको यो निर्वाचन शान्ति सुरक्षाका हिसाबले ऐतिहासिक रहेको बताउँछन् ।

‘हामी सानो हुँदा पञ्चायतकालको चुनाव सुन्यौं, ३० वर्ष त प्रहरी सेवामा रहेर धेरै पटक निर्वाचन गरायौं तर यत्तिको शान्तिपूर्ण निर्वाचन भएको थिएन,’ सुवेदी भन्छन्, ‘यसलाई पनि सुरक्षाका हिसाबले ऐतिहासिक मान्छु ।’

अहिलेको विषम परिस्थिति, जेनजी आन्दोलन र त्यसबाट सुरक्षा निकायमा पुगेको क्षति, खस्केको मनोबल, स्रोतसाधन अभाव, फरार कैदीबन्दी, लुटिएका हतियार जस्ता विषयले अहिलेको चुनावलाई सुरक्षाका हिसाबले निकै संवेदनशील मानिएको थियो ।

अझ एकथरीको ‘निर्वाचन नै हुँदैन’ भन्ने भाष्य र वाह्य चलखेल पनि कारण देखाउने गरिएको थियो । तर, ती सबै भाष्य चिर्दै शान्तिपूर्ण निर्वाचन हुनलाई सुरक्षाका हिसाबले ऐतिहासिक रूपमा आफूले लिएको सुवेदी बताउँछन् ।

यो निर्वाचनले शान्ति सुरक्षाका मामलामा सुरक्षा निकायले भरपुर तयारी गरेको र आफूलाई अब्बल रहेको पुष्टि गरेको सुरक्षा जानकारहरूको बुझाइ छ ।

चार वटै सुरक्षा निकायबीच समन्वय भूमिका पनि उल्लेख्य रह्यो । एकीकृत निर्वाचन सुरक्षा कार्ययोजना २०८२ बनाएर निर्वाचन सुरक्षाको काम भइरहेको छ।

एकीकृत सुरक्षाको मुख्य नेतृत्व नेपाली सेनाले गरेको छ । अहिले पनि हरेक दिन सबै सुरक्षा निकायका निर्वाचन सेल हेर्ने सुरक्षाकर्मीहरू सैनिक मुख्यालय जंगीअड्डा पुगेर सुरक्षा विश्लेषण गर्नेदेखि रणनीति बनाएर काम गर्दै आएका छन् ।

जसले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबीच राम्रो समन्वय भएको देखिन्छ । यसको नतिजा फिल्डमै देखिएको छ । पर्सामा हिंसा भड्काउने उद्देश्यले सुँगुरका टाउका र ९ वटा सुतली बमसहित पक्राउ पर्ने व्यक्तिको सूचना नै नेपाली सेनाले नेपाल प्रहरीलाई दिएको थियो ।

सेनाको सूचना अनुसार प्रहरीले बेलैमा अपरेसन गर्दा दुर्घटना हुनबाट टरेको थियो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत एकीकृत सुरक्षा योजना बनाएर निर्वाचनपूर्व, निर्वाचन अवधि र निर्वाचनपछिको अवधि के–के गर्ने भन्ने प्रष्ट तोकेर सबैसँग समन्वय गरेर काम गर्दा निर्वाचन शान्तिपूर्ण भएको बताउँछन् ।

छिटपुट घटना

सर्लाही क्षेत्र नम्बर–४ मा पर्ने बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भयो । तर, त्यो स्थितिलाई बेलैमा सुरक्षा निकायले नियन्त्रणमा लिए । त्यसपछि मतदान सुरु भयो ।

यो क्षेत्रबाट नेपाली कांग्रेस सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंह उम्मेदवार थिए । हेभिवेट भिडन्त भएकाले सुरक्षा चुनौती निकै हुने आकलन थियो । तर, सुरक्षा व्यवस्था चुस्त रहेकाले कुनै घटना भएन ।

उदयपुर कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली पड्कियो । प्रहरी जवानले बोकेको हतियारबाट गोली पड्किँदा मतपेटिकामा क्षति भयो । ४ मत खसेको उक्त मतपत्र भने सुरक्षित रहेकाले त्यहाँ कुनै विवाद भएन र तत्कालै मतदान सुरु भयो ।

झापा जिल्लालाई सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिएको थियो । झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उम्मेदवार थिए । दुवै हेभिवेट र दुवै प्रधानमन्त्रीका दाबेदार रहेकाले पनि यहाँ सुरक्षा चुनौती रहेको विश्लेषण गरिएको छ ।

तर, विना कुनै घटना शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख तथा एसपी बसुन्धरा खड्का बताउँछिन् । केही ठाउँमा स्थानीय मतदाताले विभिन्न माग राखेर निर्वाचनमा सहभागी नभएको अवस्था बाहेक देशभरि शान्तिपूर्ण मतदान भएको छ ।

दुर्गा प्रसाईं, नेकपा बहुमत सहित विभिन्न १२ वटा समूहबाट निर्वाचन बिथोल्न सक्ने भन्दै उनीहरूमाथि सुरक्षा निकायले विशेष निगरानी राखेर काम गरेका थिए ।

बिथोल्ने समूहका केहीलाई त पक्राउ गरेर हिरासतमा समेत राखिएको छ । उनीहरूबाट पनि त्यस्तो कुनै ठूलो क्षति हुन पाएन । देशभरिबाट निर्वाचनको दिन ३० ठाउँ तर्साउन राखिएको होक्सहरू भेटिएका थिए । त्यस्ता वस्तु नेपाली सेनाले डिस्पोज गरेको थियो ।

४ राउन्ड हवाई फायरमा निर्वाचन सम्पन्न

यो निर्वाचनमा प्रहरीको बन्दुकबाट जम्मा चलेको गोली भनेको ५ राउन्ड हो । जसमध्ये एक राउन्ड असावधानीवश आफैं पड्केको थियो । जुन उदयपुर कटारीको हो । यसबाहेक प्रहरीले जम्मा ४ राउन्ड हवाई फायर गर्नुपरेको थियो ।

हरेक पटकको निर्वाचनमा हुने झडप, विवादजस्तै दोलखामा पनि यस पटक विवाद भयो । मतपत्र नै लिएर मान्छे फरार भएको र निर्वाचन कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले ४ राउन्ड हवाई फायर गरेको थियो ।

दोलखा तामाकोशी गाउँपालिका–४ गोल्मेश्वर मावि मालुमा बिहान ८:४५ बजेदेखि विवाद सुरु भयो । प्रहरीले हवाई फायर गरेपछि ९:०५ मा पुन मतदान सुरु भयो । ११:१० बजे भने नेपाली कांग्रेसले धाँधली गरेको भन्दै विवाद भयो । त्यसपछि प्रहरीले एसएलआरबाट अर्को तीन राउन्ड हवाई फायर गरेको थियो । विवाद मिलेपछि ४:३४ बजेदेखि मतदान सुरु भयो ।

हरेक निर्वाचनमा झडप हुने दोलखामा २०६४ को निर्वाचनमा त २ जनाको मृत्यु नै भएको थियो । २०७४ को निर्वाचनमा पनि एक जनाको मृत्यु भएको थियो । गोली चल्नु र घाइते हुनु दोलखाको अवस्थामा सामान्य रहेको सुरक्षाकर्मी बताउँछन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?