+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

विदेशमा ‘अबकी बार गगन सरकार’ नारा गुञ्जिएको दावी भ्रामक

हाम्रो तथ्य जाँचमा उक्त भिडियो नेपालकै सर्लाहीस्थित भरत तालमा खिचिएको पुष्टि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २ गते १७:२२

सामाजिक सञ्जालमा डुंगा सयर गर्दै ‘अबकी बार गगन सरकार’ नारा लगाइएको भिडियो विदेशको भएको दावीका साथ फैलाइएको छ । तर, हाम्रो तथ्य जाँचमा उक्त भिडियो नेपालकै सर्लाहीस्थित भरत तालमा खिचिएको पुष्टि भएको छ ।

के हो दावी ?

११ हजार फलोअर्स रहेको We want Gagan Thapa नाम गरेको फेसबुक पेजमा फेब्रुअरी १ को दिन १९ सेकेन्डको एउटा भिडियो पोस्ट भएको छ। भिडियोमा केही व्यक्तिहरु तालमा डुंगा सयर गरिरहेको देखिन्छ । उनीहरूले ‘अबकी बार गगन सरकार’ भन्दै गरेको सुन्न सकिन्छ ।

भिडियोसँगै लेखिएको पोस्टमा “विदेशमा पनि गुञ्जियो—अबकी बार गगन सरकार”उल्लेख छ । यो तथ्य जाँच गर्ने समय (फेब्रुअरी १४ दिउँसो) सम्म भिडियोमा ५ हजार ८ सय पटक रियाक्ट भएको छ भने २ सय ९१ पटक कमेन्ट र २५७ पटक सेयर भएको छ ।

हेर्नुहोस् We want Gagan Thapa नाम गरेको फेसबुक पेजबाट सार्वजनिक भिडियोको स्क्रिन रेकर्ड–

 

भिडिओको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

के हो तथ्य ?

तथ्य जाँचका क्रममा हामीले भिडियोबाट एउटा फ्रेम निकालेर गुगल रिभर्स इमेज सर्च गर्‍यौं । यसको नतिजामा @aarskaudinya टिकटक प्रयोगकर्ताले जनवरी २७ मा यही भिडियो पोस्ट गरेको भेटियो। भिडियोमा दृश्य कहाँको हो भनेर खुलाइएको छैन ।

हेर्नुहोस् @aarskaudinya ले टिकटकमा पोस्ट गरेको भिडिओको स्क्रिनसट–

भिडियोको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ

भिडियोको ‍ब्याकग्राउन्डमा केही खेल्ने ठाउँ र तालको किनारमा ढिस्को देखिन्छ । डुंगामा रहेका व्यक्तिहरुको पहिचानका लागि हामीले प्रयास गर्‍यौं । यस क्रममा ‘अबकी बार’ नारा लगाउने व्यक्ति नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी रहेको पहिचान भयो ।

त्यसपछि हामीले अधिकारीलाई सम्पर्क गर्‍यौं । हामीसँगको कुराकानीमा उनले यो सर्लाहीको वागमती नगरपालिकामा रहेको भरत तालको रहेको बताए । आफ्नो भिडियोलाई केही व्यक्तिले डाउनलोड गरेर विदेशको भनेर पोस्ट गरेको आफूले पनि सामाजिक संजालमा देखेको उनले नेपालतथ्यजाँचलाई बताए ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष अधिकारीले भिडियो भरत तालको भएको जानकारी दिएपछि हामीले थप पुष्टिका लागि ‘भरत ताल’ किवर्ड प्रयोग गरेर गुगल एड्भान्स सर्च गरेर हेर्‍यौं । यसको नतिजामा भाइरल भिडियोमा जस्तै इकान्तिपुर डटकमले सार्वजनिक गरेको फोटोफिचरमा पनि तालको किनारामा झण्डाको दृश्य देखियो ।

हेर्नुहोस् भिडियोको फ्रेममा देखिएको र कान्तिपुरले पोस्ट गरेको फोटोफिचरको स्क्रिनसट–

इकान्तिपुर डटकममा प्रकाशित फोटो फिचरको ओरिजिनल लिंक यहाँ छ भने अर्काइभ लिंक यहाँ छ ।

त्यसपछि हामीले ‘भरत ताल’ कीवर्ड प्रयोग गरेर युट्युबमा पछिल्ला भिडियो खोज्यौं । नतिजामा Vlog Wala Ravi युटुब च्यानलमा भरत तालको भ्लग भिडियो २०२६ फेब्रुअरी १४ को दिन सार्वजनिक गरेको भेटियो । भिडिओको ५३ सेकेन्डपछिको फुटेजमा भाइरल फुटेजमा जस्तै खेल खेल्ने ठाउँ र तालको किनारामै रहेको ढिस्को ठ्याक्कै मिलेको देखिन्छ ।

हेर्नुहोस् Vlog Wala Ravi युटुब च्यानलमा पोष्ट भएको भिडियोको स्क्रिन सट

युटुब च्यानलको ओरिजिनल लिंक यहाँ छ । भने अर्काइभ लिंक यहाँ छ

तथ्य जाँच

दावी : ‘अबकी बार गगन सरकार’ भनेर विदेशमा पनि नारा गुञ्जिएको दावीसहितको भिडियो ।

दावीकर्ता : We want Gagan Thapa नामको फेसबुक पेज ।

तथ्य/निश्कर्ष : भ्रामक सूचना। “विदेशमा पनि गुञ्जियो अबकी बार गगन सरकार” शीर्षकसहित भाइरल बनाइएको भिडियोको दाबी भ्रामक हो। भिडियोको फ्रेम विश्लेषण, रिभर्स इमेज सर्च, खुला स्रोत सामग्रीसँग दृश्य तुलना तथा प्रत्यक्ष स्रोतसँग गरिएको पुष्टिबाट उक्त भिडियो विदेशमा नभई सर्लाही जिल्लाको बागमती नगरपालिकास्थित भरत तालमा खिचिएको पुष्टि भएको छ । भिडियोमा नारा लगाइएको घटना वास्तविक भए पनि त्यसको स्थानबारे सन्दर्भ परिवर्तन गरेर प्रस्तुत गरिएको छ, जसले दर्शकलाई यो दृश्य विदेशमा भएको भन्ने गलत निष्कर्षमा पुर्‍याउँछ। त्यसैले, विदेशमा उक्त नारा गुञ्जिएको भन्ने दाबी तथ्यसँग मेल खाँदैन ।

–अनलाइनखबर र नेपालफ्याक्टचेकको सहकार्य

(सामाजिक सञ्जालमा कुनै फोटो, भिडियो वा पोस्ट देखेर शंका लाग्यो भने त्यसको लिङ्क हामीलाई ह्वाट्सएपमा पठाउन क्लिक गर्नुस्। हामी सम्भव भएसम्म तथ्य जाँच गर्नेछौं ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?