News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालीले टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा इंग्ल्यान्ड र इटलीसँग लगातार दुई हार बेहोरेपछि यात्रा कठिन मोडमा पुगेको छ।
- प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालले खेलबाट ध्यान भड्काउने र खेलाडीले यसको प्रयोग कम गर्नुपर्ने बताएका छन्।
- नेपालले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ र नेट रनरेटमा पछि भएकाले राम्रै अन्तरले जित्नुपर्नेछ।
२ फागुन, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा लगातार दुई हार बेहोरेपछि नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा अब कठिन मोडमा पुगेको छ ।
१२ वर्षदेखिको जितको खडेरी तोडिन नसक्दा नेपाली टोली समूह चरणबाटै बाहिरिने संघारमा पुगेको हो । इंग्ल्यान्डविरुद्ध शानदार प्रदर्शन गरेर पनि झिनो हार बेहोरेको नेपाली टोली इटलीविरुद्ध भने अनपेक्षित रूपमा एकपक्षीय हारको शिकार बनेको थियो ।
इंग्ल्यान्डसँगको खेलले उत्साहित बनेका नेपाली समर्थक इटलीसँगको हारपछि भने निकै निराश बनेका थिए । नेपाली खेलाडी पनि अनपेक्षित हारपछि अनुहार मलिन बनाउँदै मैदानबाट बाहिरिएका थिए ।
नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट लले यी दुई हारबीचको अन्तर पत्ता लगाउनुपर्ने कुरा बताइसकेका छन् । शनिबार आयोजित प्रि-म्याच प्रेस कन्फेरेन्समा प्रशिक्षक लले यस्तो बताएका हुन् ।
‘पहिलो खेलमा इंग्ल्यान्डसँग जितको नजिक पुगेर हारेका थियौं, दोस्रो खेलमा इटलीसँग टेरिबल म्याच भयो । यो दुई हारबीचको अन्तर पत्ता लगाउनुपर्छ’ प्रशिक्षक लले भने ।
नेपाली टोलीको प्लेअफ पुग्ने झिनो सम्भावना मात्र बाँकी छ । त्यसकारण अब दुवै खेल जित्नैपर्ने दबाब समेत छ ।
प्रशिक्षकलाई अर्कै छ चिन्ता

नेपाली टोलीका प्रशिक्षक स्टुअर्ट ल भने अर्कै विषयलाई लिएर चिन्तित छन् । उनले शनिबार आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा सामाजिक सञ्जालले खेलबाट ध्यान अन्तै भड्काउने टिप्पणी गरेका थिए ।
इंग्ल्यान्डसँग समूह चरणको पहिलो खेलमा शानदार प्रदर्शन गरेपछि नेपाली टोलीको चौतर्फी प्रशंसा भएको थियो, त्यसमाथि पनि सामाजिक सञ्जालमा धेरै नै चर्चा भएको थियो ।
उनले सामाजिक सञ्जाल अनि खेलाडीको प्रदर्शनबारे टिप्पणी गर्दै खेलाडीले सामाजिक सञ्जालको प्रयोग गर्दा मैदानको प्रदर्शनमा नै असर पुगेको बताएका छन् ।
‘नेपालमा सामाजिक सञ्जाल एउटा ठूलो हिस्सा हो भन्ने म बुझ्छु । मेरो लागि सामाजिक सञ्जाल ठूलो ड्रिस्ट्राक्सन हुन सक्छ’ प्रशिक्षक लले प्रेस कन्फेरेन्समा भने ।
लले आवश्यकता भन्दा धेरै समय सामाजिक सञ्जालमा ध्यान दियो भने यसले आफ्नो काममा नै असर पर्ने समेत बताए । ‘यदि हामी टोलीको आवश्यकता र खेल भन्दा बढी सामाजिक सञ्जालमा मानिसहरूले के भनिरहेका छन् भन्ने कुरामा ध्यान दिन्छौं भने, हामी आफ्नो कामबाट विचलित हुन्छौं’ लले भनेका थिए ।
नेपाली खेलाडीहरू पनि सामाजिक सञ्जालमा बढी नै सक्रिय देखिन्छन् । टी-२० विश्वकपकै समयमा नेपाली खेलाडीहरूले बाहिर घुमेको तस्बिरहरू पनि सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
यसबारेमा कप्तान रोहित पौडेलले भने त्यो व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताएका थिए । ‘यो प्रत्येक व्यक्तिको अनुभवमा भर पर्छ जस्तो लाग्छ । केही खेलाडीहरूले सामाजिक सञ्जाल हेर्छन्, केहीले हेर्दैनन् । त्यसैले यो पूर्ण रूपमा व्यक्तिगत कुरामा निर्भर गर्छ’ रोहितले भनेका थिए ।
नेपाली टोलीको खराब प्रदर्शनसँग सामाजिक सञ्जालको विषय पनि जोडिएपछि यसलाई गम्भीर रूपमा हेरिएको छ ।
वेस्ट इन्डिजविरुद्ध जित्नैपर्ने दबाब

अब बाँकी दुई खेल नेपालका लागि जित्नैपर्ने दबाब छ । त्यतिले मात्र नपुगेर अन्य नतिजामा पनि भर पर्नुपर्नेछ किनभने शनिबार हुने इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेलपछि यी दुईमध्ये एक टोलीको ४ अंक हुने पक्का छ ।
वेस्ट इन्डिज पहिल्यै ४ अंकमा छ। नेपालको पनि अधिकतम ४ अंक मात्र पुग्न सक्छ । नेपाल नेट रनरेटमा पनि पछाडि देखिएका कारण सामान्य जितले मात्र पनि पर्याप्त नहुन सक्छ ।
नेपालका लागि समिकरण सिधा छ, बाँकी दुई खेल जित्नैपर्ने छ त्यो पनि अलि राम्रै अन्तरले । वेस्ट इन्डिज र स्कटल्यान्डलाई हराएपछि नेपालको ४ अंक हुनेछ ।
यस्तोमा स्कटल्यान्डले इंग्ल्यान्डलाई हराएर ४ अंक हुँदा इंग्ल्यान्डले इटलीलाई पराजित गर्दा उसको पनि ४ अंक हुनेछ । वेस्ट इन्डिज नेपालसँग पराजित भएर इटलीलाई हराएमा उसको ६ अंक हुनेछ ।
यस्तो अवस्थामा नेपाल, इंग्ल्यान्ड र स्कटल्यान्डको समान ४ अंक हुनेछ र नेटरनरेटमा अगाडि हुने टोली शीर्ष २ मा पर्न सक्छ । यही एउटा समिकरणले मात्र नेपाल सुपर ८ मा पुग्न सक्छ ।
यो समिकरण कठिन भएपनि असम्भव भने छैन । टी-२० खेलमा कुनैपनि टिमलाई कमजोर आँकलन गर्न नसकिने भएकाले अनपेक्षित नतिजाहरू आउन सक्छन् ।
नेपाल आइतबारको खेलमा वेस्ट इन्डिजसँग पराजित भएमा स्वत: बाहिरिनेछ ।
नेपाली टोलीका प्रशिक्षक लले प्रि म्याच कन्फेरेन्समा वेस्ट इन्डिज धेरै राम्रो टिम भएको र धेरै राम्रो खेल प्रदर्शन गर्नुपर्ने बताएका छन् । ‘अब बाँकी दुई खेल जित्नेबारेमा नै सोच्नुपर्छ, नत्र त झोला प्याक गरेर घर फर्किनेबाहेक विकल्प छैन’ प्रशिक्षक लले भनेका थिए ।
प्रशिक्षकले नतिजामा भन्दा पनि प्रदर्शनमा केन्द्रित रहेको बताएका छन् । ‘म नतिजामा धेरे केन्द्रित छैन, एफर्टमा केन्द्रित छु’ प्रशिक्षक लले भनेका छन् ।
यस्तै वेस्ट इन्डिजका बलर अकिल होसेनले नेपाली टिमको क्षमताबारे जानकार रहेको र यो खेललाई विश्वकपको अर्को एक खेलको रूपमा नै लिने बताए ।
‘नेपालको क्षमता के हो र नेपालले के गर्न सक्छ भन्ने बारे हामी राम्रोसँग जानकार छौं’ गत सेप्टेम्बरमा शारजाहमा भएको टी-२० अन्तर्राष्ट्रिय सिरिज र अहिले टी-२० विश्वकप खेलिरहेको नेपाली टिमबीचको फरकबारे सोधिएको प्रश्नमा होसेनले भने ।
प्रतिक्रिया 4