News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका मुख्य प्रशिक्षक स्टुअर्ट लले सामाजिक सञ्जालले खेलाडीहरूको ध्यान भंग गरिरहेको भन्दै त्यसबाट टाढा रहन आग्रह गर्नुभएको छ।
- लले इंग्ल्यान्डसँगको खेलपछि इटलीसँगको हारमा सामाजिक सञ्जालको प्रभाव रहेको बताउनुभएको छ र क्रिकेटमा केन्द्रित हुनुपर्ने जोड दिनुभएको छ।
- लले सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभावबारे सिक्दै खेलाडीहरूसँग सन्तुलित बाटो खोज्ने प्रयास गरिरहेको उल्लेख गर्नुभएको छ।
२ फागुन, मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध महत्वपूर्ण प्रतिस्पर्धा अघि नेपालका मुख्य प्रशिक्षक स्टुअर्ट लले खेलाडीहरूको सामाजिक सञ्जाल प्रयोग विषयमा बोल्ड स्टेटमेन्ट दिँदै सामाजिक सञ्जालले ध्यान भंग गरिरहेको बताएका छन् ।
टी-२० विश्वकप २०२६ को समूह सी मा रहेको नेपालले सुरुवाती दुई खेलमा पराजित भयो तर नेपालको हार फरक खालको थियो । पहिलो खेलमा दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्यान्डलाई कडा चुनौती दिएको नेपाल जम्मा ४ रनले मात्र पराजित भएको थियो ।
यो हारमा पनि संसारभरबाट नेपालले राम्रो खेलेको भन्दै प्रशंसा भयो । तर त्यसको चार दिनपछि नै नेपाल यसै विश्वकपमा डेब्यू गर्ने र वरियतामा १० स्थान तल रहेको इटलीसँग १० विकेट ले पराजित भयो । यो हारपछि भने नेपाली टिम र खेलाडीहरू मात्र होइन सम्पूर्ण क्रिकेट समर्थक पनि निराश बने भने पहिले जसले नेपालको तारिफ गरे उनीहरू पनि एक हिसाबले आश्चर्यमा परे ।
दुई हार तर फरक शैली र निराशा । अविश्वसनिय हारपछि शनिवार प्रि म्याच प्रेस कन्फ्रेन्समा उपस्थित भएका मुख्य प्रशिक्षक स्टुअर्ट ललाई इंग्ल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शनपछि इटालीसँगको खेलमा आएको प्रदर्शनमा किन अन्तर आयो? भनेर सोधिएको थियो । त्यसमा लले जवाफ दिँदै सामाजिक सञ्जालको प्रयोग देखि यसमा भएको चर्चा लगायत विषयमा बोल्ड टिप्पणी गरेका हुन् ।
लले खेलाडीहरूलाई सामाजिक सञ्जालबाट ध्यान भंग हुने भन्दै त्यसबाट टाढा रहन आग्रह गरेका छन् । ‘हामीले अहिले सोच्नुपर्ने कुरा भनेको इंग्ल्यान्डसँगको खेलपछि इटलीसँग खेलसम्म किन यति ठूलो अन्तर आयो भन्ने हो,’ उनले भने, ‘नेपालमा सामाजिक सञ्जाल संस्कृति ठूलो छ । तर मेरो विचारमा यसले ठूलो ध्यान भंग गर्न सक्छ ।’
लले यदि खेलाडीहरूले सामाजिक सञ्जालमा आउने प्रतिक्रिया र प्रशंसामा बढी केन्द्रित हुँदा टोली, सहकर्मी र खेलले के माग गरिरहेको छ भन्ने कुराबाट टाढा पुग्ने सक्ने बताए । ‘यदि तपाईं सामाजिक सञ्जालमा मानिसहरूले के भनिरहेका छन् भन्नेमा केन्द्रित हुनुभयो भने तपाईं आफ्नो वास्तविक कामबाट विचलित हुनुहुन्छ’ लले स्पष्ट रुपमा भने ।
प्रशिक्षक लले यो विषयलाई कठिन भन्दै खेलाडीहरू प्रायोजनहरू निर्भर भएको बताए तर विश्वकप जस्तो ठाउँमा खेल नै प्राथमिकतामा हुनुपर्ने कुरा जोड दिए ।
‘यो कठिन विषय हो, किनकि धेरै खेलाडीहरू प्रायोजन र एन्डोर्समेन्टका लागि सामाजिक सञ्जालमा निर्भर हुन्छन् । तर विश्वकपजस्तो प्रतियोगितामा क्रिकेट नै मुख्य कुरा हो’ लले थप अगाडि भने, ‘मैले उनीहरूलाई बुझाउने प्रयास गरें कि यदि हामीले क्रिकेटमा लगातार जितिरह्यौं भने तपाईंहरूको लाइक र फलोअर स्वतः बढ्छ । अनुहार देखाइरहनु जरुरी छैन । यदि क्रिकेट नेपाल अगाडि बढिरहेको छ र हामी जितिरहेका छौं भने सामाजिक सञ्जालमा तपाईंहरूको आकर्षण स्वतः चुलिन्छ’ लले भने ।

पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली खेलाडीहरू मुम्बई कोलाबास्थित इन्डिय गेट घुम्न आएका थिए । त्यसपछि नेपाली टोलीका ओपनर कुशल भुर्तेल र सन्दिप जोराको सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । नेपालको प्रदर्शन देखि खेलाडीहरूको चर्चा लगायत सबै कुरा सामाजिक सञ्जालमै चर्चा भइरहेको छ ।
शनिबार प्रेस कन्फेरेन्समा मुख्य प्रशिक्षक ल ले पनि फरक प्रश्नमा सामाजिक सञ्जालमा भएको चर्चामै विषयमा बोल्ड स्टेमेन्ट दिएका हुन् ।
प्रशिक्षक ल भन्दा अघि नेपालका कप्तान रोहित पौडेलले पनि यो विषयमा छोटो भनाई राखेका थिए । तर त्यो बेला भने रोहितलाई सामाजिक सञ्जालकै विषयमा सोधिएको थियो । इटलीसँगको खेलअघि प्रि म्याच कन्फेरेन्समा एक पत्रकारले खेलाडीले सामाजिक सञ्जाल प्रयोग गरेको विषयमा नेपालका कप्तान रोहित पौडेललाई प्रश्न सोधेका थिए । रोहितले यो व्यक्तिगत विषय भएको भन्दै खासै धेरै टिप्पणी गर्न चाहेनन् । रोहित आफैँले पनि नेपालको दुवै खेलअघि ब्याटमा स्पोनरको नाम देखिएको फोटो पोष्ट गरेका थिए ।
मुख्य प्रशिक्षक ले ले भने आफू सामाजिक सञ्जालको मामिलामा ‘पुरानो पुस्ताको मान्छे’ भएको उल्लेख गर्दै यसको सकारात्मक प्रभावबारे सिक्दै गरेको बताए । ‘मेरो लागि यो फरक र कठिन छ किनभने सामाजिक सञ्जालमा म डाइनोसर जस्तै हो, म यो बुझ्दिन । म यसको प्रभाव बुझ्दिन । नकारात्मक प्रभाव बुझ्छु, तर सकारात्मक प्रभाव पूरै बुझिरहेको छैन । त्यसैले म यसबारे बुझ्दै खेलाडीहरूसँग सन्तुलित बाटो खोज्ने प्रयास गरिरहेको छु,’ उनले भने ।
प्रशिक्षक लले क्रिकेटमा केन्द्रित हुने कुरा मुख्य भएको र बाँकी सबै ननसेन्स भएको पनि बताए । ‘मैले यसबारे आज खेलाडीहरूलाई पनि भनेको छु । यसलाई (सामाजिक सञ्जाल) क्रिकेटबाट टाढै राख्नुस्, क्रिकेट भन्दा बाहिर गएर गर्नुस’ उनले खेलाडीहरूलाई स्पष्ट सन्देश दिँदै भने, ‘क्रिकेटमा हुँदा क्रिकेटमै ध्यान दिनुस् ।’
प्रशिक्षक लले इंग्ल्यान्डलाई लगभग हराउने नजिक पुगेको खेलपछि विश्वभरबाट आएको प्रशंसाले टोलीलाई मानसिक रूपमा असर पारेको संकेत पनि दिए । ‘इंग्ल्यान्ड झण्डै हराउँदा विश्वभरबाट नेपालको बारेमा धेरै प्रशंसा भयो । त्यो प्रशंसा सुन्न राम्रो हो, तर हामीले खेल हारेको कुरा पनि सम्झनुपर्छ र उच्च क्षणबाट चार दिनमै चरम निराशामा झर्नु मानसिक दृढता होइन,’ उनले भने ।
‘यसले तपाईँको टिमप्रति, राष्ट्रप्रति र परिवारप्रति र टिमप्रतिको प्रतिव्दधताको कमी देखाउँदैन ।’
वेस्ट इन्डिजविरुद्धको तेस्रो खेल अघि नेपालले मानसिक दृढता र केन्द्रित प्रदर्शन देखाउनुपर्ने चुनौती छ । विश्वकपजस्तो मञ्चमा निरन्तरता कायम राख्न सामाजिक सञ्जाल र बाह्य प्रशंसाभन्दा मैदानको प्रदर्शनलाई प्राथमिकता दिनुपर्ने सन्देश प्रशिक्षक लले स्पष्ट रूपमा दिएका छन् ।
ल ले यी अब सकारात्मक संवादबाट यी विषयहरूलाई सम्बोधन गर्नुपर्ने पनि बताएका छन् ।
“हामीले यो कुरा बुझ्न आवश्यक छ कि हामीले यसलाई अझ राम्रो तरिकाले गर्नुपर्छ। यसलाई कसरी सम्बोधन गर्ने भनेर राम्रो संवाद र सकारात्मक आवश्यक छ । तर केवल ‘यो गर्न पाइँदैन’ भनेर मात्र भन्नु हुँदैन । बरु कहिले र कसरी गर्ने भन्ने सही समय छनोट गरेर उचित तरिकाले गर्नुपर्छ” लले भनेका छन् ।
प्रतिक्रिया 4