२ फागुन, सुनसरी । धरान रंगशालमा शनिबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौंले हात पारेको छ ।
फाइनल खेलमा उपाधि लागि प्लानिङ ब्याइजका प्रतापसिंह राईले खेलको दोश्रो हाफको १८ औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक भएको थियो ।
प्रतिस्पर्धापूर्ण खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई १–० गोलले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । चर्च ब्वाइज २५ औँ संस्करणको उपविजेता टोली थियो ।
उपाधिसँगै प्लानिङ ब्याइजले नगद १० लाख रुपैयाँ पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता चर्च ब्याइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
रोमाञ्चक प्रतिस्पर्धामा प्लानिङ ब्याइजले सुरुदेखि नै आक्रामक रणनिति अपनाएर मैदानमा उत्रेको थियो । चर्च ब्वाइज क्लबले गोल फर्काउने प्रयास गर्दागर्दै असफल भएपछि उपविजेता मै सीमित हुन पुगेको थियो ।
खेलको म्यान अफ द म्याच प्लानिङका प्रताप सिंह राई घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
प्रताप सिंह राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले स्कुटर हात पारे ।
अन्य व्यक्तिगत विधातर्फ पनि प्लानिङ ब्याइजले वर्चस्व कायम गरेको छ । हाई स्कोर प्लानिङका प्रताप सिंह राई, झापा ११ का खेलाडीद्व्रय राजेश दाहाल, एरोन थापामगर घोषित भए । उनीहरूले दुइदुइ गोल गरेका थिए । उनीहरूलाई दामसाही १२/१२ हजार प्रदान गरिएको थियो ।
प्रतियोगिताको वेस्ट गोल किपर प्लानिङका योगेश धिमाल, वेस्ट डिफेन्डर प्लानिङका निनुङमा घिसिङ, वेस्ट मीड फिल्डर चर्च ब्याईजका रोहन कार्की, वेस्ट स्ट्राइकर चर्च ब्याईजका अव्यमी फकिनले, वेस्ट कोच प्लानिङका सञ्जीत सिंह, हाईस्कोरर प्रताप सिंह राई घोषित भए । उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।
उक्त अवसरमा बुढासुव्वा गोल्ड कप प्रतियोगिताभरि उत्कृष्ट समाचार लेखेवापत कपुरी न्युजकी पत्रकार रश्मी प्रधानलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । उनले नगद ११ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरिन् । विजेता र उपविजेता टिमका खेलाडीहरुलाई आयोजक धरान फुटबल क्लवका अध्यक्ष प्रताप तामाङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, एन्फा महासचिव किरण राई, कोशी प्रदेश सांसदद्वय रमेश बस्नेत, विजयकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतिक्रिया 4