+
+

ली खछ्याङको अनुपस्थिति सी जिनपिङका लागि किन छ खतरा ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १६ गते १७:१९

१६ कात्तिक, काठमाडौं। ६ दिनअघि निधन भएका चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको बिहीबार अन्तिम विदाइ गरिएको छ ।

दशकसम्म चीनमा प्रधानमन्त्री बनेका अर्थविद् खछ्याङको निधनका कारण चीन राष्ट्रिय शोकमा छ । यो राष्ट्रिय शोकलाई शक्तिमा बदल्न राष्ट्रपति सी जिनपिङले सबैलाई आग्रह गरेका छन् । तर खछ्याङको निधन स्वयम् सीका लागि संकट हुनसक्ने विश्लेषण भइरहेको छ ।

माओ त्सेतुङको निधनपछि चीनमा मच्चिएको राजनीतिक हलचलझैँ यसपटक पनि हलचल मच्चिन सक्ने आकलन भइरहेको छ । २८ वर्षको उमेरमा चिनियाँ कम्युनिस्ट पार्टीमा स्थान बनाएका उनी दशकसम्म प्रधानमन्त्री भएर ६८ वर्षको उमेरमा संसारबाट विदा भए । उदार र व्यवहारवादी प्रधानमन्त्रीका रुपमा ख्याती कमाएका लीले सम्पत्तिको खाडल घटाउने कदम चाल्दै उनले आवासलाई सर्वसुलभ बनाएका थिए ।

मानिसहरु उनलाई गुमाएकामा मात्रै नभएर उनको अनुपस्थितिमा चीनले धेरै गुमाउन सक्ने चिन्ताका कारण थप शोकमा रहेको जानकारहरु बताउँछन् ।

अब निम्तिन सक्ने संकटप्रति चीन सचेत भइसकेको छ । स्थिरता नभत्कियोस् भन्नका निम्ति चीन थप चनाखो बनेको छ । बन्देज रहेका प्रविधि भीपीएनमार्फत पनि चल्न नदिन चीन थप सतर्क छ ।

दोस्रो वरीयताका लोकप्रिय नेता लीको निधनपछि सामाजिक सञ्जालमा सी प्रशासनको आलोचना नहोस् भन्नेमा चिनिँया कम्युनिस्ट पार्टी असाध्यै सतर्क छ ।

प्रधानमन्त्रीबाट हटेको एक महिनामै हृदयघातका कारण उनी बिते । उनको निधनसँगै सीको भन्दा पृथक शैलीमा चीनलाइ अघि बढाउनुपर्ने मान्यता र प्राथामिकता पनि सकिएको आभास धेरैले गरेका छन् । इन्जिनियरको वर्चश्व भएको पार्टीमा उनी अर्थविद् थिए । सिद्धान्तमा कम र व्यवहारमा ज्याद विश्वास गर्थे । त्यसैले सात सदस्यीय पोलिट्ब्यूरो स्थायी कमिटीमा उनी एक्लोझैँ हुन्थे । उनी सीका गलत नीतिको प्रखर रुपमा विरोध समेत गर्थे ।

कोभिडकालमा सीले लागू कोभिड विरुद्धको शून्य सहनशीलताको नीतिका कारण अर्थतन्त्र धरासायी बन्ने बताएका थिए । उनी त्यसको विपक्षमा थिए । कोरोनाको पहिलो लहरमा उनले चीनको अर्थतन्त्रलाई स्थिर बनाउनका लागि रोजगारी सिर्जनाको क्षमता बढाउने नीति लिएका थिए । उनी सडक व्यापारीहरुकोमा पुग्थे । व्यापार ठप्प हुँदा समेत उनले व्यापारीलाई हौसला दिइरहेका थिए ।

सडक व्यापारीहरुले नै अर्थतन्त्रमा टेवा पुर्‍याउने भन्दै उनीहरुलाई डाढस दिन्थे । उनकै कारणले बेइजिङका सहरमा व्यापारको प्रतिबन्ध तोड्दै व्यापारीहरु सडकमा देखिए । राष्ट्रपतिको नीति विपरीत व्यापारी सडकमा आएपछि बेइजिङ डेलीले ‘सडक व्यापारीहरु अस्वच्छ र असभ्य’ शीर्षकमा टिप्पणी देख्यो । अन्य मिडियाले पनि त्यसलाई पछ्याए ।

प्रधानमन्त्रीको नीतिलाई स्थानीय सरकारले टेरेनन् । प्रधानमन्त्रीका ढाडसका कारण सडकमा आएका व्यापारीलाई उनीहरुले फेरि प्रतिबन्ध लगाए । यसलेनै प्रधानमन्त्रीको शक्ति र हैसियत निरीहझैँ भनेको संकेत दिएको थियो । हु जीन तावको पालामा सामूहिक नेतृत्वको अवधारणामा चीन चल्थ्यो । सीको पालामा चीन भनेकै सी र सी भनेकै चीन रहेको स्थिति छ ।

ली पार्टीको नारालाई चर्काउने भन्दा पनि व्यापारिक गतिविधि बढाउनेतर्फ अग्रसर थिए । कुटनीतिमा पनि उनी अब्बल थिए । ली र सी सँगसँगै पार्टीमा आएका थिए । कुनै समय लीले पनि आफूलाई महासचिवको दाबेदार ठानेका थिए ।

ली सर्वोच्च नेता भएको खण्डमा चीनले झेलिरहेको वर्तमान संकट नआउने विश्लेषण धेरैले गरिरहेका छन् । अर्थतन्त्रमा संकटको बादल मडारिएकै बेला कुशल अर्थविद् अनुपस्थित छन् । यस्तो अवस्थामा सीलाई संकट पर्नसक्ने आँकलन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?