
१७ कात्तिक, काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफामा ३१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले तीन महिनामा १ अर्ब १५ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ । जबकि गत वर्षको यस अवधिमा ८७ करोड ४१ लाख रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानीमा आएको वृद्धि तथा लोन लस प्रोभिजनमा आएको कमीले नाफामा उल्लेख्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड रुपैयाँ बराबर रहेकोमा यो त्रैमासमा १ अर्ब ९९ करोड पुगेको छ । फी, कमिसन शुल्कवापतको आम्दानी पनि बढेको छ ।
बैंकको लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) भने २१ करोड ६६ लाख रुपैयाँ छ । गत वर्षको पहिलो त्रैमासमा यो ३८ करोड ८५ लाख रुपैयाँ बराबर थियो । बैंकको समग्र नाफा बढ्दा प्रतिसेयर आम्दानी भने बढेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा छ । यसअघि गत वर्षको यो अवधिमा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७४ पैसा थियो ।

बैंकको निष्क्रिय कर्जा भने बढेको छ । गत वर्षको असोज मसान्तसम्म कुल कर्जामा यस्तो कर्जा १.८० प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म ३.६७ प्रतिशत पुगेको छ ।
त्यस्तै बैंकको आधार दर १०.६४ प्रतिशत छ । आधार दरमा बैंकहरुले निश्चित प्रिमियम थपेर कर्जा दिने गर्छन् । आधार दर कम भएको बैंकको ब्याजदर सामान्यतः कर्जा लिनेलाई सस्तो पर्न जान्छ ।
बैंकको सीडी रेसियो ८३.२१ प्रतिशत छ । निक्षेप तथा कर्जाको औसत ब्याजअन्तर (स्प्रेडदर) ३.९० प्रतिशत छ । हाल बैंकको सेयर मूल्य प्रतिकित्ता १८१ रुपैयाँ छ । यस आधारमा बैंकको मूल्य आम्दानी अनुपात पीई रेसियो ७.६ मात्रै छ ।
प्रतिक्रिया 4