१७ कात्तिक, काठमाडौं । सिद्धार्थ बैंकको नाफामा ९१ प्रतिशतले कमी आएको छ ।
बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४९ करोड ८२ लाख रुपैयाँ बराबर खुद नाफा कमाएकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड २८ लाख रुपैयाँ मात्रै कमाएको छ ।
एकातिर खुद ब्याज आम्दानीमा कमी आउनु र अर्कोतिर बैंकले समयमै ऋणीबाट ऋण रकम उठाउन नसकेपछि सो वापत लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढ्न जाँदा नाफामा उच्च गिरावट देखिएको छ ।
बैंकको इम्पेरिमेन्ट चार्ज नै १ अर्ब ४२ करोड पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम ८९ करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले २ अर्ब १२ करोड खुद ब्याज आम्दानी गरेकोमा यो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ९६ मात्रै भएको छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी जम्मा १ रुपैयाँ १९ पैसामा झरेको छ । गत वर्षको यस अवधिमा १५ रुपैयाँ ६१ पैसा थियो ।
बैंकले समयमा उठाउन नसकेको कर्जा रकम (निष्क्रिय कर्जा) पनि बढेको छ । यस्तो कर्जा रकम कुल कर्जामा ३.४४ प्रतिशत पुगेको छ जबकि गत वर्षको पहिलो त्रैमासमा २.१५ प्रतिशत मात्रै थियो ।
बैंकको इक्विटीमा वार्षिक प्रतिफल (आरओई) जम्मा ०.६७ प्रतिशत मात्रै छ ।
प्रतिक्रिया 4