+
+
निर्देशक निश्चल बस्नेतसँग संवाद :

‘फिल्मको पहिलो धर्म भनेकै मनोरञ्जन प्रदान गर्नु हो’

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १७ गते १४:५९

काठमाडौं । निर्देशकको रुपमा निश्चल बस्नेत ६ वर्षपछि फिल्म ‘दिमाग खराब’बाट पुनरागमन गर्दैछन् । घरेलु फिल्मको कथा वाचन र बजारशैलीमा ‘ट्रेन्डसेटर’ ‘लुट’बाट उदाएका बस्नेतको आगामी फिल्म प्रतीक्षित छ । सामाजिक मुद्दालाई आफ्नो स्टाइलको कथा वाचनमा भन्न सिपालु उनी समसामयिक राजनीति र सामाजिक बेथितिप्रति आक्रोशित सुनिन्छन् । जुन ‘दिमाग खराब’को केन्द्रीय कथावस्तु हो ।

‘लुट’मा समाजको डकैती दर्शाएका उनले ‘दिमाग खराब’मा आममान्छेको आँखाबाट व्यवस्था र शक्तिलाई प्रश्न सोधेका छन् । अनलाइनखबरकर्मी विष्णु शर्मासँग उनले फिल्म, निजी अनुभव र फिल्मको प्रभावबारे कुरा गरेका छन् :

लुट’ र ‘दिमाग खराब’बीच कत्तिको समानता छ ? ‘दिमाग खराब’भित्र कत्तिको ‘लुट’ छ ?

‘लुट’ चाहिं म आफूलाई फिल्ममेकर हो भनेर प्रमाणित गर्न बनाउन खोजेको थिएँ । ‘दिमाग खराब’ बनाउँदा पनि चाहना लगभग त्यही छ । मैले बनाएको फिल्मले केही चीज बोल्छ है भनेर आफैंलाई भन्न मन छ । ‘लुट’ बनाउँदा त्यतिखेर नेपाली फिल्म जुन हिसाबले बनिराख्या थियो, मैले नेपाली फिल्म यसरी पनि बन्नुपर्छ नि त भनेर भन्न मन लाग्या थियो । अहिलेको समयमा आउँदाखेरि नेपाली फिल्म राम्रो पनि बनाउनुपर्छ है अहिलेसम्मको अनुभव मिसाएर भन्ने चीज नै छ । खासमा दुवै फिल्मका समानता यी हुन् ।

भिन्नता भनेको अप्रोच नै हो । त्यो फिल्मलाई लिने अप्रोच । ‘लुट’ पनि त्यतिबेलाको समसामयिक कथामै थियो । त्यतिबेला चोरी र लुटपाट, बैंक लुट्ने न्युज धेरै आउँथ्यो । त्यही न्युजकै आधारमा मैले केही स्टोरी उठाएको थिएँ त्यतिबेला । ‘दिमाग खराब’मा पनि समसामयिक विषय नै छ । मुलुकमै भएका घटनाले मलाई प्रेरित गरेका हुन् कि यो फिल्म यसरी बनाउनुपर्छ भनेर । ट्रेलरमा पनि तपाईंले चप्पल नलगाइकन विदेश हिंडेको मान्छे, नेपालबाट भागेर परिवारको भविष्य हेरेर बाहिर जान खोजेको मान्छेको कथा हो यो ।

त्यो पनि पूरा नभएपछि कस्तो परिस्थिति आउँछ र उसले के–के गर्न बाध्य हुनुपर्छ भन्ने कुरा छ । फिल्ममा हामीले त्यसबाट आउने सकारात्मक नतिजा बाहिर ल्याएका छौं । ‘लुट’ गर्ने बेलामा पनि त्यो निकै सामान्य मान्छेको कथा थियो । ‘दिमाग खराब’ गरिरहँदा पनि यो एकदमै साधारण मान्छेको कथा हो । जति पनि पात्र छन्, ती सबै आममान्छे हुन् ।

वर्तमान सन्दर्भमा ‘दिमाग खराब’ किन हेर्नुपर्छ ?

अहिलेको समयमा हामीले जुन चीज भोगिरहेका छौं र सुनिरहेका छौं । नेपालभित्र निराशजनक कुरा एकदमै धेरै भइरहेको छ । जस्तै, जे सोचिरहेका छौं, त्यो हुँदैन । सबै व्यवस्थित गर्नुपर्ने काम पनि राज्यको हो खासमा । त्यो पनि कति ठाउँमा राम्रोसँग भइरहेको छ तर धेरै ठाउँमा राम्रोसँग नभइरहेको हो या राम्रो गर्न खोज्दाखोज्दै पनि त्यसको नतिजा राम्रो नदेखिने भएपछि मान्छेलाई देशभित्र अवसर खोज्नै गाह्रो भएको छ । त्यो कठिन स्थिति सिर्जना हुनुमा हामी पनि जिम्मेवार छौं । प्रणाली चलाएर बस्ने पनि जिम्मेवार छ । त्यो जिम्मेवारी देखाउन पनि खोज्या छौं हामीले । राज्यले गर्ने जिम्मेवारी सेकेन्डरी हो भने जनताले लिनुपर्ने जिम्मेवारी पनि छ नि भन्ने दर्शाएका छौं । जनताले जिम्मेवारी लिन खोज्दा के–के असर पर्छ र कति कठिन हुन्छ भन्ने चीज राख्या छौं ।

फिल्मभित्र निजअनुभवलाई कति समावेश गर्नुभएको छ ?

हरेक फिल्ममा मैले व्यक्तिगत जीवनका अनुभवलाई राख्ने गर्‍या छु । किनभन्दा कथा यसरी नै बन्छ । आफूले देखेको, भोगेको कुरा सेयर गर्दा कथामा अझै विश्वसनीयता बढ्छ । भएका घटनाबाट प्रभावित भएर आफ्नो तरिकाले कथा बनेको छ । यो काल्पनिक (फिक्सनल) फिल्म हो । वास्तविकतामा जे भएको भए पनि फिल्ममा आफ्नो तरिकाको रिजल्ट ल्याउन सकिन्छ ।

फिल्ममार्फत तपाईंले के सामाजिक–राजनीतिक सन्देश दिन खोज्नुभएको छ ?

पोलिटिकल स्टेटमेन्ट त केही पनि छैन फिल्ममा । मैले त्यसरी राख्न मिल्दा पनि मिल्दैन । फिल्मभित्र एउटा गीत पनि छ जसको लाइन नै पर्याप्त छ जस्तो लाग्छ मलाई, ‘लेखौं भविष्य आफ्नो आफैं, अरु कोही आई बनाउँदैन यो देश ।’ फिल्मले भन्न खोजेको चीज नै यतिभित्र अट्छ । देशमा बस्ने हरेक मान्छेमा यो जिम्मेवारी हुन्छ कि यो देश कस्तो बनाउने भन्ने बोध गराउने हामी नै हौं ।

लुट’को निश्चल बस्नेत ‘दिमाग खराब’सम्म आइपुग्दा आफ्नो विकास कसरी भएको मूल्यांकन गर्नुभएको छ ?

आफैंले त आफैंलाई धेरै चीज देख्दैन जस्तो लाग्छ । आफूले अनुमान मात्र लगाउने हो कि पहिला धेरै सोच्दिन थिएँ जस्तो लाग्छ । अहिले धेरै सोच्छु जस्तो लाग्छ कुनै पनि कुरालाई । त्यो कुराको विभिन्न एंगल केलाउँछु, कुन बाटो सही हो, कुन बाटो गलत भनेर । के चीज सही तरिकाले भनेमा सही हुन्छ । गलत तरिकाले भनेको सही कुरा पनि कहिलेकाहीं गलत लाग्न सक्छ । यी कुरामा केही सचेत छु । सोच्नलाई र काम गर्नलाई अलिकति परिपक्व भएँ कि भन्ने लाग्ने हो । त्यो प्रोसेसमा छु ।

निर्देशकको रुपमा पहिले पनि मलाई इन्टरटेनिङ फिल्म बनाउन मन लाग्ने हो र अहिले पनि इन्टरटेनिङ फिल्म बनाउन नै मन लाग्छ । फिल्मको पहिलो धर्म भनेकै त्यो फिल्मले मनोरञ्जन प्रदान गर्नुपर्‍यो । मनोरञ्जन त आधारभूत कुरा नै भयो । अरु कुरा भनेको, कसरी प्रदान गर्न सकिन्छ र अरुले त्यो चीजलाई कसरी बुझ्छ । यो सबै मान्छेको आ–आफ्नो हातमा हुन्छ । मैले दिन सक्ने आधारभूत तत्व भनेकै एउटा फिल्म बनाएर त्यसबाट मनोरञ्जन कत्तिको दिन सक्छु भन्ने हो ।

हाम्रो जीवनको भोगाइले नै हामी मच्योर्ड हुँदै जाने हो । हामीले बनाउने फिल्ममा पनि त्यो मच्योरिटीको केही अंश देखिन्छ होला ।

दिमाग खराब’को लक्षित दर्शक को हुन् ? के उक्त वर्गसम्म फिल्मको सूचना पहुँच भएजस्तो लाग्छ ?

हामीसँग प्रवर्द्धनको जति पनि उपलब्ध स्रोतसाधन छ, त्यो एकदमै कम छ । भएकै मध्ये पनि प्रचारप्रसारका पक्षमा कमजोर छौं । हामीले फिल्मको कन्टेन्ट यसरी फालिरहेका हुन्छौं, यति धेरै चीज गरिरहेका हुन्छौं । हाम्रो कन्जुमर वा भ्युअर्ससम्म कतिबेला सूचना मात्र पुग्छ । हामीले उहाँहरुलाई हेरौं–हेरौं लाग्ने फिल्म बनाउन सक्दैनौं । कस्तो फिल्म चल्छ भन्दा जुन फिल्मको माउथ पब्लिसिटी एकदम राम्रो हुन्छ । एउटा दर्शकले हेरेपछि अर्को १० जनालाई भन्नुहुन्छ, उहाँले अर्को सयलाई भन्नुहुन्छ र सयले हजार जनालाई भन्नुहुन्छ । त्यो किसिमले माउथ पब्लिसिटी भएको खण्डमा नेपाली फिल्मले एकदम राम्रो व्यापार पनि गरिराखेको छ ।

समीक्षात्मक रुपमा एक किसिमको प्रशंसा हुन्छ भने दर्शकको तहमा अर्कै हुन्छ । त्यो दुईटा पाटो हो । फिल्मको केही चीज दुवैलाई मनपर्छ जस्तो भन्ने मेरो एउटा आशा छ । म आफू पनि यो फिल्मलाई लिएर भन्न खोजेको, देखाउन खोजेको कुरालाई लिएर लाउड एण्ड क्लियर छु । म अरु फिल्मभन्दा यसमा आशावादी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?