+
+

रुकुम पश्चिममा मात्रै ३६ जनाभन्दा धेरैको मृत्यु भएको छ : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते ५:५१

१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् ।

उनले अनलाइनखबरसँग भने, ‘आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ ।’

उनका अनुसार रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएका छन् । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् ।

डिएसपी भट्टराईका अनुसार मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी छ । पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको छ ।

चौरजहारीमा नगर प्रहरी पनि उद्धारमा सक्रिय

चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माका अनुसार चौरजहारीस्थित मिसन अस्पताल र खोलागाउँस्थित शहीद स्मृति अस्पतालमा गरी करिब दुई दर्जन घाइतेहरु उपचाररत छन् । धेरै घाइतेहरु मिसन अस्पतालमा छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज लगायतका स्थानमा रिफर गरिएको छ ।

भूकम्प प्रभावित क्षेत्रबाट घाइतेहरुलाई अस्पतालमा ल्याउने र उपचार गराउने काममा नगरप्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिहरु खटिएका छन् ।

चौरजहारी नगरपालिका–७ खत्रीगाउँमा भूकम्पले घर भत्किँदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पतालमा ल्याएको छ ।

भूकम्पमा परी घाइते भएकी चौरजहारी–८ की मनिसा घर्तीमगरलाई नगर प्रहरी जवान रोशन केसीले रक्तदान गरी सहयोग गरेका छन् । मनिसालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ ।

भूकम्पबाट बालबालिका, बुढाबुढीहरु बढी प्रभावित भएका छन् । गोठ भत्किएर पशु चौपाया पुरिएर मरेका छन् । त्यसको विवरण संकलन गर्न बाँकी छ ।

सानीभेरी र चौरजहारी नगरपालिकाको बीचमा पर्ने बाटो अवरुद्ध भएकाले डोजरको सहायताले खुलाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?