+
+

मंसिर ४ देखि एनआईसी एसियाको अर्को म्युचुअल फण्ड निस्कासन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ९:२१

१९ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गतेदेखि एनआईसी एसिया बैंकको ‘ग्रोथ फण्ड २’ नामक अर्को म्युचुअल फण्ड निस्कासन हुने भएको छ ।

प्रतिइकाइ १० रुपैयाँका दरले ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा निस्कासन हुन लागेको हो ।

कुल १ अर्ब रुपैयाँ बराबरको यो योजनामा १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ कोष प्रवर्द्धक एनआईसी एसिया बैंकले लगानी गर्नेछ ।

म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ए माइनस रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ ।

सर्वसाधारण आवेदकले सेयरमा जसरी नै अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

म्युचुअल फण्डमा लगानी गर्दा के छ फाइदा ?

छरिएर रहेको पुँजीलाई एकत्रित गर्ने र विभिन्न इक्वीटी, ऋणपत्र लगायत क्षेत्रमा लगानी गर्ने योजनाका साथ संकलन गरिने रकमका लागि प्रदान गरिने साना इकाइ नै म्युचुअल फण्ड हो ।

म्युचुअल फण्डले रकम संकलन गरी इक्वीटी, ऋणपत्र वा अन्य कोषमा लगानी गरी त्यसबाट प्राप्त प्रतिफलबाट आफ्नो खर्च कटाएर इकाइधनीलाई नगद लाभांश दिन्छन् । धेरै फण्डले वार्षिकरुपमै लगानीकर्तालाई नगद लाभांश दिँदै आएका छन् ।

फण्डका योजना व्यवस्थापकले सबैभन्दा धेरै रकम इक्वीटीमा लगानी गर्ने गरेका छन् । प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइ अर्थात् १ हजार रुपैयाँ यस्ता फण्डमा लगानी गर्न सकिन्छ ।

योजना व्यवस्थापकले नै फण्डको व्यवस्थापन गर्ने भएकाले लगानीकर्तालाई विज्ञता वा समय खर्चिनुपर्ने हुँदैन । म्युचुअल फण्डको अधिकांश रकम सेयरमै लगानी हुने भएकाले सेयर बजार बढ्दा लगानी भएको १० रुपैयाँको खुद सम्पत्ति मूल्य पनि बढ्न जान्छ ।

यस्ता फण्डको रकम परिचालनका लागि विज्ञहरु नै परिचालन हुने भएकाले फण्डको लगानी सेयरमाभन्दा कम जोखिम मानिन्छ । थोरै रकम पनि धेरै कम्पनीको सेयरमा लगानी हुने भएकाले जोखिम विविधिकरण हुन जान्छ ।

म्यचुअल फण्डको पनि सेयरजस्तै स्टक मार्केटमा किनबेच गर्न सकिन्छ । अहिले दोस्रो बजारमा कतिपय म्युचुअल फण्ड १० रुपैयाँभन्दा सस्तो मूल्यमा पनि झरेका छन् । तसर्थ हालको अवस्थामा प्राथमिक बजारमा १० रुपैयाँका दरले लगानी गर्नुभन्दा दोस्रो बजारमा सोभन्दा तलको मूल्यमा खरिद गर्नु फाइदामूलक पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?