+
+
जाजरकोट भूकम्प :

‘समयमै अस्पताल ल्याउन सकेको भए धेरै जना बँच्थे’

सडक अबरुद्ध भएपछि डा. उप्रेतीले गाउँमै गएर गरे २३ जनाको पोष्टमार्टम

गौरव पोखरेल चन्द्रबहादुर आले गौरव पोखरेल, चन्द्रबहादुर आले
२०८० कात्तिक १९ गते २२:११
नलगाड अस्पतालमा उपचारका लागि राखिएका घाइते ।

१९ कात्तिक, नलगाड (जाजरकोट) । शुक्रबार राति ११ः४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पको झट्काले नलगाड नगरपालिका–४, औंलमा गोविन्द मल्लको घर भत्कायो । घरभित्र मल्ल, पत्नी सरिता साह, उनकी एक वर्षीय छोरा र ३ वर्षीया छोरी थिए ।

‘एकै झट्कामा घर भत्कियो, दुवै पर्खालले छोरा र छोरीलाई किच्यो’, आफन्त समेत रहेका नलगाड, दल्लीका डिल्लीबहादुर रावल भन्छन्, ‘दुवै पर्खालले किच्दा पनि आमाले एक वर्षका छोरालाई च्यापेर जोगाइछन् ।’

आफन्तले एक वर्षका छोरालाई तुरुन्तै उद्दार गरेर नलगाडस्थित प्राथमिक स्वास्थ्य चौकीमा ल्याइपुर्‍याए । अस्पतालका डा. विशाल उप्रेतीका अनुसार, बच्चालाई ल्याउन केही ढिलाइ गरेको भए ज्यान नबँच्न सक्थ्यो ।

‘हामीले अक्सिजन नै दिएर राखेका थियौं, अहिलेसम्म उपचार भइरहेको छ’, उप्रेतीले अनलाइनखबरसँग भने, ‘तर, अहिले बच्चाको अवस्था खतरामुक्त हुनुहुन्छ ।’

समयमा ल्याएका कारण उनको उपचार सम्भव भएको बताउँदै डा. उप्रेती भने, ‘समयमा ल्याएकाहरु जोगिएका छन्, तर भूकम्प १२ नबज्दै गएपनि ४ बजेसम्म अस्पतालमा बिरामीहरुको चाप थिएन ।’

चार बजेपछि मात्र अस्पतालमा भूकम्पका घाइतेलाई ल्याउने क्रम सुरु भएको उनको भनाइ छ । ‘जाजरकोटमा सबैभन्दा बढी मानवीय क्षति देखिनुको कारण समयमा उपचार नपाउनु पनि हो’, डा. उप्रेती भन्छन् ।

उनका अनुसार, हालसम्म जाजरकोटको नलगाड नगरपालिकामा मात्रै ५० जनाको मृत्यु भएको छ ।

‘४९ जनाको मृत्यु भएको हामीले घोषणा गरेका थियौं, अहिले थप एक जनाको मृत्यु भएपछि संख्या ५० पुगेको छ’, उप्रेतीले थपे, ‘त्यो एक जनाको पनि समयमा उपचार नपाएकाले मृत्यु भएको हो ।’

डा. विशाल उप्रेती ।

सडक सुविधा नभएका कारण घाइतेहरुलाई समयमा ल्याउन नसकिएको उनले बताए । ‘एम्बुलेन्सहरु पनि निकैबेर सडकमा अलपत्र परेका थिए’, उनले भने, ‘बाटोमा मात्र समस्या नभएको भएपनि धेरै जोगिन्थे ।’

उप्रेतीका अनुसार, भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति नलगाड नगरपालिकाको वडा नं. १ मा भएको छ । त्यहाँ अझैसम्म सडक सञ्चालनमा नआएकाले घाइतेहरु त्यहीँ छन् ।

‘कतिपय केही हुँदैन भनेर त्यहीँ बसेका छन्, केहीलाई बोकेर ल्याइएको छ’, डा. उप्रेतीले भने, ‘उपचारका लागि टोलीलाई उतै पठाउनुपर्ने अवस्था छ ।’

उनका अनुसार, अस्पतालबाट मात्र सेवा दिएर नपुग्ने स्थिति भएकाले अहिले वडा नं. १, ३, ५ र ७ नम्बर वडामा स्वास्थ्यकर्मीको मोबाइल टोली खटाइएको छ ।

वडा नं. १ मा सडक सञ्जाल अवरुद्ध भएका कारण शव ल्याउन समेत समस्या भएको छ ।

‘शव ल्याउन समस्या भएपछि मैले उतै गएर २२ जनाको पोष्टमार्टम गरेँ’, उप्रेतीले भने, ‘अस्पताल ल्याउन सक्ने स्थिति नभएपछि शव त्यत्तिकै राखेर पनि भएन, यता अरु टोलीले काम गरिरहेका बेला मैले त्यहीँ गएर पोष्टमार्टम गरेँ ।’

उनका अनुसार, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले अहिले सडक खुलाउने प्रयास गरिरहेको छ । सडक सञ्चालनमा आए अस्पताल ल्याउने घाइतेको संख्या बढ्न सक्ने उनी बताउँछन् ।

‘अहिले जिल्ला अस्पताल रुकुमबाट डा. ओसिन मगर पनि आउनुभएको छ, अरु स्वास्थ्यकर्मीसँग पनि मिलेर काम गरिरहेका छौं’, उनले भने, ‘बाहिरबाट आउनु भएका प्रायः चिकित्सक सदरमुकाम खलङ्गा केन्द्रित हुनु भएको छ, यता थोरै हुनुहुन्छ । तर, व्यवस्थापन गरेर उपचार गराइरहेका छौं ।’

नलगाड अस्पतालकी स्वास्थ्यकर्मी विष्णु साहका अनुसार, पहिले यो प्राथमिक स्वास्थ्य केन्द्र थियो, त्यसैलाई अस्पतालमा स्तरोन्नति गररिएको हो ।

‘पहिले १४, १५ जना मात्र स्वास्थ्यकर्मी भएपनि अहिले २४ जना छन्’, साहले अनलाइनखबरसँग सुनाइन्, ‘खास हुनुपर्ने त ३० हो, २४ मात्रै भएपनि धेरै राहत भएको छ ।’

उनका अनुसार, अस्पतालमा आएका विरामीमध्ये अधिकांशको टाउकोमा चोट छ । डा. उप्रेतीका अनुसार, अहिलेसम्म अस्पतालमा भूकम्पबाट घाइतेमध्ये ८५ जनाको उपचार भएको छ । मृत्यु हुने अधिकांशको टाउकोमा गम्भीर चोट लागेको थियो ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि नलगाड आएर अस्पतालको अवलोकन गरेका थिए । भूकम्प पीडितलाई भेटेका थिए । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले पनि स्वास्थ्यकर्मीहरुको टोली पठाउने आश्वासन दिएको उनी बताउँछन् ।

‘प्रधानमन्त्री आउनुभएको हेलिकोप्टरमा ७ जना बिरामीलाई एयरलिफ्ट गरेर पठाएका थियौं’, डा. उप्रेतीले अनलाइनखबरसँग भने, ‘तीमध्ये एक जना गम्भीर बिरामीको नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।’

अस्पतालकै अवस्था नाजुग

नलगाड नगरपालिकामा रहेको एक मात्र अस्पताल आफैं पनि भूकम्पबाट प्रभावित छ । इमर्जेन्सी सेन्टरको भवन चर्किएको छ ।

‘अस्पतालको भवन चर्किएपछि भित्र राखेर उपचार गर्न पनि जोखिम छ’, डा. उप्रेती भन्छन्, ‘त्यसैले कतिपयलाई बाहिर चउरमा राखेर पनि उपचार गराइरहेका छौं ।’

स्वास्थ्यकर्मीहरुका अनुसार, अस्पतालमा औषधिको अभाव त छैन । तर, स्वास्थ्य उपकरणहरु राम्रो छैनन् । अस्पतालमा अक्सिजन सिलिण्डरको पनि अभाव छ ।

‘कोभिडका बेला आएको अक्सिजन सिलिण्डर छ, त्यो पनि भर्नलाई सदरमुकाम लानुपर्छ’, अस्पतालका अर्का एक स्वास्थ्यकर्मीले सुनाए, ‘औषधि चाहिँ धन्न अहिले युनिसेफ, रेडक्रस लगायतले पनि ल्याएका कारण तत्काललाई समस्या छैन ।’

चिकित्सकहरुका अनुसार, अस्पतालमा राम्रो एक्स रे र युसिजी मेसिन पनि छैन । ‘हामीले सिफारिस गर्ने जिल्ला अस्पताल जाजरकोटमा हो, तर जिल्ला आफैं पनि समस्या हुन्छ’, चिकित्सकहरु भन्छन्, ‘यस्तो समस्याको बेलामै भएपनि सम्बन्धित निकायको नजर परिदिए हुन्थ्यो ।’

भूकम्पका कारण मुहानमा क्षति पुगेपछि नलगाड गाउँको धारामा पानी आएको छैन । भूकम्प पीडितहरु रातभर चिसोमा घरबाहिरै त्रिपाल टाँगेर बसिरहेका छन् । खाद्यान्नको पनि समस्या छ ।

‘यस्तोमा थप रोगहरुको जोखिम रहन्छ, झाडापखाला, छातीको इन्फेक्सन लगायत समस्या भएका बिरामी बढ्न सक्छन्, यसका लागि पूर्वतयारी गर्नुछ’, डा. उप्रेती थप्छन्, ‘अफ्ठ्यारो बेला भएपनि सरकारले दीर्घकालका लागि चाहिने स्वास्थ्य उपकरणमा पनि ध्यान दिए सहज हुन्थ्यो ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?