+
+
विचार :

‘सतह नजिकका भूकम्पहरू झनै जोखिमपूर्ण हुन्छन्’

जमिनको सतहबाट जति नजिक भूकम्प गयो, त्यति बढी क्षति हुन्छ । हाम्रो क्षेत्रमा जमिनको सतह नजिकै केन्द्र बनाएर बढी भूकम्प जान्छ । बारपाकदेखि अस्ति जाजरकोटसम्मका यस्ता ‘स्यालो भूकम्प’हरूले बढी क्षति गराएको देखिन्छ ।

डा. शिव सुवेदी डा. शिव सुवेदी
२०८० कात्तिक १९ गते २०:०३

जाजरकोटमा शुक्रबार राति गएको भूकम्प अरूको परकम्प नभई नयाँ भूकम्प हो । केही समयअघिको बझाङको र यो भूकम्पको आफैंमा प्रत्यक्ष सम्बन्ध देखिंदैन ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्र रहेको ७.८ को भूकम्पको केही सातामै सिन्धुपाल्चोकलाई केन्द्र बनाएको ७.३ म्याग्निच्युडको भूकम्प गयो । ती दुईबीचको सम्बन्धबारे पनि बहस भएको थियो ।

भूकम्पमा कुन मुख्य कम्प र कुन परकम्प हो भन्ने सवालमा दुई विषयमा निक्र्योल गर्छ । मुख्य कम्पन भएर त्यो क्षेत्रमा गएका अरू कम्पहरूलाई परकम्प भन्ने गरिन्छ । परकम्प हुनका लागि मूल भूकम्प भएको ठाउँमा नै धम्का दिएको हुनुपर्छ र त्यो मुख्य कम्पभन्दा एक म्याग्निच्युड कम भएमा त्यसलाई परकम्प भन्ने गरिन्छ ।

बझाङमा ६.३ को भूकम्प गएपछि ५.२ का धेरै परकम्प गए । मुख्य कम्पनपछि परकम्पहरू सयौं, हजारौं हुनसक्छन् । कुनै कम्पन मूल भूकम्प हो कि परकम्प हो भनेर निक्र्योल गर्ने दुईवटा आधार हुन्छन् । पहिलो, मुख्य भूकम्प भएको क्षेत्र (रप्चर) आसपास गएको र एक यूनिट म्याग्निच्युड कम भएमा त्यसलाई परकम्प भन्ने गरिन्छ ।

सिन्धुपाल्चोकको भूकम्प आफैंमा परकम्प हो कि होइन भन्नेबारेमा हामीबीच नै मतभेद भयो । बारपाक भूकम्पको रप्चर पूर्वतिर गयो, त्यसले अर्को भूकम्प ट्रिगर ग¥यो र त्यो अर्को भूकम्प थियो भन्ने हाम्रो निष्कर्ष भयो ।

पश्चिम नेपालको जोखिम

बझाङ र जाजरकोटका कम्पनहरू साना खालका भूकम्प हुन् । बारपाकभन्दा पश्चिममा भूकम्पको इतिहास हेर्ने हो भने विक्रम संवत् १५०५ पछि त्यता ठूलो भूकम्प आएको छैन । भूकम्पविद्हरूको मत अनुसार भारतीय प्लेट हरेक वर्ष २ सेन्टिमिटरका दरले तिब्बततिरको प्लेटमुनि धसिंदै गएको छ ।

करिब ५०० वर्षको इतिहास हेर्दा करिब १० मिटर जमिन सरिसकेको छ । १० मिटर सरेकाले जमिनमुनि जति शक्तिसञ्चय भएको छ, त्यो ‘रिलिज’ हुन बाँकी छ । त्यही शक्ति रिलिज हुने क्रममा कहिले बझाङ त कहिले जाजरकोटमा भूकम्प गइरहेका छन् ।

भूकम्पले भौतिक संरचनाहरूको क्षति गर्नुमा म्याग्निच्युड (हामीले यति रेक्टर स्केलको भन्ने गर्छाैं) मात्रै आफैंमा एक्लो र पर्याप्त कारण होइन ।

म्याग्निच्युडले भूकम्पका क्रममा कति शक्ति ‘रिलिज’ भयो भन्ने मापन त गर्छ तर मापन (गणना) सबै ठाउँको लागि एउटै नै हुन्छ । तर कस्ता खालको जमिनमा, कस्तो खालको झट्का गएको छ, त्यो आधारमा क्षतिको आकलन हुन्छ । कत्तिको शक्तिशाली वा कमजोर रूपमा हल्लायो भन्ने आधार पनि हुन्छ ।

जमिनमुनि कति गहिराइमा भूकम्प गएको छ भन्ने आधारमा पनि क्षतिको मापन हुन्छ । जति गहिराइमा भूकम्प गयो, त्यति कम क्षति हुन्छ । जमिनमुनिको संरचनाले पनि यसलाई तय गर्छ । बझाङ र जाजरकोटमै पनि जमिनमुनिको संरचना फरक हुनसक्छ ।

काठमाडौंकै उदाहरण हेर्ने हो भने यहाँ करिब ७००/८०० मिटरसम्म बाक्लो दलदले बलौटे माटोको धाप छ । त्यही भूकम्प अन्यत्रको तुलनामा काठमाडौंमा आयो भने यहाँ बढी क्षति हुनसक्छ ।

कुन रूपमा हल्लिन्छ (जसलाई प्राविधिक भाषामा सेकिङ फ्रिक्वेन्सी भन्ने गरिन्छ), त्यसले पनि क्षतिलाई प्रभाव पार्छ । कम्पन जमिनको सतहमा आइपुग्दा कसरी हल्लाउँछ, कति समय हल्लाउँछ भन्ने आधारमा पनि क्षतिको मात्रा थाहा हुन्छ । रप्चरले लिएको दिशाका आधारमा पनि क्षतिको मात्रा भर पर्छ ।

एमसीएच अर्थात् मेन हिमालयन सर्च

जाजरकोटको भूकम्पलाई ‘स्यालो अर्थक्वेक’ पनि भन्न सकिन्छ । किनभने जमिनभन्दा १४ किलोमिटर तल मात्रै भूकम्पको केन्द्रविन्दु हो । हिमालय रेञ्जका ९० प्रतिशतभन्दा बढी भूकम्पहरू जमिनदेखि १० देखि २० किलोमिटर भित्रमै गएका हुन्छन् ।

तिब्बतीय र भारतीय प्लेटको घर्षण भएको बिन्दु नै २० किलोमिटरभित्रको क्षेत्रमा पर्छ । त्यसलाई हामीले प्राविधिक भाषामा मेन हिमालयन थ्रष्ट (एमएचटी) भन्ने गर्छौं ।

हिमालयन रेञ्जमा गएका ठूलाठूला भूकम्पहरूको स्रोत एमएचटी नै हो । जाजरकोटको भूकम्प पनि त्यही भित्र (१४ किलोमिटर तल) बाट गएको देखिएको छ । अन्तर्राष्ट्रिय एजेन्सीहरूले बझाङको भूकम्पलाई २० किलोमिटरभन्दा गहिरो भागमा गएको भनेर निष्कर्ष निकालेका छन् । बारपाक भूकम्पको केन्द्रविन्दु जमिनबाट १५ किलोमिटर गहिरो ठाउँमा थियो ।

त्यसपछिको अर्को ठूलो झट्का पनि त्यही क्षेत्रमा थियो । हिमालय क्षेत्रमा ठूलो स्केलको भूकम्पहरू अरू क्षेत्रमा जाने सम्भावना निकै कम हुन्छ । ७/८ रेक्टर स्केलको भूकम्प जानका लागि ठूलो क्षेत्र रप्चर हुनुपर्छ । त्यसरी रप्चर हुने सम्भावना भएको क्षेत्र ‘मेन हिमालयन थ्रष्ट’ नै हो ।

भूसतहबाट जति गहिराइमा भूकम्प गयो, त्यति नै क्षति कम हुन्छ । जापानमा निकै गहिरो भागमा भूकम्पको केन्द्र बनेको हुन्छ, जहाँ क्षति निकै कम हुन्छ । ५०० किलोमिटर भित्री क्षेत्रमा भूकम्प भयो भने त्यहाँबाट निस्केको शक्ति सतहमा आइपुग्दा निकै कमजोर भइसकेको हुन्छ, जसले स्वतः क्षति कम गर्छ । तर हामीले म्याग्निच्युड भने उति नै गणना गर्छौं । सेकिङ इन्टेन्सिटी (हल्लाउने मात्रा) भने निकै घटिसकेको हुन्छ ।

सन् २००३ मा इरानमा गएको भूकम्प ६.६ रेक्टर स्केलको थियो, जसले ३४ हजार मानिसको ज्यान गयो । चिलीको ९.५ रेक्टर स्केलमा गएको कम्पनलाई हालसम्मकै ठूलो भूकम्प मानिन्छ ।इन्डोनेसियामा सन् २००४ मा गएको भूकम्पमा करिब ३ लाख मानिस मारिए ।

त्यसैले भूकम्पको क्षतिको एक मात्रै कारण म्याग्निच्युड मात्रै त हुँदैहोइन । ७.८ को बारपाक भूकम्पका कारण हामीले ९ हजारभन्दा बढी मानिस गुमायौं । त्यही म्याग्निच्युडको भूकम्प न्यूजिल्याण्डमा गएको थियो, जसमा २ जनाको मात्रै ज्यान गयो ।

उत्तरमा तिब्बती र दक्षिणमा भारतीय प्लेटको दबाबका कारण हाम्रो हिमालय रेञ्ज जोखिमपूर्ण छ । यो क्षेत्रमा १० देखि २० किलोमिटरको क्षेत्रभित्र नै भूकम्प जाने गरेको छ । त्योभन्दा गहिरो क्षेत्रमा भूकम्प गएर कम क्षति होला कि भनेर आशावादी हुने सम्भावना हाम्रो हिमाली क्षेत्रमा छैन । त्यसैले आवश्यक सतर्कता अपनाउन जरूरी छ ।

रातिमा भूकम्प जानु दुर्भाग्य

भूकम्पका विषयमा अध्ययन गर्नेहरूले नेपालमा भएका भूकम्पको अध्ययन, स्थलगत निरीक्षण, धाँजा फाटेका ठाउँको अवलोकन गर्दा नेपालमा भएको क्षतिको प्रमुख कारण कमजोर भौतिक संरचना हो ।

आधाभन्दा बढी घरहरू ढुंगामाटोले बनेका छन् । बझाङ लगायतका केही जिल्लामा हामी घुम्दा ढुंगामा माटो नराखेर फेरि ढुंगा नै थपेर घर बनाएको पनि देखेका थियौं । त्यस्ता घरहरू त झट्का सुरु भएको ५/७ सेकेण्डमै ढल्न थाल्छन् ।

भवन निर्माण संहितालाई हामीले गाउँ तहमा पुर्‍याउन सकेनौं । भूकम्प प्रतिरोधी संरचना बनाउँदा अरूको तुलनामा दोब्बर पनि पर्दैन । तर, मानिसहरूले त्यसमा चासो नै दिएनन् । स्थानीय सरकारहरूले पनि भवन संहिता लागू गर्न र कडाइका साथ त्यसको पालना गराउन सकेनन् । त्यस खालको प्राविधिक जनशक्ति पनि भएन ।

भूकम्पपछि जाजरकोट र रुकुममा भत्किएका संरचनाको फोटो र भिडियो हेर्ने हो भने कमजोर संरचनाका कारण नै क्षति भएको सहजै बुझ्न सकिन्छ । अर्को दृष्टिकोणबाट हेर्दा यो भूकम्पलाई ‘दुर्भाग्यपूर्ण भूकम्प’ भन्न सकिन्छ । त्यसको तुलनामा बरु बझाङको भूकम्प ठिकै थियो ।

बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प जानुभन्दा २५ मिनेट पहिले ५.३ रेक्टर स्केलको पहिलो भूकम्प आएको थियो । त्यसले मानिसहरूलाई सतर्क गरायो । स्कूलमा बसेकाहरू चौरमा निस्के, घरमा रहेकाहरूले बाहिर खुला ठाउँ खोजे । त्यसको आधा घण्टामा ठूलो भूकम्प आयो, घर भत्कियो, तर मान्छे बाहिर भएकाले मानवीय क्षति कम भयो । बझाङमा पनि १४ हजार घर भत्केका छन् ।

अहिले जाजरकोटमा कति घर भत्किए, ढिलोचाँडो रिपोर्ट आउला । तर तुलनात्मक रूपमा धेरै मानिस गुमाउनुपर्‍यो । मानिसहरू सबै सुतेको बेला मध्यरातमा आएको भूकम्पले धेरै क्षति भयो । उनीहरू भाग्ने र फुत्किने उपाय भएन । त्यत्तिको मझौला भूकम्पमा, त्यो खालका घरहरूमा रहेका बेला भूकम्प आएपछि भाग्न र जोगिन मुस्किल नै पर्छ । भूकम्पको झट्का सुरु भएको ५ सेकेण्डभित्र घरको पाखो भत्किन र छाना खस्न थाल्यो भने मानिस जोगिन सक्दैन ।

हामी केही दिनमा प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाँदैछौं । त्यहाँ नेपाल सरकारको भूकम्प मापन केन्द्रले राखेका उपकरणहरू पनि छन् । साना भूकम्पहरूको जति रेकर्ड राखेर अध्ययन गरियो, ठूला भूकम्पहरूको सम्भावनाबारे यकिन गर्न सकिन्छ । भूकम्पका अनेक आयाम मापनका लागि सकेसम्म बढी उपकरणहरू स्थापना गर्नुपर्छ । नेपाल सरकारले ४० भन्दा बढी ठाउँमा उपकरणहरू राखेको छ ।

भूकम्पले पढाउँछ, हामी पढ्दैनौं

हरेक भूकम्पले हामीलाई पाठ पढाएर गएको हुन्छ । २०७२ सालको भूकम्पले निकै पाठ पढायो, बझाङमा पढायो, अहिले जाजरकोटको भूकम्पले पनि पाठ सिकाएको छ । हामीले आफैंलाई मार्ने घर बनाइरहेका छौं । यस्ता घरहरूले हामीलाई मारे, अब हामीले त्यस्ता घरबाट छुटकारा पाउनै पर्छ ।

हामी भवन निर्माण संहिताको मामिलामा कति सजग छौं भनेर मनन् गर्नुपर्ने अवस्था छ । भएका घरहरूलाई भूकम्प प्रतिरोधी बनाएर होस् या नयाँ घर बनाएर, अब हामीले भूकम्पीय जोखिमयुक्त संरचनालाई बदल्नुपर्छ ।

आजको भोलि नै लाखौं नयाँ घर बनाउन सकिंदैन । त्यसका लागि भूकम्पीय जोखिमबाट जोगिने सचेतना कार्यक्रम पनि चलाउनुपर्छ । जापानले हरेक महिना विद्यालयहरूमा सचेतना कार्यक्रम चलाएको हुन्छ, बारम्बार सुरक्षाका अभ्यासहरू गरिन्छ ।

हामीले पनि भूकम्पीय जोखिम घटाउन तयारी थाल्नुपर्छ । संरचना बलियो बनाउनुपर्छ, साथसाथै आम नेपालीलाई पनि भूकम्पका बारेमा ज्ञान दिनुपर्छ । विद्यालयका पाठ्यक्रमहरूमा यसलाई समावेश गर्नुपर्छ । विद्यालय तहदेखि नै सचेतना कार्यक्रम गर्नुपर्छ ।

अस्तिको जाजरकोटको भूकम्प आफैंमा एउटा भूकम्प हो । भ्रमका कारण कतिपयले यसलाई ठूलो भूकम्प टरेको रूपमा बुझेका छन्, कतिपयले अर्को महाभूकम्प आउने पूर्वसंकेत भनेका छन् । न यसले कुनै भूकम्पको पूर्वसंकेत गरेको हो, न कुनै भयावह अवस्था टारेको हो । यस्तो थाहा भइदिएको भए त हामीले पर्याप्त तयारी गर्ने थियौं नि !

यथार्थमा यो भूकम्पले अर्को भूकम्प टारेको होइन । बारपाकभन्दा पश्चिमको भागमा ८ रेक्टर स्केलको भूकम्प जान पुग्ने गरिको शक्ति सञ्चय भएको छ भनेर भूकम्पविद्हरूले बारम्बार चेतावनी दिएका छन् ।

त्यो अवस्था टर्नका लागि ७ रेक्टर स्केल बराबरका ३२ वटा भूकम्प आउनुपर्छ । ६ रेक्टर स्केल बराबरका हजार वटा भूकम्प आउनुपर्छ, अनि मात्रै ८ रेक्टर स्केल बराबरको शक्ति क्षय हुन्छ । त्यसैले बारम्बार स–साना भूकम्प गएमा मात्रै पश्चिम नेपालमा सञ्चय भएको शक्ति रिलिज हुन्छ । हालको अवस्था हेर्दा, स–साना भूकम्प गएर ठूलो जोखिम टर्ने सम्भावना असम्भव जस्तै हो ।

मेरो बुझाइमा पश्चिम नेपालमा तीनवटा सम्भावना देखिन्छ । पहिलो, स–साना झट्काका रूपमा अरू कुनै पनि बेला अन्य ठाउँमा भूकम्प आउन सक्छ । अहिलेभन्दा एक/दुई कम स्केलको पनि झट्का आउन सक्छ । त्यसैले चर्केको घर छ भने त्यहाँभित्र नबस्नुहुन अनुरोध गर्छु ।

दोस्रो, बझाङ वा जाजरकोटको जस्तो मझौला खालको भूकम्प अरू कुनै ठाउँमा आउन सक्छ ।

हामीले चेतावनी दिंदै आएको अन्तिम विकल्प पनि छ । पश्चिमममा कुनै पनि बेला ७/८ रेक्टर स्केलको भूकम्प जान सक्छ । यो मैले कसैलाई तर्साउन वा आतंकित बनाउन भनेको होइन । विभिन्न वैज्ञानिक अध्ययन, अनुसन्धानहरूले पनि त्यो सम्भावना देखाएको छ ।

भूकम्प पूर्व सूचना प्रणाली जडान गर्न सक्ने हो भने धेरै राम्रो हुन्छ । केन्द्रविन्दुबाट नजिक रहेको उपकरणले भूकम्पको संकेत थाहा पाउनासाथ वरपरका क्षेत्रमा तत्काल सूचना प्रवाह गर्ने प्रणाली विकास भएको छ । त्यसका आफ्नै विशेषता र कमजोरी छन् ।

अन्त्यमा, हामीले भूकम्प टार्न त्यो कहिले आउला भनेर पूर्वानुमान गर्ने तरिका हालसम्म पत्ता लागेको छैन । तसर्थ भएका संरचनालाई बलियो बनाएर नै जोखिम घटाउने हो, सचेतना कार्यक्रम गरेर मानिसहरूलाई सजग गराउने हो, अरू विकल्प छैन ।

(नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट) मा कार्यरत भूकम्पविद् सुवेदीसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?