+
+

शेष घलेसहितको एनआरएन टोली राहत लिएर भूकम्प प्रभावित क्षेत्रमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १९:४६

काठमाडौं । एमआईटी ग्रुप फाउण्डेसनका अध्यक्ष एवं गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले संयोजकत्वको टोलीले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई राहत सामग्री प्रदान गरेको छ । साथै, भूकम्पबाट धेरै प्रभावित जाजरकोट पुगेर क्षतिको अवलोकन पनि गरेको छ ।

टोलीले रुकुमको आठबिसकोट नगरपालिका–१३ मा १ हजार थान ब्ल्यांकेट र एक गाडी खाद्य सामग्री सोमबार त्यसतर्फ पठाएको थियो । एमआईटी ग्रुप फाउण्डेसन र ग्लोबल एनआरएनए फाउण्डेसनले संयुक्त रुपमा राहत कार्यक्रम चलाएका हुन् ।

दुई समूहमा विभाजन गरेर चलाइएको समूहअन्तर्गत एक समूहले आठबिसकोट नगरपालिका–१३ मा राहत सामग्री वितरण गरेको हो । फाउण्डेसन अध्यक्ष तथा भूकम्पको राहत वितरणका लागि ग्लोबल एनआरएनएका संयुक्त संयोजक घलेसहितको एनआरएन टोलीले दुवै जिल्लाको स्थलगत अवलोकन गरे ।

उनीहरुले त्यहाँ भूकम्प पीडित स्थानीयवासी, पूर्वअर्थमन्त्री जनार्दन शर्मा, नगरपालिकाका मेयर लगायतसँग भेट गरी क्षतिको अवस्था र राहतको आवश्यकताबारे जानकारी लिएका थिए । त्यसपछि खलंगा र भेरी नगरपालिकाको स्थलगत अवलोकनमा पुगेको घलेसहितको टोलीले उर्जामन्त्री शक्ति बस्नेत, प्रमुख जिल्ला अधिकारीसहित दलका नेताहरुसँग भेट गरी सहयोगको आवश्यकताबारे जानकारी लिएका थिए ।

शुक्रबार राति गएको विनाशकारी भूकम्पले डेढसयभन्दा बढीको ज्यान गएको छ र ३५ हजारभन्दा बढी घरविहीन भएको जनाइएको छ । स्थलगत भ्रमणपछि अनलाइनखबरसँग कुरा गर्दै फाउण्डेसनका अध्यक्ष घलेले भूकम्पबाट विस्थापित भएका स्थानीयवासीको अवस्था देखेर आफू निकै दुःखी भएको बताए ।

तत्कालै राहतका लागि आफ्ना संस्थाहरुले करिब डेढ करोड रुपैयाँको सामग्री पठाएको जानकारी दिंदै उनले थप सहयोगका लागि केही दिनभित्रै निर्णय गर्ने बताए ।

‘हजारौं पीडित त्रिपालमुनि बसिरहनुभएको छ, चिसो मौसममा निकै कठिनाइ हुन्छ, त्यसैले उहाँहरुका लागि नयाँ घर नबन्दासम्मका लागि अस्थायी आवास संयन्त्र निर्माण गर्नु मुख्य आवश्यकता देखियो’ घलेले भने, ‘के गर्दा धेरैभन्दा धेरै समुदायलाई लाभ दिन सकिन्छ भन्ने कुरा विश्लेषण गरी फाउण्डेसनले थप काम अगाडि बढाउने छ ।’

भौगोलिक अवस्थाका कारण एकीकृत बस्तीको सम्भावना आफूले कम देखेको भन्दै घलेले स्वास्थ्य र शिक्षा क्षेत्रका सार्वजनिक संरचना निर्माणमा आफूले पहल गर्ने बताए ।

२०७२ सालको विनाशकारी महाभूकम्पका बेला अध्यक्ष घलेले गैरआवासीय नेपाली संघमार्फत राहत तथा पुनर्स्थापनाको अगुवाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?