+
+

दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानीकर्तासँग ढकालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते १२:५७
फाइल तस्वीर

२२ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियासँगको बढ्दो व्यापार असन्तुलन कम गर्न लगानी साझेदारीका लागि आग्रह गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित नेपाल-कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले कोरियाबाट हुने आयातको तुलनामा नेपालबाट हुने निर्यात नगन्य रहेकाले व्यापार सन्तुलन मिलाउन जरुरी भइसकेको बताए ।

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी मुख्य चार क्षेत्रहरूमा लगानी साझेदारी बढाउन सकिने बताए ।

यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको र यही क्षेत्रमै कोरियाली विशेषज्ञता र लगानी विस्तार भइरहेकोले दुवै देशलाई ‘वीनवीन’को अवस्था सृजना हुने ढकालले बताए ।

नेपालमा ठूलो लगानीका ३५० भन्दा बढी कोरियाली उद्यमहरू भएकाले पनि नेपाल कोरियाका लागि आकर्षक लगानी गन्तव्य भइसकेको उनले बताए ।

यसरी बढ्दो साझेदारीलाई थप विस्तार गरी अत्याधुनिक कोरियाली प्रविधि र नेपालको प्राकृतिक स्रोत तथा जनशक्तिको मेल गराउने समय आएकोमा उनले बताए ।

नेपालले विकासोन्मुख देशको रूपमा अर्थतन्त्रलाई विविधीकरण गर्न पनि कोरियासँगको साझेदारी महत्त्वपूर्ण रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले कोरियाली लगानी विस्तार हुँदा नेपाललाई दक्षिण एसियामा व्यापार र वाणिज्यको केन्द्र बन्न सहयोग पुग्ने पनि बताए ।

केही नेपाली बैंक कोरियामा शाखा सञ्चालनका लागि स्वीकृतिको पर्खाइमा रहेको उल्लेख गर्दै त्यसलाई सकेसम्म छिटो टुङ्ग्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे । औपचारिक र सहज बैंकिङ कारोबारले व्यापार र लगानी बढाउन सहयोग पुग्छ ।

ग्रिन फाइनान्समा कोरियाको अनुभव र नेतृत्वबाट नेपालले फाइदा लिनु पर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले निजी इक्विटी र नयाँ नयाँ उद्यममा यस्तो पूँजी परिचालनमा कोरियाले सघाउनु पर्ने उनले बताए ।

कोरियामा धेरै नेपाली काम गर्ने भएकाले नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा संयुक्त लगानीका अवसरहरूमा पनि काम गर्नु पर्ने उनको भनाइ छ ।

त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपाल आउन, अवसर खोज्न र लगानीको सहज वातावरण बनाउन महासंघले सहयोग गर्न तत्पर रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?