 
																			२२ कात्तिक, पोखरा । पटक पटक आश्वासन, निर्णय र निर्देशन भएर पनि कार्यान्वयन हुन नसकेको विषय हो, पोखराको लेकसाइड चौबिसै घण्टा खुला राख्ने । उच्च अदालत पोखराले बुधबार लेखसाइड चौबिसै घण्टा खोल्न दिन आन्तरिम आदेश गरेपछि फेरि यो विषयमा बहस सुरु भएको छ ।
कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको नाममा आदेश दिएको हो ।
गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरवारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने बताइएको थियो । तर, त्यो कार्यान्वयन नभएको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीलाई विपक्षी बनाएर मंगलबार देवीकुमारी बरालले रिट हालेकी थिइन् ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ता शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए । उनीहरुको बहस सुनेपछि उच्च अदालत पोखराले १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि जिल्ला प्रशासन कार्यालय लगायतका विपक्षीलाई आदेश दिएको छ ।
पोखरा लेकसाइड चौबिसै घण्टा खोल्ने विषयमा के कसो भएको हो ? निवेदकको माग अनुसारको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाण सहित म्याद सूचना तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ पेश गर्न अदालतले आदेश दिएको छ ।

२०६२/६३ को जनआन्दोलन र माओवादी शान्ति प्रक्रियामा आएपछि नै लेकसाइड चौबिसै घण्टा खोल्ने विषय उठ्न थालेको थियो । यसअघि प्रधानमन्त्री र नेताहरुले पोखराको पर्यटकीय क्षेत्र लेकसाइड चौबिसै घण्टा खोल्ने वातावरण बनाउने आश्वासन दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गण्डकीका अहिलेसम्मका सबै मुख्यमन्त्रीले लेकसाइड चौबिसै घण्टा खोल्ने आश्वासन दिएका थिए ।
यसअघि गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले त लेकसाइडमा भएको कार्यक्रमबाटै प्रहरी प्रमुखलाई फोन गरेर तत्काल लेकसाइड २४ सै घण्टा खोल्ने प्रवन्ध मिलाउन निर्देशनै दिएका थिए ।
पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लेकसाइड चौबिसै घण्टा खोल्नेमात्रै होइन, रेडलाइट एरियाबारे पनि बहस हुनुपर्ने बताएपछि ठूलो चर्चाको विषय बनेको थियो । पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपालीदेखि अहिलेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि लेकसाइड क्षेत्र चौबिसै घण्टा खोल्नुपर्ने बताउँदै आएका छन् । पोखराका मेयर धनराज आचार्यले त नीति तथा कार्यक्रममै पोखरालाई २४ घण्टा खुला राख्ने बताएका छन् ।
पर्यटन व्यवसायीले सुरक्षा प्रवन्ध मिलाएर पोखरालाई चौबिसै घण्टा खुला राख्नुपर्ने आवाज उठाउँदै आएका छन् । तर, लेकसाइडकै एकाथरी व्यवसायी भने २४ घण्टा खोल्दा समस्या आउने भन्दै विभाजितसमेत छन् ।
लेकसाइड चौबिसै घण्टा खोल्ने विषयमा प्रहरी प्रशासनले भने अहिले पनि चुनौतीपूर्ण देखेकेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सरकारले बनाएको कार्यविधिअनुसार मापदण्ड पुर्याउनेलाई २४ घण्टा नै व्यवसाय खोल्न दिन सकिने बताउँछन् ।
अदालतको आदेशलाई सम्मान गर्नुपर्ने भए पनि तत्काललाई सुरक्षा चुनौती रहेको घिमिरेको भनाइ छ ।
कास्की प्रहरी प्रमुख मोहन थापाले अहिलेकै अवस्थामा चौबिसै घण्टा खोल्न कठिन रहेको बताए । अहिले कास्कीमा १ जना प्रहरीले १ हजार जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको थापाले सुनाए ।
‘एकातिर जनशक्तिको अभाव छ भने अर्कोतिर सीसी क्यामेरा, साउण्ड प्रुफ, सेक्युरिटी गार्डको व्यवस्था पनि हुनुपर्यो । नत्र सम्भव हुने कुरा होइन, यसले अपराध बढाउँछ’, एसपी थापाले भने, ‘प्रहरीको एक्लो प्रयासले मात्र हुँदैन । स्थानीय तहले चोक चोकमा आधुनिक सीसी क्यामेरा राख्नुपर्यो । व्यवसाय गर्दै गर्दा अर्को मान्छे पीडित हुनु भएन । व्यवसायीले सेवाग्राहीको ग्यारेन्टी लिनुपर्यो ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4