+
+

अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी भएर फर्किइन् देवकी

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ७:४०

२३ कात्तिक, काठमाडौं । जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भइ स्वदेश फर्किएकी छन् ।

जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिनासम्म भएको सेमिनारमा सहभागी भई देवकी स्वदेश फर्किएकी हुन् ।

सेमिनार एनपीओ जुडोसले आयोजना गरेको हो । सेमिनारका केही कक्षा जापान कोदोकानमा पनि भएको थियो ।

जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानको विभिन्न डोजो, जुनियर हाइ स्कुल, सिनियर हाइ स्कुल, कलेज, विश्वविद्यालयहरुमा प्रशिक्षण गर्ने अवसर पाएकी थिइन् ।

देवकीलाई एनपीओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिएका थिए । गैर नाफामुलक संस्था एनपीओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेईं इनोइ हुन् ।

यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी भएको नेपाल जुडो संघका सदस्य समेत रहेका बन्दी सहायता नियोग (पाम) का जुडो प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका छन् । देवकी पाममै ७ वर्षको उमेरदेखि हुर्केकी हुन् । त्यहीबाट देवकीले सन् २००९ देखि जुडो खेल्न थालेकी थिइन् । देवकी हाल पाममा सहायक प्रशिक्षक छिन् । घरेलु प्रतियोगितामा देवकी एक पटक मात्र मनीता श्रेष्ठ प्रधानसंग फाइनलमा पराजित भएकी छन् । मनीता पनि पामकै उत्पादन हुन् ।

देवकीले हालै चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिइन् । देवकीका दाइ इन्द्र र निशा पनि आ–आफ्नो तौलसमूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुन् ।

देवकीले सेमिनारबाट आफूले महत्वपूर्ण ज्ञान हासिल गरेको बताउँदै आफूले सिकेको सीप अरुलाई पनि सिकाएर व्यवहारमा लागू गर्ने बताइन् ।

देवकीले सेमिनारमा सहभागिताको अवसर प्रदान गरेकोमा नेपाल जुडो संघलाई धन्यवाद दिदै एनपीओ जुडोसको पनि प्रशंसा गर्दै आभार व्यक्त गरिन् ।

सूर्यनारायण श्रेष्ठले देवकीले हासिल गरेको ज्ञानबाट नेपाली जुडोलाई धेरै फाइदा पुग्ने बताउँदै यस्ता तालिममा नेपालको सहभागिता नियमित हुन सके नेपाली जुडोको विकासमा समेत टेवा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?