+
+

दुबईमा हुने कोप–२८ सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते ७:१०

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारी गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिन लागेको हो ।

त्यसका लागि वन तथा वातावरण मन्त्रालयले पनि पूर्वतयारी अघि बढाएको छ । पूर्वतयारीका सम्बन्धमा मन्त्रालयले बिहीबार आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका विकास व्यवस्थापन विज्ञ डा. पपुलुर जेन्टलले कोप–२८ मा प्रधानमन्त्री सहभागी हुने जानकारी गराए । ‘यस पटकको जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञ सम्मिलित रहेको सशक्त प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिनेछ,’ उनले भने ।

नेपालबाट हालसम्म तीन सम्मेलनमा मात्र राष्ट्र वा सरकार प्रमुख स्तरबाट सहभागिता भएको छ । सन् २००९ डेनमार्कको कोपहेगनमा भएको १५औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल, सन् २०१८ मा पोल्याण्डमा भएको २४औं सम्मेलनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र सन् २०२१ मा स्कटल्याण्डमा भएको २७ औं सम्मेलनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

सम्मेलनमा पहिलोपटक नेपालको पेभेलियन

कोप–२८ सम्मेलनमा नेपालको पेभेलियनसमेत रहने छ । यसअघिका सम्मेलनमा नेपालको आफ्नै पेभेलियन हुने गर्दैनथ्यो । तर यसपटक पहिलोपटक नेपालको आफ्नै पेभेलियन रहने र उक्त पेभेलियनमा ३० भन्दा बढी क्षेत्र र विषयबारे प्रस्तुति हुने मन्त्रालयले जनाएको छ ।

सम्मेलनको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले नेपालको जलवायुका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेको भन्दै नेपाल उत्साहित समेत छ ।

‘यसपटक टेबल ठटाएर कुरा राख्ने हो । हाम्रा छ अलग–अलग विषयका कार्यपत्र सशक्त रुपमा विश्वलाई सुनाउने हो’ वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले भने ।

मन्त्रालयका अनुसार कोप–२८ सम्मेलनमा नेपालको सहभागीता र नेपालले उठाउने एजेण्डाबारे तयारी तीव्र पारिएको छ । सम्मेलनको तयारी अन्तर्गत मन्त्रालयले सातै वता प्रदेशमा अन्तर्क्रिया गरी सुझावसमेत संकलन गरिसकेको छ ।

मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव डा. बुद्धिसागर पौडेलका अनुसार सम्मेलनमा नेपालका तर्फबाट उठाउनुपर्ने विषयको तयारीका लागि जलवायु वित्त, अनुकूलन, पर्वतीय प्रविधि हस्तान्तरण र क्षमता अभिवृद्धि, हानि र नोक्सानी, लैङ्गिक, युवा, बालबालिका, जलवायु सशक्तीकरण, जलवायु परिवर्तनका असर न्यूनीकरण गरी ६ बुँदामा केन्द्रित रहेर विज्ञ समूह गठन गरी सुझाव संकलन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?