
२४ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुरठिमी– ३ कौशलटारमा फेला परेको चितुवा डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको छ ।
चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालयका काठमाडौंका वन अधिकृत अशोक पराजुलीको नेतृत्वमा जमदार युवराज कार्की र पशु चिकित्सक आशुतोष भट्टसहितको टोली खटिएको थियो ।
प्रबिन पेट्रोल पम्प पछाडि २ वटा घरको चेपमा लुकेको चितुवालाई डार्ट प्रयोग गरेर नियन्त्रणमा लिइएको र ललितपुरको जावलाखेलस्थित चिडियाखानामा पठाइने पराजुलीले जानकारी दिए ।
अहिले चितुवालाई डिभिजन वन कार्यालय भक्तपुरमा लगिएको छ । त्यहाँबाट पत्र बनाएर चिडियाखाना लगिने छ । ‘सुरुमा चिडियाखाना लगेर स्वास्थ्य जाँच गर्छौं र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाड्छौं,’ वन अधिकृत पराजुलीले भने ।
वन अधिकृत पराजुलीका अनुसार चितुवा वयस्क छ । ‘चितुवा करिब ७–८ वर्षको होला, वजन पनि झण्डै एक सय किलो होला,’ पराजुलीले भने, ‘कठिन संघर्ष गरेर नियन्त्रणमा लिन सफल भएका छौं ।’
सुरुमा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो । आक्रमणबाट दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं ३ बस्ने वर्ष ६५ की अमृता कँडेल र वर्ष ३३ की संगिता आलेमगर घाइते छन् ।
चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो । लगत्तै वन अधिकृत पराजुलीसहितको टोली परिचालित भएको थियो । चितुवा कहाँबाट आयो भन्ने खुलेको छैन ।
चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो । प्रहरीहरू पनि उल्लेख्य संख्यामा परिचालित भएका थिए ।
प्रतिक्रिया 4