+
+

एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते १४:३६

२४ कात्तिक, काठमाडौं । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो ।

चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

असोज महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २५.९ प्रतिशतले धेरै हो । असोज महिनामा नेपालमा चाडबाड मनाउन ठूलो मात्रामा रेमिट्यान्स भित्रन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । जुन अघिल्लो आवको तुलनामा भने कम हो ।

अघिल्लो आवको पहिलो त्रैमासमा १ लाख ४७ हजार ९३२ ले अन्तिम श्रम स्वीकृति र ५७ हजार ८६१ जनाले पुनः श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?