+
+

मासिक एक खर्बमाथि रेमिट्यान्स, मंसिरमा मात्र भित्रियो १३५ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १७:४०

२६ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो पाँच महिनामा रेमिट्यान्स आप्रवाह मासिक एक खर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यस अनुसार यस वर्ष हरेक महिना १ खर्ब रुपैयाँ भन्दा माथि रेमिट्यान्स आएको छ । मंसिर महिनामा मात्र १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ ।

कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रहेको रेमिट्यान्स मंसिर मसान्तमा पुग्दा ६ खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंसिरसम्मको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २७.६ प्रतिशत धेरै हो । अघिल्लो वर्ष रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४ अर्ब ६२ करोड रहेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २४.५ प्रतिशत हो । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने गत वर्षको तुलनामा कम रहेको छ । यस वर्ष ५ महिनामा १ लाख ७३ हजार ५५५ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । गत वर्ष यो संख्या २ लाख ३६ हजार ७७९ रहेको थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष १ लाख ४ हजार ३७ रहेको छ । गत वर्ष यसै अवधिमा १ लाख १५ हजार ९४८ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?