+
+

‘ढुंगामाटोको घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ’

ढुंगामाटोको घरलाई भूकम्प प्रतिरोधी बनाउन काठ र ग्याबिन तारजालीको प्रयोग गर्नुपर्छ । चौडाइमा लम्बाइ र उचाइको अनुपात मिलाउनुपर्छ, दुई तलाभन्दा अग्लो बनाउनुहुँदैन । यसो गर्ने हो भने ती घरहरूले भूकम्प थेग्न सक्छन् ।

विजयकृष्ण उपाध्याय, इञ्जिनियर विजयकृष्ण उपाध्याय, इञ्जिनियर
२०८० कात्तिक २४ गते १६:११

नेपालको सिंगो भूभागमा कहाँ कतिबेला र कसरी भूकम्प जान्छ कसैलाई थाहा छैन । कुन ठाउँ कत्तिको भूकम्पीय जोखिममा छ र कतिबेला भूकम्प जाने सम्भावना छ भनेर वर्गीकरण गर्ने र त्यसमाथि अध्ययन गर्ने काम भइसकेको छैन । समग्र नेपाल भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील छ ।

मान्छेले केलाउने इतिहास ५०० देखि हजार वर्ष पुरानो होला । भूकम्पको इतिहास पृथ्वीको जीवनसँग जोडिएको छ । पृथ्वीको पनि जन्म भएको थियो र एक दिन गएर यसको पनि अन्त्य हुन्छ भन्ने वैज्ञानिक दृष्टिकोण छ ।

हाम्रो स्मरणशक्ति लिखित इतिहास भएपछिको करिब २ हजार वर्ष पुरानो होला । त्योभन्दा अगाडिको विगत मौखिक रूपमा भन्ने र सुन्नेले सार्दै जाने खालको थियो । नेपालको हकमा त्यस्तो इतिहास विक्रम संवत् १२०० हाराहारी वा त्यसपछि मात्रै छ ।

नेपालमै पनि पूर्वी खण्डको तुलनामा पश्चिमतिर बढी जोखिम छ भनिन्छ । अघि भनिएको इतिहास हेर्दा पूर्वी नेपालमा पछिल्लो सय वर्षको अनुपात हेर्दा मझौला मात्रै होइन कि ठूला भूकम्पहरू आइरहेका छन् । पश्चिमतर्फ गोरखादेखि काँगडासम्मको क्षेत्रमा ५२० वर्ष पहिले काँगडा/कुमाउमा गएको भूकम्पको श्रुति छ । त्यसयता ठूलो भूकम्प नगएकोले त्यो क्षेत्र जोखिममा छ भनिएको हो ।

भूकम्पविद् र भूगर्भविद् दुवैको सहमतियुक्त मत अनुसार, हामीले अनुमान गरे जस्तो अथवा मोटामोटी हिसाब गरेको समयमा भूकम्प जाँदैन । त्यसको तीव्रता, क्षति लगायत विषय हामीले अनुमान गरेभन्दा फरक पनि हुनसक्छन् ।

२०७२ सालको भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक थियो । धेरैले त्यसभन्दा अघि अब जाने भूकम्पले पश्चिमतिर हान्छ भन्ने सोचाइ राखेका थिए । त्यसले पूर्वतिर हान्यो । पूर्वमा आएको तरंग काठमाडौंमा आएर अड्कियो, त्यसैले काठमाडौं ठूलो जोखिममा छ भनियो, तर त्यस्तो भएन । वैशाख १२ को त्यो भूकम्पपछि कतिपय विद्वान्हरूले अब ५०/६० वर्ष यो क्षेत्रको जोखिम टर्‍यो पनि भनेका थिए । वैशाख २९ गते त्यत्तिकै शक्तिशाली अर्को भूकम्प गयो ।

त्यो परकम्प हो कि मुख्य कम्प हो भन्ने कुराले हामीलाई केही फरक नपार्ने रहेछ । हामीलाई हुने क्षतिका दृष्टिले हेर्दा परकम्प र मुख्यकम्पले केही फरक नपर्दो रहेछ । २०७२ साल र त्यसपछिको भूकम्पले नेपालको जोखिम घटेको छैन । भूकम्पका कारण शक्ति क्षीण भएर अब तत्काल अर्को भूकम्प नजाला कि भन्ने अवस्था छैन ।

 पुरानै संरचना पनि बलिया थिए

नेपालका संरचनाहरू भूकम्प प्रतिरोधी छैनन् । यिनीहरूलाई भूकम्प प्रतिरोधी घर बनाउन आउँदैन, विकसित राष्ट्रहरूले नै सिकाउनुपर्छ भन्ने मनोवृत्ति सरासर गलत हो । यस क्षेत्रमा कस्ता कस्ता सामग्री पाइन्छ र तिनको प्रयोगले कसरी भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्छ भन्ने कुरा नेपाली मात्रै होइन कि हिमाली क्षेत्रमा बस्नेलाई पनि थाहा थियो । यो वा त्यो कारणले त्यो पद्धति छुट्दै, बिर्सिंदै, मासिंदै आएको मात्रै हो ।

२०७२ सालको भूकम्पअघि हामीले अनुमान गरेका थियौं कि अब ठूलो भूकम्प आयो भने असन, इन्द्रचोक लगायतको बस्ती बोडे लगायतका पाखा सखाप हुन्छन् । साथै ढलान गरेर बनाएका घर बलिया छन्, तिनीहरू जोगिन्छन् भन्ने थियो । तर गोंगबु लगायत क्षेत्रमा बनाइएका आधुनिक र ठूला घरहरूमा ज्यादा क्षति भयो । त्यत्तिका आधारमा अब हामीले आरसीसी ढलानयुक्त घर जोखिमयुक्त हुन्छन्, त्यस्ता घर बनाउनुहँुदैन भन्दै हिंड्न मिल्छ र ?

सय वर्ष मात्रै होइन, दुई/तीन सय वर्ष पुराना घर समेत भूकम्पले केही नभएका उदाहरण छन् । असन, इन्द्रचोक र मंगलबजार क्षेत्रमा २०७२ वैशाखको भूकम्पपछि टेको राखिएको थियो, अहिले कैयौं ठाउँको टेको हटाइएको छ । ढुंगामाटो वा इँटामाटोको जोडाइ कमजोर हुन्छन्, त्यसलाई लचकता प्रदान गर्न त्यसमा काठको अधिकतम प्रयोग गरिएको हुन्थ्यो । लचकताका कारण हाम्रा घरहरू उभिइरहेका थिए ।

अहिले जाजरकोटको भूकम्पपछि जति पनि भिडियो र फोटो हेरेको छु, जहाँ काठको व्यवस्थित प्रयोग भएको छ, त्यस ठाउँका घरहरू धुलोपिठो भएका, गल्र्याम्म लडेका छैनन् । दुई तलाका घरहरू पनि सग्लै छन्, त्योभन्दा माथिको तला मात्रै बिग्रेको छ । रुकुम, जाजरकोटकै दुई/तीन तले घरहरू पनि एउटा तला घटेको छ, अरू सग्लै छन् । गल्र्याम्म लडेका घरहरूमा के समस्या रहेछ ? तिनको पनि अध्ययन हुनुपर्छ ।

यदि ढुंगामाटोका घरहरू भूकम्पले थेग्दैनन्, सिमेन्ट र आरसीसीकै घरहरू बनाउनुपर्छ भन्ने हो भने फेरि चरिकोट र गोंगबु नदोहोरिएला भन्न सकिंदैन । चरिकोटमा सातदोबाटोदेखि चरिघ्याङसम्म भत्किएका सबै घरहरू आरसीसीका थिए ।

आरसीसी प्रयोग हुँदैमा मात्रै घर बलियो हुन्छ भन्ने बुझाइ सही होइन । ढुंगामाटोबाट पनि भूकम्प थेग्ने घरहरू बनाउन सकिन्छ । यो चुनौतीलाई प्राविधिकहरूले पनि स्वीकार्नुपर्छ ।

नेपालमा सबैसँग आरसीसी घर बनाउनसक्ने क्षमता, दक्षता छैन । त्यसका लागि निर्माण सामग्री उपलब्ध गराउन सक्ने राज्यको दक्षता पनि छैन । त्यसैले ढुंगामाटोबाटै घर बन्नुपर्छ र त्यस्तो घर भूकम्प प्रतिरोधी बनाउन सकिन्छ ।

बिर्सिएको सीप

अहिले पश्चिमका घरहरू तुलनात्मक रूपमा बढी क्षति भए, किन ? भन्ने प्रश्न बारम्बार आउँछ । पूर्वी नेपालको तुलनामा पश्चिमतिर बारम्बार भुईंचालो गइरहेको छैन । त्यसले गर्दा मानिसहरूले भूकम्प प्रतिरोधी घर र संरचना बनाउन बिर्सिएका छन् । बारम्बार भुईंचालो नगएपछि प्रतिरोधी घर बनाउन पनि आवश्यक भएन । तर पनि सानोतिनो भुईंचालोले पनि बढी क्षति गरेको छ ।

अहिले यो विवरण सुन्नेहरूलाई नौलो लाग्ला । तर, २०३७ सालमा बझाङको भूकम्पले योभन्दा बढी क्षति गरेको थियो । अहिले १५२ जनाको निधन भएको छ, त्यो बेला करिब १८० जनाको मृत्यु भएको थियो । त्यतिबेला जनसंख्या र घरहरू निकै पातला थिए । भूकम्पीय जोखिम उत्तिकै छ, तर हामीले प्रतिरोधी संरचना बनाउन बिर्सियौं ।

पश्चिम नेपालका कतिपय ठाउँमा गारो लगाउने भन्दैनन्, ढुंगामाटो जोडेर बान्नो लगाउने भन्छन् । त्यो भनेको ढुंगामाटोको संरचनालाई बलियोसँग बाँध्ने भनेको हो । तर शब्दमा मात्रै रह्यो, त्यहाँका कर्मीहरूले बाँध्न बिर्सिए । बान्ने भन्ने सामग्री काठको हुन्थ्यो, अब विस्तारै त्यो राख्न बिर्सिए ।

अहिले भत्किएका घरहरूको फोटो र भिडियो हेर्दा गारो लगाउँदा सही ढुंगाहरूको छनोट गरेको देखिएन । न त्यहाँ सुर ढुंगा छन्, न बन्धन ढुंगा छन्, कतिपय घरमा गोला ढुंगाहरू जस्ताको तस्तै छन् । कतिपय ठाउँमा घर सग्लै भए पनि भित्ताको पाखो भत्किएको छ ।

जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि बेलायती भवनहरूको नक्कल हुन थाल्यो । उनले ठूला दरबार बनाउन थालेपछि आसपासका र हुनेखाने मानिसले पनि ठूला घर बनाउन खोजे । जनमानसमा पनि त्यसको देखासिकी हुन थाल्यो । बेलायतमा भूकम्पको जोखिम नभएका कारण त्यहाँ भूकम्प थेग्ने प्रविधिलाई उतिसाह्रो महत्व दिइँदैन । हाम्रो मल्लकालीन र लिच्छविकालीन वास्तुकला हेर्दा भूकम्प प्रतिरोधी प्रविधि देख्न सकिन्छ ।

हामीले भूकम्प प्रतिरोधी भन्नासाथ जस्तोसुकै भूकम्प पनि थेग्न सक्छ कि भन्ने अनुमान गरेका छौं, जुन आफैंमा सत्य होइन । भूकम्प प्रतिरोधी घर सानोतिनो भूकम्पमा केही हुँदैन, मझौला भूकम्पमा अलिअलि चर्केको हुनसक्छ । ठूलो भूकम्पमा ढल्नै पर्‍यो भने पनि केही समय लाग्छ । त्यहाँ रहेका मानिसहरू बाहिर निस्कन समय पाउँछन् ।

२०७२ सालको भूकम्पपछि चरिकोट, गोरखा लगायत ठाउँमा हेर्दा ध्वस्त भएका बस्तीहरूमा पनि केही घरहरू सग्लै थिए । त्यहाँका स्थानीय र जानेका मानिसहरूसँग कुरा गर्दा त्यो घर कामै नलाग्ने भएको छ, भित्र जान खतरा छ भन्थे । तर, सामानहरू बाहिर निकालेका रहेछन्, मान्छेहरू कसैलाई केही भएको रहेनछ ।

अनि मैले भने, ‘यस्तै घरहरूलाई भुईंचालो थेग्ने घर भनेको हो । उनीहरूले जवाफ दिए, ‘फलानो फलानो घर त १९९० सालभन्दा पुराना हुन् । उनीहरूको त्यही भनाइले पुष्टि गर्छ कि हाम्रो मौलिक निर्माण विधि केही हदसम्म भूकम्प प्रतिरोधी रहेछ । म पूर्णतया भूकम्प प्रतिरोधी भनेर दावी गर्न सक्दिनँ तर ती घरले धेरै हदसम्म भूकम्प थेगेका रहेछन् । हाम्रा कतिपय पुराना सम्पदाहरू पनि भूकम्प थेगेर जोगिएका थिए ।

अब कसरी प्रतिरोधी घर बनाउने ?

रैथाने प्रविधिको प्रयोगले नै सापेक्षिक रूपमा भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ, तर त्यसका केही सीमितताहरू छन् । नेपाली मौलिक विधिबाट बनेका पुराना घरहरू हेर्ने हो भने चौडाइ जति छ, लम्बाइ डेढ/दुई गुणाभन्दा बढी हुँदैन । प्रायःजसो डेढ, कहीं कतै मात्रै दुई गुणा हुन्छ । उचाइ पनि चौडाइको डेढ गुणाभन्दा बढी अग्लो बनाएको भेटिंदैन । हाम्रा घरहरू ६ फिटभन्दा अग्ला भेटिंदैनन् ।

जति होचो घर बन्यो, भूकम्पबाट त्यति नै सुरक्षित छन् । तर अहिले अग्ला घरहरू बनाउने चलन भयो । हाम्रो घर बनाउने परम्परागत विधिले भूकम्प थेग्ने विधिलाई आत्मसात् गरेको थियो । तर, त्यसलाई विस्तारै छाड्दै गयौं ।

ढुंगामाटोको घरलाई पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ । त्यसका लागि ढुंगामाटोका साथै काठको ज्यादा प्रयोग गर्नुपर्छ । जसरी सडक बनाउँदा तारजालीमा ढुंगा राखेर ग्याबिन वाल बनाइन्छ, त्यही ग्याबिन तारजालीको प्रयोग गर्न सकिन्छ ।

सबै ठाउँमा ढलान गर्न महँगो भएकाले रैथाने प्रविधि प्रयोग गरेर भूकम्प थेग्ने घर बनाउने प्रविधि बनिसकेको छ, कतिपय ठाउँमा प्रयोग हुन थालेको छ । यस्ता घरका केही सीमितताहरू छन् । यी घरहरू दुई तलाभन्दा अग्लो बनाउन हुँदैन । चौडाइमा लम्बाइ र उचाइको अनुपात मिलाउनुपर्छ । यसरी व्यवस्थापन गरियो भने ती घरहरूले भूकम्प थेग्न सक्छन् ।

अहिलेको भूकम्पले कतिपय घरहरू चर्किएका र बस्न नसकिने अवस्थामा पुगेका छन् । त्यस्ता घरहरूको प्राविधिक लेखाजोखा गरेर तिनलाई प्रबलीकरण गर्न सकिन्छ । प्रबलीकरणका लागि पनि ग्याबिन तार, काठ र बाँसको प्रयोग गर्न सकिन्छ । तर, कतिपय ठाउँमा बाँसहरू खासै बलियो नभएकाले त्यति जोड दिइँदैन ।

नयाँ घर बनाउँदा यिनै विधि अपनाउन सकिन्छ । जम्माजम्मी दुई शब्दको सूत्र सम्झने हो भने धेरै हदसम्म यसको सम्बोधन हुन्छजोडाइ र बन्धन । भित्ताहरूका इकाइहरूको जोडाइ एकअर्कासँग राम्रो भयो भने भूकम्प प्रतिरोधी संरचना बन्छ । घरका कम्तीमा चारवटा भित्तालाई ठाउँठाउँमा बाँधेर बन्धन बनाइन्छ । चोटा र छानाहरूलाई भित्ता लगायतका संरचनामा राम्रोसँग बाँध्ने हो भने राम्रो संरचना बन्छ, रैथाने सामानबाट घर बनाउँदा यो सूत्रको विकल्प छैन ।

(भूकम्प प्रतिरोधी संरचना निर्माणको मामिलामा साढे दुई दशकको अनुभव भएका इञ्जिनियर उपाध्याय भूकम्प प्रविधि राष्ट्रिय समाजका पूर्वनिर्देशक हुन् । अनलाइनखबरका लागि कृष्ण ज्ञवालीसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?