
२४ कात्तिक, काठमाडौं । नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा शुक्रबार रजत जितेकी छन् ।
ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको महिला सिंगल्स फाइनलमा भारतकी एलिना फरिडसँग ६–३ र ६–४ ले चुकेपछि सुनिरा रजतमा सीमित भएकी हुन् ।
बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको उक्त स्पर्धामा २७ खेलाडी सहभागी थिए । सुनिरा पहिलो चरणमा बाइ पाउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् ।
प्रिक्वाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७–५ र ७–६ ले पराजित गरेकी सुनिराले क्वाटरफाइनलमा भारतकै प्रिन्सी मन्दागाल्लालाई ६–४ र ६–४ ले पराजित गरिन् ।
सेमिफाइनलमा सुनिराले भारतकै देवान्सी गोहिलमाथि ६–३ र ६–० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
उक्त प्रतियोगितामा नेपालबाट आइशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पदकविहीन बने ।
नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट– २ मा पनि सहभागिता जनाउने छ । सर्किट-२ भने बंगलादेशको राजशाहीमा हुनेछ ।
प्रतिक्रिया 4