+
+

किसानलाई माला गाँस्न भ्याइनभ्याइ, एउटै मालाको २०० सम्म

रासस रासस
२०८० कात्तिक २५ गते १९:५४
फूलखेतीको फाइल तस्वीर ।

२५ कात्तिक, घोराही (दाङ) । दाङमा फूलखेती गरेका किसानलाई अहिले टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् ।

घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिक रूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर फूल टिपेर माला बनाउन थालेका छन् । यस्तै घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढा मगर पनि तिहारका लागि आजदेखि फूल टिपेर माला बनाउन थालेका छन् । घोराही उपमहानगरपालिका–१४ मा फूल खेती गर्दै आएका वीरेन्द्र खड्काले पनि फूल टिपेर माला बनाउन थालेको बताए । उनले विगतमा तिहारको समयमा रु सात लाखभन्दा बढीको फूल बिक्री गरेको बताए ।

लोकेन्द्र, इन्द्रा र वीरेन्द्र जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि फूल बिक्रीको तयारी थालेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरुको भनाइ छ । माला बनाएर शीतभण्डारमा राख्ने तर्खरमा किसान छन् । जिल्ला बाहिरबाट समेत फूलको माग आएको घोराही उपमहानगरपालिका–१४, झिगौरास्थित जलजला पुष्प खेती फार्मका सञ्चालक लोकेन्द्र रोका मगरले बताए ।

‘जिल्लाभित्रैकै माग धेरै छ’, उनले भने । रोका मगरले दुई बिघा जग्गा भाडामा लिएर फूलखेती गरेका छन् । उनले झिगौरासँगै सुनपुरमा पनि फूल खेती गरेका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दसैँतिहारलगायत पर्व तथा अरु बेला फूलको माग आउन थालेपछि फूलखेती गर्न थालेका हुन् । ‘दाङमा व्यावसायिक रूपमा फूलखेती कतै थिएन, काठमाडौँमा फूलखेती व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले पनि सुरु गरेको हुँ’, रोका मगरले भने ।

रोका मगरले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक फूलखेती गर्दै आएका छन् । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको समस्या नभएको उनी बताउँछन् । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाट समेत फूलको माग हुने गरेको छ । पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रै महिना फूल उत्पादन सुरु गरेको बताए । फूलको माग दसैँतिहारमा बढी हुने गरेको उनको भनाइ छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनले बताए ।

जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत रोका मगरको आग्रह छ । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिक रुपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत ७ वर्षपहिले देखि व्यावसायिक रुपमा फूलखेती गर्दै आएका छन् । उनले पनि अहिले फूल टिपेर माला बनाउन थालेका छन् ।

प्रति माला ८० देखि दुई सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बुढाले बताए । जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनी बताउँछन् । अहिले १२ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको बुढाले बताए ।

एकदुई कट्ठाबाट सुरु भएको जिल्लाको फूलखेती हालआएर २५ बिघामा पुगेको छ भने ५० भन्दा बढी किसान व्यावसायिक रुपमै फूलखेतीमा जोडिएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले वातावरणीय सन्तुलन कायम राख्न तथा स्थानीयको उत्पादनलाई बढावा दिन सर्वसाधारणमा कृत्रिम फूलको प्रयोग नगरी प्राकृतिक फूलका माला प्रयोग गर्न र अटेरी गरे कारबाही सहितको सूचना जारी गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?