+
+

लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने इजरायलको धम्की

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते ७:५६
इजरायलका रक्षामन्त्री योआब गेलेन्ट ।

२६ कात्तिक, काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ ।

लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् ।

रक्षामन्त्री गेलेन्टले भनेका छन्, ‘हिजबुल्लाह गम्भीर गल्तीको नजिक पुगेको छ । यसको परिणाम लेबनानका नागरिकले भोग्ने छन् । हामीले अहिले गाजामा जे गरिरहेका छौं, त्यस्तो बेरुतमा कसरी गर्ने भन्ने कुरा हामीलाई थाहा छ । बेरुतको पनि त्यसै हालत हुनेछ, जो गाजाको छ ।’

प्यालेस्टाइन चरमपन्थी समूह हमासले गत असोज २० गते इजरायलमा एक्कासी आक्रमण गर्दा १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको थियो । लगत्तै इजरायलले युद्ध घोषणा गर्दै हवाई र स्थल कारबाही सुरु गरेको थियो ।

हमासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणबाट गाजा क्षेत्र तहसनहस भएको छ । इजरायलको आक्रमणबाट बालबालिकाहरुसहित १० हजार जतिको मृत्यु भएको अनुमान छ ।

इजरायल विरोधी देश र समूहहरुले इजरायललाई आक्रमण रोक्न दबाब दिँदै आएका छन् । आक्रमणको विरोध गर्दै हिजबुल्लाहले लेबनानतर्फबाट इजरायलमा आक्रमण जारी राखेको छ ।

लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले युद्ध अपराध गरेको अभिव्यक्ति शनिबार दिएका थिए ।

हिजबुल्लाहका नेता हसन नसरलल्लाह ।

हिजबुल्लाहको टेलिभिजनबाट सार्वजनिक भाषणमा उनले इजरायलमाथि दक्षिणी लेबनानतर्फबाट आक्रमण जारी राख्ने बताएका छन् । ‘यो आक्रमण गाजामा चलिरहेको इजरायल-हमास युद्धमा प्यालेस्टिनी जनताको समर्थनका लागि हो,’ उनले भनेका छन् ।

हिजबुल्लाहका नेताको यही भाषण सार्वजनिक भएपछि इजरायलले कडा प्रतिक्रिया जनाएको हो ।

इजरायलले प्यालेस्टिनी जनताको विद्रोह दबाउन खोजेको तर उसको उद्देश्य पूरा नहुने भन्दै नसरल्लाहले नयाँ पुस्ताले इजरायलको झन् बढी विरोध गर्ने बताए । उनले इजरायलविरुद्ध इस्लामिक देशहरुलाई एकजुट हुन अपिलसमेत गरेका थिए ।

शनिबार नै साउदी अरबको राजधानी रियादमा इस्लामिक र अरब देशहरुको संयुक्त सम्मेलन आयोजना गरिएको थियो । ‘आपतकालीन’ र ‘असाधारण’ भनिएको यो सम्मेलनले इजरायललाई तुरुन्त संघर्ष विरा मगर्न अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?