+
+

ठूला भन्सार विन्दुले उठाउन सकेनन् लक्ष्य अनुसार राजस्व

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १६:५१

२६ कात्तिक, काठमाडौं । सबैजसो ठूला भन्सार विन्दु लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएका छन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा बढी वैदेशिक व्यापार हुने सबै ठूला भन्सार कार्यालयहरु लक्ष्य भेट्टाउन असफल भएका हुन् ।

नेपालमा सबैभन्दा धेरै वैदेशिक व्यापार वीरगञ्ज भन्सारबाट हुने गर्छ । यो भन्सार विन्दुबाट लक्ष्यको ६८.३५ प्रतिशत मात्र राजस्व उठेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार वीरगञ्जबाट गत साउनदेखि असोज मशान्तसम्मको तीन महिनामा ५६ अर्ब ८४ करोड रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य थियो । तर ३८ अर्ब ८५ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

विराटनगर भन्सारबाट आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासमा १२ अर्ब ८० करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको थियो । तर ८ अर्ब २९ करोड रुपैयाँ मात्र संकलन भएको छ । वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार विन्दुबाट १५ अर्ब ६० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा १३ अर्ब १३ करोड रुपैयाँ संकलन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउनदेखि असोजसम्मको तीन महिनामा ७ अर्ब ७७ करोड राजस्व उठ्ने अनुमान गरिएकामा ५ अर्ब ५९ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

चोभारस्थित सुख्खा बन्दरगाह भन्सारबाट ८ करोड ८४ लाख रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएकामा संकलन भने ८ करोड ५३ लाख संकलन भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ करोड ५० लाख भन्सार राजस्व उठ्ने अनुमान गरिएकोमा १ लाख ३९ हजार रुपैयाँ मात्र भएको छ ।

तातोपानी भन्सार विन्दुबाट भने लक्ष्यभन्दा दोब्बर राजस्व संकलन भएको छ । यो भन्सार विन्दुबाट तीन महिनामा १ अर्ब १५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकामा २ अर्ब ४८ करोड रुपैयाँ संकलन भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

भन्सार राजस्व लक्ष्यको ७५ प्रतिशतमात्र

भन्सार विभागका अनुसार पहिलो त्रैमासमा भन्सार महसुल लक्ष्यको ७५ प्रतिशत मात्र उठेको छ । साउनदेखि असोजसम्म सरकारले १ खर्ब ४५ अर्ब ७ करोड रुपैयाँ भन्सार राजस्व उठ्ने अनुमान गरेको थियो । तर १ खर्ब ८ अर्ब ३८ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?