+
+

गाजाबाट बाइडेनलाई पत्र- ‘मूर्खतापूर्ण हत्या’ रोक्न किन बोल्दैनौ ?

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १७:५८
गाजाको खान युनिस शरणार्थी शिविरमा इजरायली आक्रमणमा ज्यान गुमाएकी ३ वर्षकी बालिका

प्रिय राष्ट्रपति बाइडेन

अक्टोबर २६ मा उठ्दा गाजामा हत्याको अर्को समाचार सुन्नुपर्‍यो । यसपटक  इजरायलले मेरो आफ्नै परिवारका सदस्यहरुको हत्या गरेको थियो । अपराधस्थल गाजापट्टीको दक्षिणी भागमा पर्ने खान युनिस शरणार्थी शिविर  हो । दक्षिणी भागको खान युनिस सहर तुलनात्मक रुपमा सुरक्षित मानिन्थ्यो । म स्वयं जन्मिएको र हुर्किएको त्यस भवनमा इजरायलले निर्ममतापूर्वक हमला गर्‍यो । क्षणभरमै त्यसलाई ध्वस्त बनायो ।

भवन हल्लिँदा मानिसहरुले भुइँचालोको लख काटे । तर त्यो मानव सिर्जित आततायी भूकम्प थियो । त्यस हमलामा ४७ जना भगवानको प्यारो भए । त्यसमध्ये ३६ जना मेरै परिवारका सदस्य थिए ।

श्री बाइडेन, अढाइ वर्षअघि ह्वाइटहाउसमा जर्ज फ्लोइडको हत्या प्रकरणमा अदालतले प्रहरीलाई दोषी ठहर गरेपछि सम्बोधन गर्दा भनेका थियौ-‘अत्ति ! अत्ति !! अत्ति !!! भो । मूर्खतापूर्ण हत्या अत्ति भो ।’

आज प्यालेस्टाइन निहत्था नागरिकको हत्याप्रति समवेदना प्रकट गर्न अस्वीकार मात्रै गरेका छैनौं यस्ता मुखर्तापूर्ण हत्याका लागि इजरायललाई उक्साइरहेका छौ । तिम्रो आकांक्षा खुशी खुशी साथ इजरायलले पूरा गरिररहेको छ ।

अश्वेत अमेरिकीहरुलाई प्रहरी वा सुरक्षा संयन्त्रले मार्दा अश्वेत अमेरिकी समुदायले मारिएका व्यक्तिको सम्मानमा उसको नाम जोड जोडले लिन्छन् । युद्ध मच्चाउन अमेरिकाझैं माहिर इजरायलले प्यालेस्टाइनहरु मारेकाले मृतकको सम्मानमा म पनि उनीहरुको नाम जोड जोडले उच्चारण गर्न चाहन्छु ।

आज मेरा ७९ वर्षीय हजुरबुवा नइफ अब्बु शम्मला र ७६ वर्षीया हजुरआमा फतियाको शोकमा मौन धारण गर्दछु । यी दुबै इजरायल बनाउनका निम्ति चलाइएको जातीय सफायमा समेत बाँचेका थिए ।

सन् १९४८ मा उत्तरी गाजाको बेत दरासमा जातीय सफायका क्रममा ५३० प्यालेस्टाइनले ज्यान गुमाएका थिए । त्यसपछि फतिया र नइफ जस्ता ७ लाख ५० हजारले खान युनिस शरणार्थी शिविरमा शरण लिएका थिए । घर फिर्ती नहुन्जेलसम्मका लागि त्यस शिविर उनीहरुको अस्थायी आश्रय स्थल थियो ।

श्री बाइडेन, राष्ट्रसंघले सुरक्षित गरेको घर फिर्तीको अधिकार प्रयोग गर्न नपाउँदै दुबैले संसार छोडे । त्यस शिविरको आततायी हमलाले नइफ र फातियाका छोरीहरु समेत मारिए । सुरक्षित हुने आशामा उनीहरु घर छोडे बा-आमा बसेको आश्रयस्थलमा पुगेका थिए ।

घटनामा नाइफ र फातियाका चार छोराहरु मारिए । सन, महम्मुद, मोहम्मद जुहेरसँगै उनीहरुका श्रीमती फादिया, निमा र इशाको पनि प्राण गयो । जुहेरकी श्रीमती बाँच्न सफल भएपनि उनले पतिसँगै छोरा गुमाइन् ।

मेरी अर्की ९२ वर्षीय हजुरआमा पनि मारिइन् । नक्बा घटनामा बाँचेकी उनको इजरायली हमलामा ज्यान गयो । उनी खान युनिसमै छोरीको घरमा बस्थिन् । दुबैजना अहिले भग्नावशेषमा पुरिएका छन् । उनीहरुलाई निकाल्ने प्रयास सफल भएको छैन । त्यससँगै टाँसिएको उनका दुई छोरा मरवान र असदको घरमा पनि बमबारी भयो । घटनामा मरवान बाँचे तर उनले श्रीमती र चार सन्तान गुमाए ।

खान युनिसमा मारिएकी ९२ वर्षकी उमा सइद ।

असद शिविरमा सानो पसल चलाउँथे । युनिस शिविर वरपर उनलाई सबैले राम्रो मान्थे । उधारोको हिसाब राख्न पसलमा ठूलो खाता थियो तर धेरैलाई उनले छुट दिएका थिए ।

त्यहाँ बमबारी हुँदा धेरैजना असदकै पसलमा सामान किन्न गएका थिए । असदले त्यहाँ सोलारबाट चल्ने चार्जिङ प्वाइन्ट राखेका थिए । उनले शिविर वरपरका मानिसलाई निशुल्क रुपमा फोन चार्ज गरिदिन्थे ।

श्री बाइडेन, के तिमीलाई इजरायली आमा मात्रै वियोगमा छिन् र प्यालेस्टाइन आमा छैनन् भन्ने लाग्छ ? कि तिमीलाई इजरायली बालबालिकाको जीवन प्यालेस्टाइनभन्दा अमूल्य छ भन्ने लाग्छ?

गाजामा निहत्था नागरिक मार्न इजरायललाई उक्साउने तिम्रो कदमले यी प्रश्न उब्जाएको छ ।  मैले बालबच्चाको कुरा गर्दा मानिसका बच्चाको कुरा गरिरहेछु । जसको आफ्नै नाम छ, पृथक अनुहार छ । निश्चल आवरण छ । स्वच्छन्द हाँसो छ । त्यस्ता चार हजार बालबालिकाको ज्यान इजरायलले लिएको छ । तिमीले इजरायललाई उक्साउँदा हामीले ४ हजार सुन्दर बालबालिका गुमाएका छौं ।

चार हजारको सुचीमा मेरी नातिनी छिन् । जुलिया अब्बु हुसेन जम्मा ३ वर्षकी थिइन् । मेरा भाञ्जा अम्जद र रवान जुलियालाई लिएर शिविरमा आएका थिए ।

शिविरमा हमला सुरु भएलगत्तै रवान जुलियालाई लिएर भान्सातर्फ गएकी थिइन् । इजरायली सेनाको हमलाबाट भान्साको झ्याल टुट्यो । बम खसेसँगै त्यहाँबाट तिखा तिखा सामग्री भान्सातर्फ उछिट्टिए । तीनै तिखा वस्तुहरु लाग्दा जुलिया र उनकी आमाको पनि ज्यान गयो ।

श्री बाइडेन, तिमीले नै समर्थन गरेको आततायी हमलाका कारण कोमला बालबालिकाहरुको ज्यान गएको छ । के तिमी यो वियोग र त्रासदीको पीडा महशुस गर्न सक्छौं वा अझै सामूहिक हत्यामा इजरायल दोषी छ वा छैन भन्ने प्रश्नमा घोत्लिरहेका छौ ?

गाजामा मारिएका मेरा परिवार साथीहरुको मृत्युको व्याख्याले म झनै पीडामा छु । पश्चिमा मिडियाहरु शिविरमा मारिएकाहरुलाई आतंककारी भन्छन् ।  गत गृष्ममा म गाजा जाँदा मेरी ९२ वर्षीया हजुरआमाले मलाई  उनैले बुनेको लुगा दिएकी थिइन् ।

 

त्यो लुगा आफुसँगै क्यानेडा लान उनले जिद्दी गरेकी थिइन् । उनले जे गरिन् म त्यसप्रति निकै अनुग्रहित छु । मेरी हजुरआमा शिविरको भग्नावशेषमा पुरिएपनि उनको सम्झना वा चिनो कम्तीमा मसँगै त छ ।

बाइडेन, जब यो आततायी हमलाको इतिहास लेखिनेछ, म विश्वस्त छु कि यो नरसंहारमा तिम्रो भूमिकाको अंश पनि लेखिनेछ । प्यालेस्टाइनमा युद्ध अपराध मच्चाउन तिम्रो प्रशासनको भूमिका उल्लेख हुनेनै छ ।

बाइडेन तिम्रो नैतिक समर्थनमा मच्चिएको रक्तपात न्यायोचित ठहर्‍याउनका लागि आफ्नो प्रार्थनामा तिमी ईश्वरसँग के भन्छौँ ? कि ईश्वरलाइ पनि रनभुल्ल पार्ने अलौकिक क्षमता तिमीसँग छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?