+
+
अन्तर्वार्ता :

‘टिकटक प्रतिबन्धबारे एक खालको राजनीतिक सहमति थियो’

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २७ गते १९:३३

२७ कात्तिक, काठमाडौं । तिहार बिदा सुरु भइसकेको बेला सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सामाजिक सद्भाव बिथोलिएको कारण देखाई सरकारले गरेको निर्णय तत्काल कार्यान्वयन गर्ने प्रक्रियामा अघि बढिसकेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकलाई प्रतिबन्ध गर्न एक खालको राजनीतिक सहमति नै रहेको बताएकी छन् । मन्त्री शर्मासँग अनलाइनखबरका विनोद घिमिरेले गरेको कुराकानी :

सरकार किन टिकटक बन्द गराउने निर्णयमा पुग्यो ?

यो आकस्मिक रुपमा भएको निर्णय होइन । राजनीतिक दलहरुका बीचमा र मन्त्रिपरिषदमा लामो समयदेखि छलफल भएपछि यो निर्णय भएको हो ।

एक खालको राजनीतिक सहमति पनि थियो । टिकटकबाट पीडित भएकाहरुको धेरै नै गुनासो आएको थियो । सञ्चारमाध्यमहरुमा काम गर्ने सञ्चारकर्मीदेखि आम सर्वसाधारणसम्मले लिखित र मौखिक गुनासो गरेका थिए ।

पछिल्लो समय सामाजिक सम्बन्ध, पारिवारिक सम्बन्ध लगायतमा पनि समस्या भयो । सामाजिक सञ्जाल त अरु पनि छन् । तर अरुमा भन्दा टिकटकमा बढी नै समस्या देखिएको भएर यसलाई बन्द गर्ने र अरुलाई नियमन गर्ने कुरा भएको छ ।

यो निर्णयले नागरिकको अभिव्यक्ति स्वतन्त्रता संकुचित हुँदैन र ?

टिकटक प्रतिबन्धको निर्णयपछि सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न खोज्यो भन्ने, आत्तिने प्रतिक्रियाहरु आएका छन् । तर मैले अधिकांश खुसी भएको देखेको छु । यो निर्णयका कारण मात्रै नआत्तिन म सबैसँग अनुरोध गर्दछु ।

टिकटकमा समस्या देखिएकाले बन्द गरिएको हो । अरुमा त्यस्तो केही निर्णय भएको छैन, नियमनको कुरामात्रै भएको हो । सबै सामाजिक सञ्जाल बन्द गरेको भए पो अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गर्‍यो भन्न मिल्थ्यो ।

कुन संवैधानिक र कानुनी धरातलका आधारमा यो निर्णय गरिएको हो ?

अरु निकायहरुले यसलाई बन्द गर्ने कानुनी आधार नदेखेको साँचो हो, त्यसैले त मन्त्रिपरिषदबाट निर्णय भएको हो । अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने कुनै उद्देश्य नै होइन, यसमा हामी नै ज्यादा सचेत छौं ।

टिकटक बन्दको निर्णय गर्दा सरकारले कुनै कानुनी आधार दिएको छैन, त्यसैले यो निर्णय अदालतबाट खारेज हुन्छ भन्ने विश्लेषण पनि छ, यसबारे के भन्नुहुन्छ ?

अदालत जान खोज्नेहरुलाई हामीले रोक्ने कुरा भएन । पब्जी बन्द हुँदा पनि अदालत गएका हुन् । तर अदालतले पनि हाम्रो निर्णयको मर्मलाई बुझ्छ होला । अरु कैयौं मुलुकमा पनि टिकटकमाथि रोक लगाइएको छ ।

हामीभन्दा बढी लोकतान्त्रिक अभ्यास गरेका मुलुकहरुमा समेत टिकटक बन्द छ । हाम्रो देशमा मात्रै सबै चाहिने भन्ने तर्क कत्तिको उचित हो ? अरु देशमा यस्तै निर्णय गर्दा केही नहुने, हाम्रो देशमा मात्रै लोकतन्त्र हनन् हुने भन्न मिल्छ र ?

टिकटक मार्फत सरकारको आलोचना हुन थालेपछि सरकार डराएको हो ?

यसमा सरकारलाई अनावश्यक रुपमा लाञ्छना नलगाउन अपिल गर्छु । हामी सबै लडेर लोकतान्त्रिक व्यवस्था ल्याएका हौं । यो व्यवस्थालाई बलियो बनाउने नै हाम्रो उद्देश्य हो । तर सामाजिक समस्याका कारण टिकटक रोक्ने निर्णय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?