+
+

पार्टी प्रमुखहरुको लहडी निर्णयको भारी हामी बोक्दैनौं : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २८ गते १७:५३

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटक बन्द गर्ने निर्णयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति रहेको भनी दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।

उनले आफ्नो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले छलफल भयो र कहिले र कसले सहमति गर्‍यो भनी प्रश्न गरेका छन् ।

मंगलबार विहान बसन्तपुरमा नेपाल संवतको नयाँ वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशिभत्रका सत्तापक्ष र प्रमुख प्रतिपक्षसमेतको लामो बहस र छलफलपछि टिकटक बन्द गर्ने निर्णयमा पुगेको आशयको अभिव्यक्ति दिएका थिए ।

थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोधेका छन्, ‘प्रमज्यूलाई प्रश्न छ, कुन सहमति ? हाम्रो पार्टी नेपाली कांग्रेससँग कहाँ र कहिले भयो छलफल ? कहाँ भयो सहमति ? कहिले, कसले गर्‍यो सहमति ?’

महामन्त्री थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री क्लबको बन्द कोठामा भएको बैठकमा हुने सम्झौतालाई दलहरुबीचको सहमति भन्न नमिल्ने बताएका छन् । ‘यो तपाईँहरू बीचको समझदारी हो पार्टीहरू बीचको होइन। पार्टी भनेको पार्टी प्रमुखको निजी कम्पनी होइन, कुनै मत पार्टीको मत हुन पार्टी भित्र छलफल हुनुपर्छ’ उनले भने ।

महामन्त्री थापाले भनेका छन्, ‘पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन ।’

टिकटक बन्द गर्ने सरकारी निर्णयको विरोध गर्दा सरकारले गर्ने निर्णयको सत्ता पक्षकै सांसद र पार्टीका पदाधिकारीले विरोध गर्न मिल्छ ? भन्ने प्रश्न उठाएको भन्दै थापाले गलत कदमको विरोध गर्न पाइने जवाफ दिएका छन् । ‘हिजो पनि गलतलाई गलत भनेका हौं, आज पनि र भोली पनि भन्छौं । सत्तामा हुँदा गलत पनि ठीक र त्यही कुरा प्रतिपक्षमा हुँदा गलत भन्ने हुँदैन’ महामन्त्री थापाले भनेका छन् ।

बरु सरकारले आधारभूत रूपमै गलत काम गर्दा सत्तापक्ष भनेर मौन बस्नु चाहिँ गलत हुने उनको कथन छ ।

‘जहाँ प्रजातन्त्रको आधारभूत विषय आउँछ, त्यहाँ निर्णय गर्ने ठाउँमा को छ हेरिँदैन । हिजो ज्ञानेन्द्रको शासन हुँदा होस् वा केही समय अगाडि नेकपाको सरकार हुँदा होस्, जहिले-जहिले अभिव्यक्ति स्वतन्त्रता माथि धावा बोल्ने र अंकुश लगाउने काम भयो, हामी त्यसको विरुद्ध उभिएका छौँ, उभिइरहने छौं’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?