+
+
विश्वकप क्रिकेट :

दक्षिण अफ्रिकाको कामना- भाग्य दाहिना होस्

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते ९:१२

३० कात्तिक, कोलकाता । दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाको सामना गर्दैछ र त्यस अगाडि उसको एउटै कामना हुनेछ, भाग्य आफ्नो दाहिना होस् । यस्तो किन पनि भन्दा विश्वकपको नकआउट चरणमा दक्षिण अफ्रिकालाई भाग्यले सधैं ठग्दै आएको मात्र छ ।

दक्षिण अफ्रिका वान डे क्रिकेटका सबैभन्दा ठूलो प्रतियोगितामा सेमिफाइनल पुगेको यो पहिलोपल्ट होइन । यसअघि सन् १९९२, १९९९, २००७ र २०१५ मा पनि पुगिसकेको छ ।

तर प्रत्येकपल्ट दक्षिण अफ्रिकाको भागमा हार नै लेखिएको छ । त्यसमध्ये पनि दुई हार त अस्ट्रेलियाविरुद्ध नै रहेको छ । सन् १९९९ मा दक्षिण अफ्रिका एजबास्टनमा भएको सेमिफाइनलमा अस्ट्रेलियासँग चरम नाटकीय खेलमा रोकिएको थियो । त्यो खेल खासमा ‘टाई’ मा टुंगेको थियो । अस्ट्रेलिया समूह चरणमा राम्रो खेलेको आधारमा फाइनल पुगेको थियो ।

त्यसको आठ वर्षपछि सेन्ट लुसियामा भएको सेमिफाइनलमा दक्षिण अफ्रिका सजिलै सात विकेटले पराजित भयो । त्यो खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासामु १४९ रनमै धरासायी भएको थियो ।

यसपल्टको अन्तिम चारको खेल भने कोलकाताको प्रसिद्ध इडेन गार्डेनमा हुनेछ । लिग चरणका नौ खेलमध्ये दक्षिण अफ्रिका सातमा विजयी रहेको थियो ।

टिम एक प्रकारले लयमा छ, त्यस अर्थमा यसपल्ट सायद फरक इतिहास लेखिने हो कि ? विशेषतः दक्षिण अफ्रिका ब्याटबाट चम्केको छ । उसले श्रीलंकाविरुद्धको खेलमा विश्वकप इतिहासकै सबैभन्दा ठूलो स्कोर खडा गरेको थियो, ४२८ ।

फेरि ‘प्रोटियस’ नामले चिनिने यो टिमले अस्ट्रेलियाविरुद्धका पछिल्ला चार खेल जितेको छ । त्यसमध्ये चार साता अगाडि लखनउमा भएको लिग चरणको खेलमा दक्षिण अफ्रिका १३४ रनको ठूलो अन्तरले सजिलै विजयी रहेको थियो ।

दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा बलबाट राम्रो खेल्नेमा जेरार्ल्ड कोएटजी पनि पर्छन् । उनले सात खेलमा १८ विकेट लिएका छन् । उनी भन्छन्, ‘हाम्रो अगाडि कस्तो चुनौती छ, सबैलाई थाहा छ, यो कुनै रहस्य होइन ।’

निर्णायक खेल खेल्न माहिर अष्ट्रेलिया

साँच्चै कसैका लागि पनि रहस्य नरहेको तथ्य के भने निर्णायक मोडमा जसरी दक्षिण अफ्रिका बहकिने गर्छ, त्यसको ठीक विपरीत अस्ट्रेलिया भने दमदारखेल्न माहिर छ ।

अहिले पनि अस्ट्रेलियाले मीठो लय समातेको छ, त्यसैले त पाँच पल्टको यो विश्व च्याम्पियन टिमले पछिल्ला सात खेल लगातार जितेको छ । त्यसमा पनि अफगानिस्तानविरुद्ध प्राप्त जितलाई कसले मात्र बिर्सन सक्छ र ? ग्लेन म्याक्सवेल त्यस खेलका नायक थिए । हारको संघारमा रहेको अस्ट्रेलियालाई उनले एक्लै जिताए । उनले नटआउट रहेर २०१ रन बनाएका थिए ।

अस्ट्रेलियाका लागि राम्रो खेल्नेमा म्याक्सवेल मात्र एक्ला होइनन् । बंगलादेशविरुद्ध मिचेल मार्सले १७७ रन बनाए । त्यो पनि नटआउट रहेर नै । बलमा एडम जाम्पा राम्रो गरिरहेका छन् । उनले २२ विकेट लिइसके । त्यस्तै ओपनर डेविड वार्नरले पनि दुई शतक बनाइसके, उनी पाँच सय रन बनाउनबाट एकै रन मात्र टाढा छन् । उनले पाकिस्तानविरुद्ध १६३ रन बनाएका थिए ।

निचोड के हो भन्दा अहिलेको विश्वकपको दोस्रो सेमिफाइनलमा त्यस्ता दुई टिम भिड्दै छन्, जसको इतिहास ठ्याक्कै विपरीत खालको छ । विश्वकप इतिहासमा अस्ट्रेलियाको यो १३ औं सेमिफाइनल हुनेछ । यो प्रतियोगिताको इतिहासकै सबैभन्दा सफल टिम हो, अस्ट्रेलिया । यस्तोमा दक्षिण अफ्रिकाले भाग्यको साथ खोज्नुमा के आश्चर्य रह्यो र ?

यहाँनिर छुटाउन नहुने कुरा के छ भने आज कोलकातामा पानी पर्न सक्ने सम्भावना धेरै छ । यसले पनि खेल प्रभावित भने पार्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?