+
+

सी जिनपिङको अमेरिका भ्रमणमा के भयो, के भएन ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १२:२१

एजेन्सी । चीन अमेरिकासँग सम्बन्ध सुधार गर्न चाहन्छ । सँगसँगै शक्ति प्रदर्शन पनि । यसपटक चीनका राष्ट्रपति सी जिनपिङको अमेरिका भ्रमणमा पनि त्यस्तै भयो ।

एशिया प्रशान्त आर्थिक सहकार्य सम्मेलनका दौरान अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सीबीच भेटवार्ता भएको थियो ।

बाइडेनले कार्यकाल सम्हालेयता यी दुई नेताबीच दुईपटक भेट भएको छ । यस भेटमा सीले ताइवानलाई चीनमा एकीकरण गर्ने दृढता प्रकट गरे । यसका निम्ति बल प्रयोगको विषयमा भने बोलेनन् ।

अर्कोतर्फ अमेरिकाले प्राविधिक क्षेत्रमा प्रतिबन्ध लगाउँदा केही असर परेको स्वीकार गरे । तर चीनलाई नियन्त्रण गर्ने अमेरिकी प्रयास निरर्थक रहेको बताए । विश्वमै आफ्नो प्रभाव जमाउने आकांक्षा चीनको रहेको उनको भनाइ थियो । विश्वमा प्रभाव बढाउनुको अर्थ वासिङ्टनसँग द्वन्द्व निम्त्याउनु नरहेको उनले स्पष्ट बताएका छन् ।

सान फ्रान्सिस्कोमा विश्वका दुई प्रभावशाली नेताको भेटले दुई मुलुकबीचको चिसिएको सम्बन्धलाई सुधारउन्मुख बनाउने धेरैको अपेक्षा थियो । तर त्यहाँ निकै विरोधाभासपूर्ण कुराकानी भएका छन् ।

सीले विश्वलाई र अमेरिकालाई चीनको अर्थतन्त्र सुधारका खातिर अमेरिकी लगानी भित्राउन वासिंटनलाई सहमत गराउन खोजे । सँगसँगै उनले बेइजिङ र चिनियाँ जनताको हितविपरीत कसैसँग सम्झौता नगर्ने र मुलुकको हितको दृढतापूर्वक रक्षा गर्ने सन्देश दिन खोजे । अमेरिकासँग सम्झौताका लागि मुलुकको प्रतिष्ठालाई दाउमा नराख्ने उनको स्पस्ट सन्देश थियो ।

वासिंटनसँग संघर्ष वा सहकार्यबीच सन्तुलन राख्ने प्रयासमा सी छन् । अमेरिका र चीनले विश्वको समृद्धि वा प्रलयलाई ख्याल राख्दै सहकार्य र संघर्षमध्येको विकल्प रोज्नुपर्ने अभिव्यक्ति सीको छ । ‘संघर्ष र सहकार्यको विकल्पमध्ये हामीले जे रोज्छौँ त्यसले नै मानवताको भविष्य निर्धारण गर्नेछ,’ सीले भनेका छन् ।

यसलाई अर्थ्याउँदै जर्जिया इन्सिटिच्युट अफ टेक्नोलोजीमा विदेश मामिलाका प्राध्यापक फी लीङ वाङ भन्छन्, ‘अमेरिका र चीनको हैसियत बराबरी रहेको स्वीकारोक्ती वासिंटनले गर्नैपर्छ भन्ने उनको सन्देश हो । विश्वको समृद्धि वा प्रलयमध्येको विकल्प रोज्न उनले वासिंटनलाई चेतावनी दिँदै सहकार्यको दबाब दिन खोजेका हुन् ।’

अमेरिका र आफ्नो हैसियत बराबरी रहेको झल्काउने गरी सीको वक्तव्यमा भनिएको छ, ‘दुबै मुलुकलाई मिलेर काम गर्नका लागि पृथ्वी पर्याप्त छ,’ उनको वक्तव्यमा भनिएको छ ।

वक्तव्यलाई अर्थ्याउँदै राजनीतिक शास्त्रका प्राध्यापक चेङ् चेन भन्छन्, ‘चीनले आफू क्षेत्रीय नभएर विश्व शक्ति रहेको संकेत दिन खोजेको हो । सीको कठोर विदेश नीतिसँग मेल खानेगरी वक्तव्यमा शक्तिशाली सन्देश दिने शब्द समावेश भएका हुन्,’ उनले भने ।

आफूलाई विश्व शक्ति रहेको प्रमाणित गर्नका निम्ति चीनले सबै मुलुकसँग सहकार्यलाई अघि बढाइरहेको छ । विकासोन्मुख राष्ट्रहरुसँग उसले सहकार्य अघि बढाइरहेको छ । मध्यपूर्वमा उसले सक्रियता बढाएको छ । अर्कोतर्फ उसले छिमेकी राष्ट्रहरुसँग सिमानामा लफडा समेत गरिरहेको छ ।

चीनका मिडियाले सीको अमेरिका भ्रमणलाई निकै प्राथमिकतामा साथ सम्प्रेषण गरेका थिए । सनफ्रान्सिस्कोमा सी उत्रिँदा उनी चढेको चिनियाँ कार सुन्दर रहेको प्रतिक्रिया बाइडेनले दिएको सीसीटिभीले उल्लेख गरेको थियो । सीको सम्मानमा दिइने रात्रीभोजमा अमेरिकाका धनाढ्य व्यापारीहरुको उपस्थिति हुने आँकलन उनीहरुले गरेका थिए । चिनियाँ मिडियाका विषयवस्तु सीलाई उच्च प्राथमिकतामा दिइएकोबारे थियो । उनीहरुले प्राथमिकताबारे बताउँदै गर्दा बाइडेनले चीनलाई चिढ्याउने अभिव्यक्ति दिए ।

सीसँगको भेटवार्तालगत्तै बाइडेनले सी तानाशाह रहेको बताइदिए । यसप्रति चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताको प्रतिक्रिया लिँदा उनले बाइडेनको त्यस अभिव्यक्ति निकै गलत रहेको बताइन् । दुबै पक्षले केही महिनायता उच्च कूटनीतिज्ञ पठाएर सम्बन्ध सुधारको प्रयत्न गरेका थिए ।

उपलब्धि

भिन्नताका बाबजुद यस भेटमा कही महत्वपूर्ण उपलब्धि हाँसिल भएका छन् ।  दुखाइ कम गर्ने फेन्टानिलको उत्पादन घटाउन दुबै मुलुक सहमत भएका छन् । सैन्य संवादलाई अघि बढाउन पनि इच्छुक देखिएका छन् । तर आफ्नो सम्बन्धलाई व्याख्या गर्ने सवालमा भने दुबै मुलुकबीच केही मतभिन्नता रहेको देखिन्छ ।

वासिंटन बेइजिङसँगको सम्बन्धलाई व्यवस्थित प्रतिद्वन्दिताका रुपमा हेर्छ । यसले दुबै मुलुकलाई एकअर्काका प्रविधिमा चुनौती दिनुका साथै साझा स्वार्थका सवालमा सहकार्यका लागि पनि ढोका खुला राख्छ । यता चीन अमेरिकासँग सदाझैँ सशंकित मात्रै छ । एशियाली मुलुकमा आफ्नो प्रभुत्वमा असर पुर्याउने गरी अमेरिकाले गरेका गतिविधिसँग चीन सन्तुष्ट छैन ।

त्यसैले व्यापारीहरुसँगको कुराकानीमा सीले भनेका थिए, ‘हामी शत्रु हौं वा साझेदार भन्ने नै आजको प्रमुख प्रश्न हो । यदि एकले अर्कालाई प्रमुख प्रतिद्वन्द्वी मानेर अघि बढ्ने हो भने यसले भूराजनीतिक जटिलतामात्रै निम्त्याउँछ । यस्ता गतिविधिले भ्रामक नीति गलत कार्यलाई उक्साउँछ जसले अनावश्यक परिणाम मात्रै निम्त्याउनेछ ।

अमेरिका र चीनबीचको सम्बन्धमा कुनै कुराले बढी नै अविश्वास पैदा गरेको छ भने त्यो हो ताइवानको भविष्य । लोकतान्त्रिक यस राज्यलाई चीनले आफ्नो भूभाग मान्छ । भेटमा सीले बाइडेनबाट ताइवान मामिलामा कुनै पनि हस्तक्षेप नगर्ने आश्वासन खोजेका थिए । यसपटक ताइवान मामिलामा सीले अमेरिका आएर दिएको अभिव्यक्ति तुलनात्मक रुपमा कम आक्रामक रहेको अन्तर्राष्ट्रिय संकट समूहकी वरिष्ठ विश्लेषक अमन्डा हसियो बताउँछिन् ।

व्यापारीहरुसँगको भेटमा सीले मतभिन्नताको अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका थिए । उनले अमेरिकन पाइलटहरुले चीनलाई दोस्रो विश्वयुद्धमा सहयोग गरेको कुरा स्मरण गरे । सन् १९८५ मा आफूले अमेरिकी परिवारसँग अमेरिकामा बिताएको पल सम्झिए । सीले अमेरिकालाई केही थान पाण्डा पठाउने पनि संकेत गरेका थिए ।

संवाद र सहकार्यका लागि कार्यदल गठन हुँदै

चार घण्टासम्म चलेको यस वार्तालाई दुबै पक्षले सकारात्मक भनेका छन् । भेटबारे प्रतिक्रिया दिँदै राष्ट्रपति बाइडेनले भने, ‘हामीले अहिलेसम्मकै रचनात्मक र उपयोगी वार्ता गरेका छौँ ।’

यस्तै चीनका विदेशमन्त्री वाङ यी यस भेट निकै परिणामुखी उन्मुख रहेको बताएका छन् । ‘ऐतिहासिक यस भेट परिणाममुखी छ । दुई मुलुकको सम्बन्ध सुधारमा दिशानिर्देश गर्न र रणनीतिक महत्वका विषयमा सहकार्यका निम्ति भ्रमण फलदायी छ,’ उनले भनेका छन् ।

वाङका अनुसार दुबै पक्ष आपसी सम्बन्ध सुधारका लागि सात आधारभूत सिद्धान्त पालनामा सहमत भएका छन् । राष्ट्रसंघको वडापत्रको पालना गर्दै आपसी तनाव घटाउन, साझा स्वार्थका मामिलामा सहकार्य गर्न र प्रतिद्वन्दितालाई उत्तरदायी र व्यवस्थित बनाउन दुबै पक्ष एकमत छन् । दुबै पक्ष सम्बन्ध सुधारका लागि वर्तमान स्थितिबाट पछि भने हटेका छैनन्  ।

तमाम मतभिन्नताका बीच दुई मुलुकले आपसी सम्बन्ध सुधारका लागि उच्चस्तरीय कार्यदल निर्माण गर्ने भएका छन् । त्यस कार्यदलले आपसी सञ्चार, कानुन कार्यान्वयन र लागुऔषधका मामिलामा छलफल गर्दै साझा अवधारणा बनाउने छ । यस कार्यदलले अमेरिका र चीनबीच सैन्य आदानप्रदानका सवालमा पनि संवाद गर्नेछ ।

सैन्य संवादलाई महत्व दिँदै बाइडेनले भनेका छन्, ‘केही समस्या आइपरेमा खुला संवाद गर्न सक्नेगरी सहमति भएको छ ।’

तर चिनियाँ क्षेत्रमा प्रवेश गर्ने अमेरिकी पानीजहाजले लामो समयदेखि समस्या झेल्दै आएको छ । केही समस्या आइपरेमा दुई मुलुकका सैन्य समकक्षीबीच सिधा सम्पर्कको संयन्त्र भए पनि चीनले त्यसको पालना नगरेको अमेरिकी आरोप छ । यान्त्रिक बौद्धिकताका कारण उत्पन्न हुनसक्ने जोखिम तथा सुरक्षा चुनौतीबारे पनि यस संयन्त्रले छलफल गर्नेछ ।

चिनियाँ पक्षले सनफ्रान्ससिस्को वासिंटन–बेइजिङ सम्बन्ध सुधारको नयाँ विन्दु रहेको प्रतिक्रिया दिएको छ । अमेरिकाले पनि कार्यदल गठन आपसी सम्बन्ध सुधारको प्रस्थान विन्दु हुने मत राखेको छ ।

सी र बाइडेनले रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध, साउथ चाइन सी र चाइवान मामिलामा समेत छलफल गरेका थिए । यी विषयमा उनीहरुबीच कुनै पनि सहमति भएन ।

ताइवान र अमेरिकामा चुनाव नजिकिँदा तथा विश्वमा संकट मडारिरहेको अवस्थामा शक्ति राष्ट्रबीचको सम्बन्ध सहकार्य वा संघर्षको बाटोमध्ये कतातर्फ मोडिएला ? सबैको जिज्ञासा छ । यद्यपि दुबै मुलुकले सम्बन्धमा सौहार्दता र सहकार्यमा स्थिरतातर्फ अघि बढ्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?