+
+

पूजाको सामग्री बनाएर आम्दानी गर्दै डोम समुदाय

रासस रासस
२०८० मंसिर १ गते १२:४९

१ मंसिर, धनुषा ।  सधैँ खान, लाउन धौधौ हुने डोम समुदायलाई अहिले भने मुहारमा हाँसो र मनमा उल्लास छाएको छ । गरिबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौँभरि गाउँगाउँमा सुँगुर डोहोर्‍याएर चहार्ने डोम समुदायलाई अहिले छठपर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ ।

दीपावलीलगत्तै सुरु हुने छठपर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजा सामग्री बनाउँदै बेच्दै गरेको छ । उनीहरू पुख्र्यौली पेसाबाट राम्रो आम्दानी भइरहेको बताउँछन् ।

बाँसबाट बनाइने नाङ्लो (सुप्पा), ढकिया र कोनियाँ छठपर्वमा अनिवार्य प्रयोग गर्ने भएकाले दुई महिनाअघिदेखि बनाएर भण्डारण गरेका सामग्री बेचेर नपुग्ने भएपछि बनाउँदै बेच्दै फुर्सद नरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-६ नयाँ टोलका हरिमलिक डोमले बताए ।

उनले भने, ‘वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लोको व्यापार गरेर वर्षैभरिलाई गुजारा गर्न पुग्छ । यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन । नाङ्लोको माग यहाँको बजारमा मात्र होइन, वरिपरिका गाउँमा समेत भइरहेकाले वर्षभरिलाई गुजारा गर्न र बचत गर्न छठपर्व हाम्रा लागि निकै महत्वपूर्ण छ ।’

अहिले प्रतिनाङ्लो बाँसको चोयाअनुसार रु सात सय, रु छ सय, रु पाँच सय र रु चार सयमा बिक्री भइरहेको उहाँले बताउनुभयो ।  डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार नयाँटोलका डोम झल्कु मल्लिकले बताए ।

मिथिला नगरपालिका-२ की सुकमरिया र फूलोदेवी मलिक (डोम) भन्छन्, ‘हामी बाँसको कोनियाँ बनाएर प्रतिकोनियाँ रु ५० का दरले बिक्री गरिरहेका छौँ । छठपर्वमा बिक्री गर्ने कोनियाँको कमाइले केही महिना गुजारा गर्न ठूलै राहत मिल्छ ।’

डोम समुदाय यतिबेला बाँसका छठपर्वमा प्रयोग हुने सामग्री बनाउँदै बेच्दै व्यस्त छ । गाँस, बास र कपासकै जोरजाममा पिढीँदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो-मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेका जनकपुरधाम उपमहानगरपालिका-१ स्थित धर्मवान टोलकै रीता मल्लिक डोमिनले बताए ।

डालो बुन्दै गरेका वटेश्वर गाउँपालिका-५ शान्तिपुरका इन्दल मल्लिक डोमले कात्तिक लाग्नेबित्तिकै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुसी भएको बताए ।

छठपर्व मनाउने प्रत्येक तराइवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच-सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्छ ।

भङ्गाहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए ।

अहिले जिल्लाको गाउँ-गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन् ।

छठपर्व मनाउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको उनीहरू बताउँछन् ।

गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मिथिला नगरपालिका-७ का ५५ वर्षीय राजवीर डोमले बताए ।

गाउँ, सहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर स-परिवार खाने गरेको डोमले कात्तिकमा मीठा-मीठा परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६० वर्षीया रुमिनी डोमिनले बताए ।

डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य व्यस्त देखिन्छन् ।

मिथिला नगरपालिका-७ हरिहरपुरका रामविनय मलिकका अनुसार छठपर्व आउनुभन्दा दुई महिना अगाडिदेखि बुनेका ढकिया सखुवा बजार, ढल्केवर र बटेश्वर बजार पुर्याएर एकजना डोम परिवारले यस समयमा रु एक लाखभन्दा बढीको व्यापार गर्न भ्याउँछन् ।

छठ सकेपछि खासै काम हुँदैन । यही बेलाको कमाइले वर्षैभरि गुजारा र बालबालिकालाई पढाउने गर्छन् । क्षीरेश्वरनाथ नगरपालिकाको डोम समुदायले बाँसजन्य पुर्ख्यौली पेसाबाट र कुम्हार समुदायले माटोको वर्तन मूर्ति बनाएर आर्थिक उपार्जन गर्ने गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?