+
+

मध्यभोटेकोशीको विद्युत् खेर जाने भएपछि बाह्रबिसे सबस्टेसन निर्माण तत्काल सक्न प्राधिकरणको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १४:१२

१ मंसिर, काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ ।

आयोजनाको विद्युत् जोडिने बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न उच्च व्यवस्थापनबाट ताकेता भएको प्राधिकरणले जनाएको छ ।

उक्त आयोजनाले पुसभित्र उत्पादन सुरु गर्नेगरी निमार्ण कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको हो ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो ।

सबस्टेसनको निर्माण आगामी माघको पहिलो हप्ताभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ ।

कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समयमा आफ्नो कार्यसम्पादनमा सुधार गरी सबस्टेसन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताए ।

घिसिङले सबस्टेसनमा राखिने उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडान कार्यलाई तीब्रता दिन निर्देशन दिए ।

‘मध्यभोटेशी विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ’, उनले भने, ‘काठमाडौं उपत्यका नजिक रहेको मध्यभोटेकोशीले यस वर्षको सुख्खायामको विद्युतको माग धान्नका लागि ठूलो सहयोग गर्छ, त्यसैले सबै गम्भीर भएर सबस्टेसन निर्माणमा लागेर आयोजनाको विद्युत् जतिसक्दो छिट्टो जोड्ने अवस्थामा पुगौं, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौं ।’

बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।

प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।

प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिंदै आएको छ ।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् ।

ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान भइरहेका छन् । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने भने जडान बाँकी छ । सिभिलतर्फको फिनिसिङ काम बाँकी छ ।

२२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।

कार्यकारी निर्देशक घिसिङको टोलीले मध्यभोटेशी जलविद्युत् आयोजनाको पनि अनुगमन गरेको थियो । आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् ।

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारणलाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।

बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न नसकिएको मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रामगोपाल सिवाकोटीले बताए ।

समस्या समाधानका लागि स्थानीयसँग निरन्तर छलफल भइरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त गरे ।

प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारणलाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ ।

कम्पनीले करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारणलाइन बनाउनु पर्ने छ । यसका लागि प्रसारणलाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन् ।

कार्यकारी निर्देशक घिसिङले उक्त प्रसारणलाइनमा पर्ने टावर निर्माणको काम तत्काल सुरु गर्न कम्पनीका प्रतिनिधिलाई आग्रह गरे।

तामाकोशी र सुनकोशी नदी तथा यसका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौं प्रसारणलाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारणलाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ ।

तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारणलाइन निर्माणाधीन छ । प्रसारणलाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये १३ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये १२ वटा सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नु पर्ने छ । १ वटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको २७ किलोमिटर तार तानिएको छ ।

त्यस्तै बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारणलाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण हुन सकिरहेको छैन । १९ किलोमिटर तार तानिएको छ । ४००/२२० र १३२/११ केभी लप्सीफेदी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण नै सुरु हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?