+
+

मिथिलाको लोकनाचमा साढे ५ दशकदेखि जमेका विजय

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० मंसिर १ गते १९:०९

१ मंसिर, जकपुरधाम । कात्तिक महिना भरि लोकनाच गर्न विजयकुमार मण्डललाई भ्याइनभ्याइ थियो । ३० दिनको कात्तिकमा २९ दिन उनी लोकनाचमै व्यस्त थिए ।

अन्तिम दिन कात्तिक ३० गते बिहीबार मात्रै विजय घर फर्किन पाए । ‘कात्तिक महिनामा नाचगानले फुर्सदै भएन । चाडबाडको कारण नाचगानका साटा धेरै थियो’ विजयले सुनाए ।

धनुषाको हंसपुर नगरपालिका ९ मोरहाका विजय ६५ वर्षका भए । लोकनाच कुंवर बृजभानका उनी चर्चित कलाकार हुन् । नाचमा उनी नायिका कलाकार सत्ती हेमन्ती अर्थात नायक कुंवर वृजवानकी श्रीमतीको भूमिकामा हुन्छन् । यो पात्रको भूमिका आफूले अनवरत ४० वर्षदेखि गर्दै आएको विजय सगर्व सुनाउँछन् ।

५५ वर्षदेखि उनी निरन्तर नाचपाटीमा रहेर मिथिलाका लोकसंस्कृति लोकनाचमा जमेका छन् । लोकनाच कुंवर बृजवानको माझिएका विजय चर्चित कलाकारको रुपमा यस क्षेत्रमा परिचित छन् ।

२५ वर्षअघि भारत बिहारको गंगा क्यासेट कम्पनीले गरेको रेकर्डका भिडियोहरु ७–८ वर्ष अघि युवट्युबमा राखिएको छ । त्यो भिडियोहरु करोडौं दर्शकले हेरेर मन पराएका छन् ।

विजयका अनुसार गंगा क्यासेट कम्पनीले युट्युवबाट हुने कमाइबाट प्रति महिना २० हजार रुपैयाँ पठाउने गरेको छ ।

इन्टरनेटको पहुँच नहुँदा उनको नाचको सिडी तथा डिभीडी निक्कै बिक्री हुने गरेको थियो ।

इन्टरनेट आएपछि उनका नाचका क्लिपहरु भाइरल हुने गरेका छने । मानिसले अत्यन्तै रुचाएर हेर्नुको साथै उनको भ्वाइस क्लिपमा सामाजिक सञ्जालमा लाखौं मानिसले टिकटक र रिल बनाएका छन् ।

कक्षा ४ मा पढ्दै गर्दा उनलाई गाउँघरमा मेला उत्सव तथा विभिन्न शुभ उत्सवमा आयोजन हुने स्टेज लोकनाचले आकर्षित गर्‍यो । त्यतातिर लागेर डान्स गर्न थाले । त्यतिबेला उनी उमेरले केवल १० वर्षका थिए । ६ कक्षा पढ्दै गर्दा स्टेजमा नाच्न पाएकोे अवसर र व्यस्तताले पढाइ छाडेको विजय सम्झन्छन् ।

‘गाउँघरमा हुने नाच हेर्दा म त्यसतर्फ आकर्षित भएको थिएँ । यो भन्दा पनि राम्रो गरेर देखाउँछु । नाम कमाउँछु भनेर नाचतिर लागे’, विजय विगत सम्झन्छन्, ‘नाचको सट्टा धेरै आउन थाल्यो । अनि मैले पढ्न जानै पाइनँ । अनि पढाइ छाडेँ ।’

विजय सुरुमा अर्काकै नाचपाटीमा कलाकारको रुपमा कला प्रदर्शन गर्थे । २०४५ सालमा धनुषाको मुखियापट्टी मुसहरनियाका गंगाप्रसाद यादव सञ्चालक रहेको नाचपाटीमा झण्डै ११ वर्ष काम गरे । त्यसपछि २०५५ तिरै उनले आफैं सञ्चालक रहने गरी ‘बी ग्रेड ठेटकल कुंवर वृजवान नाचपाटी’ खोले ।

उनको नाचपाटीमा १८ जना कलाकार छन् । धनुषा, महोत्तरी, सिरहा, सर्लाही र सप्तरीका कलाकारहरु । आधुनिकता भित्रिएसँगै मनोरञ्जनका साधनले मिथिला कलासंस्कृतिको एक अभिन्न अंग लोकगाथाका नाच धरापमा पर्दै गएको छ । यद्यपि लोकनाचका पारखीहरुमा क्रेज उस्तै छ । नव युवापुस्ताले खासै मन नपराए पनि अहिले पनि लोकनाच आयोजन हुँदा वयस्क र पाका उमेरका दर्शक घाम नउदाएसम्म उठ्न मान्दैनन् ।

मिथिलाञ्चलमा कुंवर बृजभान, राजा सलहेस, शितबसन्त, अल्हा उदल, जङ्गली बादशाह, गोपीचन्द जस्ता लोक नाच हेर्न पहिला पहिला मान्छेको भीड जम्थ्यो तुल्नात्मकरुपमा हेर्नेको संख्यामा कमी आए पनि नाचको सट्टा बाँध्न भ्याइनभ्याइ हुँदा अझ पनि मानिसहरुमा लोककला संस्कृतिप्रतिको मोह उस्तै रहेको उनको बुझाइ छ ।

‘अहिले पनि हेर्न बसेका मानिसहरु जबसम्म नाचको कुनै भाग पूर्णतः समाप्त हुँदैन, तबसम्म उठ्नु हुन्न । झुम्नु हुन्छ । नाचका दृश्य हेर्न लालायित हुन्छन् । यसले अहिले पनि हाम्रो लोकनाचप्रतिको मोह र क्रेज जीवीत जस्तो लाग्छ’, विजय भन्छन् ।

विजयको मुख्य पेशा लोकनाच नै हो । सट्टा नभएको बेला खेतबारीमा कामधन्धा गर्छन् । गरिब घरपरिवारमै जन्मिएका विजय बुबा खुबलाल मण्डल र आमा बेच्नी देवी मण्डलका दुई छोरा मध्येका कान्छो हुन् ।

विजयले नाचपाटी कला प्रदर्शन गरेर आठछोराछोरी पालनपोषण गर्दै हुर्काए ।

उनका चार छोरा वैदेशिक रोजगारमा खाडी मूलुकमा छन् । छोराबुहारीहरु १०–१२ वर्षदेखि नाचगान छाडिदिन भन्ने गरेका छन् । तर कलाकारितामा रहेको चाखले छाड्न अप्ठ्यारो भएको विजय सुनाउँछन् ।

‘छोरा बुहारीहरुले १२ वर्षदेखि नाचगान छाडिदिन आग्रह गर्दै आएका छन् । खेतीपाती मात्र गर्न भन्छन् । अब वृद्ध अवस्थामा के कलो टिका चुना लगाउनु हुन्छ भनेर भन्छन्’ विजय थप्छन् ‘कला प्रदर्शनले नै म आज नाम कमाएको छु । समाजमा मानसम्मान प्रतिष्ठा छ । यो समाजबाट म धेरै राम्ररी गुजरेको छु । त्यसै कारण छुट्दैन । अब नसक्ने भएपछि मात्रै छाड्छु ।’

नातिनातिना भइसक्दा र वृद्ध अवस्थाले पछ्याउँदा पनि विजय नाचमा स्त्री पात्रको भूमिकामा अनवरत छन् । उनी आफूले नचागान नछाड्दासम्म यो भूमिका नछाड्ने अठोटमा छन् ।

विजय (पहेँलो सारीमा ) ।

उनले जीवनमा अनगन्ती स्टेजमा नाच प्रदर्शन गरेका छन् । जुन कुरा उनलाई आफै थाहा छैन । सुरुमा १५ रुपैयाँमा दुई रातको नाच सट्टा बाँधेको उनलाई स्मरण छ । अहिले एउटा सट्टा एक दिनको दुरीको हिसाबले कम्तिमा ४० हजारदेखि १ लाखसम्म लिने गरेको विजय बताउँछन् ।

‘सुरुमा १५ रुपैयाँमा दुई रातको नाचको सट्टा बाँधेको मलाई स्मरण छ । यसरी २०–५० हुँदै अहिले पाँचलाख रुपैयाँसम्मको सट्टा पनि बाँधेका छौं । कम्तिमा एक रातको ४० हजार लिन्छौं’, विजय भन्छन् ।

विजयका अनुसार उनको नाचपाटी नाचगानको लागि रौतहटदेखि सुनसरीसम्म र छिमेक देश भारतको दरभंगा, समस्तीपुर, पटनासम्म पुगेको छ । महिनामा कम्तिमा पनि चारवटा नाचको सट्टा आउने गरेको विजय बताउँछन् ।

सुरुमा नाचगान गर्न घन्टौ हिँडेर जाने गरिएको दुःखको दिन पनि विजयलाई स्मरण छ । तर अहिले सवारीसाधनमै नाचगानको पुरै सेटसहित जाने गरेको उनी बताउँछन् ।

कलाकारिताप्रति उनको यस्तो लगाव छ की छोरा बितेको बेला शोकमा पनि पीडा लुकाएर उनी नाचगानमा सहभागी भइ दर्शक झुमाइरहे । ‘केहीदिन अघि मेरो एउटा छोरा गाडी दुर्घटनामा बित्यो । तर मेरो नाचगान छुटेन’, विजय सुनाउँछन् ।

मिथिला कला संस्कृति लोकनाचलाई उजागर गर्नुमा विजयको ठूलो भूमिका छन् । कलाले प्रभावित गर्दा कयौं स्टेजमा उनलाई तक्मा पुरस्कार दिइएको छ । तर मिथिला कला संस्कृतिको संरक्षण गर्ने भन्ने संघसंस्थाबाट उनको कलाको कदर भएको देखिँदैन ।

उनलाई जसपाका प्रदेश सांसद रामआशिष यादवले १ लाख नगद एकसंस्थाबाट र नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले एकपटक ५० हजार नगद दिँदै नाचगानको सामान किन्न पुरस्कृत गरेको विजय सम्झन्छन् ।

मिथिलाञ्चल क्षेत्रको प्राचित ऐतिहासिक कथाव्यथा र गथामा आधारित लोकनाच सांकृतिक, सभ्य एवं भव्य रुपमा कलाकारिता प्रदर्शन गरिन्छ ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?