+
+

लुम्बिनीका अर्थमन्त्रीले नियुक्तिमा पार्टीको सिफारिस नमानेपछि माओवादीभित्र विवाद

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २ गते १८:३१
राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त दीपक शाह।

२ मंसिर, दाङ । लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीले आफ्नो पार्टी माअ‍ोवादी केन्द्रको निर्णय विपरीत आफ्नै नातेदारलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेपछि विवाद भएको छ ।

मुख्यमन्त्री र स्वास्थ्यमन्त्री नभएका बेला कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका मास्कीले दीपक शाहलाई अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेका थिए ।

माओवादी केन्द्र तुलसीपुर नगर कमिटीको कात्तिक १४ गते बसेको बैठकले शशिकिरण ढकाललाई प्रादेशिक अस्पतालको अध्यक्षमा मनोनित गर्न पार्टीको प्रदेश कमिटीलाई सिफारिस गरेको थियो । तर अर्थमन्त्री मास्कीले पार्टीले सिफारिस गरेको व्यक्तिलाई नभई भाञ्जीज्वाईं नाता पर्ने सल्यानका शाहलाई कात्तिक २३ गते नियुक्त गरेपछि माओवादी भित्र विवाद चर्केको हो ।

पार्टीको नगर कमिटीको सिफारिस विपरीत पार्टीकै मन्त्रीले प्रादेशिक अस्पतालको अध्यक्षमा कर्णाली प्रदेशका शाहलाई मनोनित गरेपछि विवाद भएकोे माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका अध्यक्ष खुशीराम चौधरीले बताए । २०७९ मा शाह सल्यानको शारदा नगरपालिका–१५ मा वडा अध्यक्षमा माओवादी केन्द्रबाट चुनाव लडेर पराजित भएका थिए । हाल उनको ठेगाना दाङको बबई गाउँपालिका–४ तोकेर नियुक्ति पत्र दिइएको छ ।

माओवादी केन्द्र दाङ जिल्ला अध्यक्ष सुवास पुनले पनि तुलसीपुर नगर कमिटीको निर्णय विपरीत आफूले नचिनेको व्यक्ति अस्पतालको अध्यक्षमा नियुक्त भएको बताए । उनले पार्टी भन्दा मन्त्री ठूलो हुन नसक्ने बताए ।

‘मन्त्रीज्यूले स्थानीय पार्टी कमिटीको सिफारिस विपरीत बाहिरको मान्छेलाई नियुक्त गरेपछि पार्टीलाई पनि अप्ठेरो पर्छ, अध्यक्षलाई पनि काम गर्न गाह्रो हुन्छ’, पुनले भने, ‘शाहलाई नियुक्त गरिएपछि मैले प्रदेश कमिटीसंग बुझ्दा पनि सिफरिस गरेको छैन, केन्द्रीय कमिटीले गरेको भए थाहा भएन, पार्टीका मन्त्रीहरुले पार्टीको निर्णय मान्नुपर्ने हो, त्यो भएन ।’

माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पार्टीबाट मन्त्री भएकाहरुले पार्टीको प्रदेश नेतृत्व र जिल्ला कमिटीहरूसँग छलफल गरेर मात्रै अध्यक्ष नियुक्त गर्न भनेको तर पालना नभएको बताए ।

स्थानीय पार्टी कमिटीको निर्णयविपरीत अर्कै प्रदेशको मतदाता रहेका व्यक्तिलाई नियुक्त गरिएको गुनासो आफूसमक्ष आएको उनको भनाइ छ । ‘पार्टी कमिटीको निर्णयलाई मान्नुपर्ने हो, मन्त्रीले नियुक्त गरेका व्यक्तिलाई मैले पनि चिन्दिन, स्थानीय पार्टी कमिटीका साथीहरुले पनि चिन्दैनौं भन्ने गुनासाहरु आएका छन्’, बरालले भने ।

अर्थमन्त्री मास्कीले भने प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्ति प्रदेश सरकारको क्षेत्राधिकार भित्र पर्ने कुरा भएकाले सरकारले निर्णय गरेको बताए । ‘पार्टीको स्थानीय कमिटीले सिफारिस गर्ने कुरा एउटा हो, तर निर्णय सरकारले गर्ने हुँदा योग्य र सक्षम व्यक्तिलाई छनौट गरिएको हो’, मन्त्री मास्कीले भने, ‘अध्यक्ष दीपक शाह पहिले कर्णाली प्रदेशको भएपनि अहिले दाङकै बासिन्दा हो ।’

कात्तिक २३ गते कार्यवाहक मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्रीको हैसियतमा मास्कीले अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेका थिए । जसअनुसार प्रदेशका १३ वटा अस्पताल विकास समितिमध्ये नेपाली कांग्रेसलाई ६, माओवादीलाई ४, जसपा, लोसपा र एकीकृत समाजवादीलाई एक–एक वटा अस्पताल विकास समितिको अध्यक्ष बनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद वझा, प्यूठान अस्पतालको अध्यक्षमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डीराज पोखरेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याललाई अध्यक्षमा मनोनित गरिएको थियो ।

यस्तै कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा. अनन्तकुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुमपूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन, राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको अध्यक्षमा दीपक शाहलाई नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?