+
+

चौकीडाँडा पुग्ने सडक राम्रो नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २ गते १३:५३

२ मंसिर, चितवन । चौकीडाँडा जाने सडक सहज नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या भएको छ । चितवनमा भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडाबाट प्याराग्लाइडिङको उडान हुने गर्दछ ।

तर, सो ठाउँमा पुग्न सडक बर्खाले बिगारेका कारणले सवारी साधन जान नसक्दा उडानमा समस्या भएको प्याराग्लाइडिङको व्यासायिक उडान गर्दै आएको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका अध्यक्ष विजय घलेले गुनासो गरे ।

मुग्लिन नारायणगढ सडकखण्डको भोर्ले भन्ने स्थानबाट ९ किलोमिटर उकालो कच्ची बाटो भएर चौकीडाँडा पुग्न सकिन्छ । गत वैशाख १ गतेदेखि जिल्लामा व्यवसायिक उडान गर्दै आएको कम्पनीले बर्खाले असहज भएपछि गत असार १५ गतेदेखि उडान रोकेको थियो ।

‘भदौको अन्तिम सातादेखि प्याराग्लाइडिङ उडान गर्न सकिन्छ भन्ने सोच थियो, तर डाँडामा जाने सडक बर्खाले बिगारेको र मर्मतका लागि ढिलाइ भएकाले जान नसकिएन’ अध्यक्ष घलेले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीले चाहेर मात्रै हुँदैन पूर्वाधार बनाउने जिम्मा त राज्यले गर्नुपर्‍यो नि ।’

सफारी पर्यटनमा चिरपरिचित चितवनमा प्याराग्लाइडिङ उडान हुने भएपछि यहाँका व्यवसायीहरु खुसी भएका थिए । भोर्लेबाट कविलास जाने सडक भरतपुर महानगरपालिकाको ठेक्का लगाए पनि बजेटको अभाव भन्दै कामले गति लिन सकेको छैन । जसले गर्दा सवारी साधन लैजान मुश्किल छ ।

अहिले भने कम्पनी आफैंले बर्खाले बिगारेका ठाउँहरुको मर्मत गरेर फोर ह्वील सवारी लैजान सक्ने बनाउँदैछ । कम्पनीका अध्यक्ष विजय घलेले आगामी मंसिर १५ गतेदेखि पुनः उडान गर्ने गरी तयारी सुरु गरिएको बताए ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघ (नेफा) का महासचिवसमेत रहेका सञ्चालक शैलेन्द्र राउतले आफूहरु सडक सहज हुनेबित्तिकै प्याराग्लाइडिङ उडान गर्न तयार भएको बताए । महानगरपालिकाले चौकीडाँडा पुग्ने सडक सहज बनाइदिए पूर्वाधारमा लगानी बढाउन पनि मन लाग्ने अध्यक्ष घलेले बताए ।

‘सरकारी निकायको काम कर माग्ने र लिने मात्रै हैन, कर लिनका लागि उपयुक्त पूर्वाधारको व्यवस्था पनि गरिदिनुपर्छ’, अध्यक्ष घलेले भने, ‘प्याराग्लाडिङ राम्रोसँग चल्दा महानगर लगायतका निकायले कर पनि पाउँछन्, तर न्यूनतम पूर्वाधारमा काम गर्नु राज्यको दायित्व हो ।’

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण बर्ष मनाउने घोषणा गरेर प्याराग्लाडिङलाई प्रमुख पर्यटकीय क्रियाकलाप भित्र समेटेको छ । तर, दशैं अगाडि नै चल्नुपर्ने प्याराग्लाडिङका लागि आएका समस्याहरू समाधान गर्ने विषयमा भने सहयोग नपाएको व्यवासायीहरूको गुनासो छ ।

कम्पनीले चौकीडाँडामा नै रिसोर्ट पनि सञ्चालन गर्ने बताउँदै आएको छ । चितवनमा पहिलो पटक प्याराग्लाइडिङ गर्न अनुमति लिएको यो कम्पनीको उद्घाटन गत वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

प्याराग्लाइडिङ र रिसोर्टका लागि चौकीडाँडामा ५ विघा जग्गा कम्पनीले लिइसकेको छ । चौकीडाँडा १२ सय मिटरको उचाइमा छ । कम्पनीले प्याराग्लाइडिङका लागि १.८५ नोटिकल माइल वरपर उडान गर्ने अनुमति पाएको कम्पनीका अध्यक्ष घलेले बताए । यस अनुसार सिधै ५ हजार मिटर माथिसम्म जान पाइनेछ । फटाफट उडेर त्रिशूलीमा झर्दा चौकीडाँडाबाट २० मिनेट लाग्नेछ ।

प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गराइन्छ । सो ठाउँमा पनि केही रुखहरु काट्ने काम अगाडि बढाइएको छ । पर्यटकहरुको चितवन वसाइलाई लम्ब्याउन यसले टेवा दिने विश्वास लिइएको अध्यक्ष घलेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?