+
+

जनकपुरमा छठ पूजाको तयारी पूरा (तस्वीरहरू)

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते ११:४४

३ मंसिर, जनकपुरधाम । आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । आज अस्ताउँदो सूर्यको पूजा गर्न जनकपुरका व्रतालुहरुले तयारी पूरा गरेका छन् ।

आज अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरको धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायत जलासय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजन पुगेका छन् । पूजा सामग्रीहरुले पोखरी किनार भरिएका छन् । छठ घाट सफासुघ्घर गरी विशेषरूपमा सजाइएको छ ।

श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ ।

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन् । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँछन् । भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा सम्पन्न हुन्छ । केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । छठ पर्वमा सूर्यको उपासनाका साथै षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पूजाले सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ ।

केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

कात्तिक शुक्ल चतुर्दशीका दिनदेखि सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ ब्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यको पुजा गरी मनाइने यो पर्व वर्षको दुई पटक चैत र कात्तिकमा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ ।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ । तराई-मधेसका सबै जिल्ला, काठमाडौं उपत्यकासहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?