 
																			३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको छ ।
नेपाल समाजवादी पार्टी (नेसपा) ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ । भट्टराईले वार्ता कमिटी भंग गर्ने योजनाका साथ बैठक बोलाएपछि दुवै दलको वार्ता टोलीको बैठक आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको थियो ।
बैठकले अध्यक्षहरुकै नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिएको छ । नेसपाका वार्ता टोली संयोजक एवं पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठ भन्छन्, ‘हामीले दुवै पार्टीलाई अध्यक्षकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन र त्यहीं वैचारिक र नीतिगत विषयहरुमा छलफल गरेर टुंग्याउन सुझाएका छौं ।’

श्रेष्ठ र माओवादीबाट वार्ता टोली संयोजक रहेका उपाध्यक्ष कृष्णबहादुर महराले जारी गरेको संयुक्त वक्तव्यमा पनि विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्न लगायत विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्न दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको उल्लेख छ ।
शुक्रबार साँझको भेट
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति नयाँ होइन । पार्टी एकता गर्ने सहमतिअनुसार नै नेसपाले २०७९ मंसिरको चुनावमा माओवादीकै चुनाव चिह्नबाट उम्मेदवारहरु उठाएको थियो ।
गत चैतमा नेसपाले पार्टी एकताको आधार भन्दै माओवादीलाई ९ बुँदे पत्र पनि पठायो, तर पार्टी एकता प्रक्रिया अगाडि बढेन । बरु डा. बाबुराम भट्टराईसँग माओवादी अध्यक्ष प्रचण्डको दूरी बढ्यो । प्रचण्डले आफूलाई समाजवादी मोर्चामा नराखेपछि भट्टराई माओवादी केन्द्रसँग एकता नगर्ने मूडमा पुगे ।
पार्टीका अर्का अध्यक्ष महिन्द्रराय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठ तत्काल माओवादीसँग पार्टी एकताको पक्षमा थिए । त्यसैले माओवादीले २५ भदौमा महाधिवेशनबाट नाम फेर्ने निर्णय गर्यो भने त्यसबारे जानकारी दिन प्रचण्ड र महासचिव देव गुरुङले भदौ अन्तिममा पार्टी एकतालाई लिएर नेसपाका अर्का अध्यक्ष यादवलाई पत्र लेखे ।
आफू देश बाहिर भएका बेला प्रचण्डले अर्का अध्यक्षलाई पत्र लेखेपछि भट्टराई रुष्ट भए । नेताहरुका अनुसार नेसपा त्यहीबेला फुटको संघारमा पुगेको थियो । माओवादीले एउटा समूह मात्र ल्याउन जोड दिएन भने एकताको पक्षमा रहेका नेसपाका नेताहरु पनि डा. भट्टराईसहित पार्टी एकता गर्ने पक्षमा देखिएपछि फुट रोकियो । तर माओवादी र नेसपाबीचको एकता प्रक्रिया पनि अगाडि बढेन ।
पछिल्लो पटक पार्टी अध्यक्ष डा. भट्टराईले माओवादीसँग एकताबारे वार्ता गर्न बनेको समिति नै भंग गर्ने प्रस्ताव ल्याएपछि भने एकता पक्षधर नेताहरु रुष्ट बनेका छन् । हालै बसेको कार्यकारिणी समितिको बैठकमा भट्टराईले माओवादीसँग एकता नगर्ने भन्दै वार्ता समिति भंग गर्ने प्रस्ताव ल्याए । साथै केन्द्रीय कार्यसमिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने उनको प्रस्ताव थियो ।
अर्का अध्यक्ष यादव र सहअध्यक्ष श्रेष्ठ पक्षधर नेताहरुले नोट अफ डिसेन्ट लेख्ने बताएपछि रोकिएका डा. भट्टराईले मंसिर ६ र ७ मा केन्द्रीय समिति बोलाएका छन् । एकता पक्षधर नेताहरुले भने बैठक रोकेर पार्टी एकताको पक्षमा निर्णय गर्न दबाव दिएका छन् । नभए बैठकमै नआउने प्रष्ट सन्देश उनीहरुले भट्टराईलाई दिएका छन् ।
उनीहरुकै आग्रहअनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार साँझ पूर्वसहकर्मी भट्टराईलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएका थिए ।
भेटमा उनले पार्टी एकता अगाडि बढाउने प्रस्ताव राखे । ‘तपाईंको पार्टीका साथीहरूको पनि दबाब छ, पार्टी एकता गरेर जाऊँ’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘बरु तपाईं र मेरै नेतृत्वमा पार्टी संयोजन समिति बनाएर जाऔं, त्यसो गर्दा संवाद थप प्रभावकारी हुन्छ ।’
माओवादी केन्द्रभित्र बाबुरामसहित एकता परिणाममुखी हुने बुझाइ बनेको देखिन्छ । दुवै पार्टीका अध्यक्षकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने प्रचण्डको प्रस्तावले यही सन्देश दिएको उनीहरु बताउँछन् ।
‘गणतन्त्रविरुद्ध प्रतिगामीहरू एकजुट बनिरहेका छन्, शान्ति प्रक्रियाका काम बाँकी नै छन्, अलि ठूलै पहलकदमी नलिइकन अगाडि बढ्न मुस्किल छ’, शुक्रबार साँझ बाबुरामसँगको संवादमा प्रचण्डको भनाइ उद्धृत गदै नेसपाका एक नेताले भने, ‘अलि ठूलै एकता नगरी हुँदैन, हामीले एकता गरेर एउटा सन्देश दिऔं र समाजवादी केन्द्रको पक्षमा माहोल बनाऔं ।’
तर नेसपा अध्यक्ष डा. भट्टराई भने तत्काल माओवादीसँग पार्टी एकता गर्ने पक्षमा देखिएनन् । ‘उहाँले कुरा ठीकै हो, तर संयोजन समिति पछि बनाए पनि हुन्छ भन्ने जस्तो कुरा गर्नुभयो’, ती नेताले भने । भट्टराईले आफू तत्काल कम्युनिष्ट एकताको पक्षमा नरहेको भन्दै एकता नै गर्ने भए बृहत् वाम एकता गर्नुपर्ने धारणा राखेका थिए ।
डा. भट्टराई सकारात्मक नभए पनि आइतबार दुवै दलको वार्ता समितिको बैठक बसेर प्रचण्डकै प्रस्तावअनुसार पार्टी एकता संयोजन समिति बनाउन सुझाव दिएको छ । लगत्तै एकता पक्षधर नेसपा नेताहरुले बैठक स्थगित गरेर माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गर्न अध्यक्ष डा. भट्टराईमाथि दबाव बढाएका छन् ।
पार्टी एकता गर्ने सहमति गरेर चुनावमा गएको र त्यसअनुसार अहिले पनि आफ्नो दलका सांसदहरु माओवादी संसदीय दलमा रहेर काम गरेको भन्दै नेसपाका एक नेता भन्छन्, ‘हामीले बैठक रोकेर पार्टी एकताको पक्षमा निर्णय गर्नुस् भनेका छौं, भएन भने हामी त्यो बैठकमा किन जाने ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4